काठमाडौं– गठेमंगल श्रावण कृष्ण चतुर्दशीका दिन नेवार समुदायले मनाउने चाड हो । राक्षस, पिचास र भूतप्रेतजस्ता तत्वहरूबाट छुटकारा पाउन काठमाडौं उपत्यका र नेवारी बस्तीहरूमा यो पर्व मनाइन्छ । यसलाई सौभाग्य प्राप्त गर्ने पर्वका रूपमा पनि लिएको पाइन्छ ।
गठेमंगलपछि नेवारहरूका चाडबाड सुरु हुन्छन् । त्यसैले गठेमंगल यस समुदायको जेठो चाड हो । यस दिन एकबिहानै घर र वरपर सफा गरी स्नानपछि पवित्र वस्त्र धारण गरेर पुरुषहरू घन्टाकर्णको पुतला बनाउन लाग्छन् । महिलाहरूले शुद्धतापूर्वक पूजा र भोजका सामग्री तयार तयार गर्न थाल्छन् । भूतप्रेत र पिचास नलागोस् भनेर यस दिन फलामका औंठी लगाउने प्रचलन पनि छ । यो लगाएमा चटयाङ लाग्दैन भन्ने विश्वास पनि गरिन्छ । खेतीपाती गर्दा हातका औंलामा उचेरा लागेर घाउ–खटिरा आएमा फलामको औंठी लगाउँदा निको हुन्छ भन्ने विश्वास पनि कायम छ । कतिपयले पञ्चधातु र कसैले चाँदी, पित्तल र सुन मिसिएको तीन धातुको औंठी लगाउँछन् । त्यसैले यस दिनलाई धातुको दिन पनि भन्ने गरिन्छ ।
गठेमंगलमा घरको ढोकाको चौकोस वा ठेलामा फलामबाट बनेका तीन चोसा भएको त्रिखुट्टी (तीनखुट्टे करुवा) ठोक्ने गरिन्छ । कपियले पाँच औंले ठोक्ने गर्छन् । गाउँघरतिर गठेमंगलका दिन ठोक्ने त्रिखुट्टी बनाउन पहिले नै आरनमा गई तयार गर्न लगाइन्छ । त्यस दिन विश्वकर्मा स्वयं घरघरमा आई ठोकिदिने प्रचलन पनि छ । नेवारी समुदायको सिको गरेर गाउँघरका अन्य जातिले पनि ढोकामा त्रिखुट्टी ठोक्ने गर्छन् ।
यस दिन कालो भटमास, कालो मास, चामल, फूल आदि माटाको पालामा राखेर कुशले बेरिएको रिङसहित विधिवत् पूजा गरी घरको दायाँबायाँ राख्ने चलन छ । यसो गर्दा भूतप्रेत, पिचास घरभित्र पस्न नसक्ने जन विश्वास छ । जनश्रुतिअनुसार तान्त्रिक विद्याद्वारा भूतप्रेतलाई खेतीको काममा लगाउने र काम सकिएपछि यस दिन विधिवत् पूजा गरी उनीहरूलाई बिदाइ गरिएको मानिन्छ ।
नेवारी बस्तीका टोलटोलमा यो पर्व मनाइने भएकाले घण्टाकर्ण (नेवारी भाषामा गुठाः मुग) को पुतलालाई जलाउन निश्चित ठाउँहरू संरक्षित गरिएका छन् । हरियो नर्कट वा निगालो र छ्वालीबाट पुतला बनाउने गरिन्छ । कागजमा बनाइएका विभिन्न चित्रहरूले सजाएर उत्मत्त भैरवको लिङ्ग बनाउने गरिन्छ । भूतको प्रतीकका रूपमा बिहानै तयार पारेर चौबाटोमा राख्ने र दिन ढल्कन लागेपछि टोलबासी जम्मा भएर उत्सवका रूपमा दहन गरिन्छ । दहनका क्रममा तितेपाती, उडुस, उपियाँ र लामखुट्टे मारेर होम्ने प्रचलन छ । यसो गर्दा उडुसस, उपियाँ हराएर जाने र लामखुट्टे घट्दै जाने विश्वास छ । साँच्चै गठेमंगलपछि लामखुट्टे घट्दै र हराउँदै जान्छ पनि ।
भूतप्रेतले नतर्साउन् र रुन्चे नलागोस् भनेर साना बालबालिकालाई त्यो आगो नजिक हुत्याए जस्तो पनि गरिन्छ । पुतला आधाजस्तो जलिसकेपछि तानेर खोला वा नदीमा लगी विसर्जन गरिन्छ । यसलाई राक्षसी प्रवृत्तिमाथि विजय प्राप्तिका रूपमा लिइन्छ ।
यसको खुसीयालीमा नेवारी समुदायमा भोज गरिन्छ । यसबेला तीनपुस्ते चेली फुपु, छोरी र भान्जाभान्जी भेला हुने चलन छ । कपियले अरू आफन्त र साथीभाइसमेत पनि बोलाउने गर्छन् । यस दिन विशेषगरी चिउरा र समयाबजीको भोज हुन्छ । समयाबजी कालो भटमास, बोडी, लसुन, अदुवा, मासु र आलुबाट बनेको परिकार हो ।
यो पर्वको प्रारम्भबारे कतै उल्लेख नभए पनि गोपालवंशको इतिहासमा भने लिच्छवि कालमा मनाउने गरिएको उल्लेख छ । यो पर्व मध्ययुगमा पनि मनाउने गरिएका प्रमाण भेटिन्छन् । नेवारी समुदायमा यस दिनलाई तन्त्रमन्त्र र कलाकारिता जस्ता सीप सिक्ने दिन पनि मानिन्छ ।
यो पर्व राक्षस घण्टाकर्णसँगको जनश्रुतिमा जोडिएको छ । घण्टाकर्णले गाउँका महिला र बालबालिकालाई चोरेर आतंकित बनाएको रहेछ । उसले गाउँलेसँग पैसा र अन्य चिज मागेर हैरान बनाउने गर्थ्यो । शरीरमा रातो, निलो र सेतो रङ पोतेर कानमा घण्टी झुन्डइयाएको उसको अजंगको रूपले सबैजना तर्सेछन् । किसानहरू उसको डरले घरबाहिर निस्कन सकेनछन् । खेतीपातीको बेला रोपाइँ गर्न जाने आँट नहुँदा किसान निराश भएका रहेछन् । किसानको पीडा बुझेर भ्यागुत्ताहरूले यो परिस्थितिबाट पार लगाउने जुक्ति निकालेछन् । भ्यागुताको ठूलो जमात घण्टाकर्णको नजिक गएर ट्वारट्वार कराउन थालेछन् । ऊ निकै रिसाएर भ्यागुत्ताहरूलाई झम्टेछ । उनीहरू भाग्दै पानीले भरिएको खेतमा हाम फालेछन् । भ्यागुता समात्न हिलोमा हाम फालेकाले ऊ दलदलमा गाडिएछ । भ्यागुताहरू खुसी मनाउँदै घण्टाकर्णको टाउकामा उफ्रेपछि कण्टाकर्ण मरेछ । घण्टाकर्णको ज्यादतीबाट किसानहरूलाई जोगाउन तान्त्रिक विद्या जान्ने गाउँलेहरू नै भ्यागुता बनेका रहेछन् । विशेषगरी जनै पूर्णिमाका दिन भ्यागुतालाई खुवाउने र पूजा गर्ने चलन भए पनि यस दिन पनि भ्यागुताको पूजा गरिन्छ ।
यो पौराणिक पर्वको उत्सवका रूपमा सडकमा नाटक मञ्चन पनि गरिन्छ । राक्षसको पुतला बनाएर दहन गर्ने खर्चका लागि भन्दै बाटोमा धागो टाँगेर पैसा उठाउने गरिन्छ । यसमा प्रसन्नतापूर्वक बालबालिका सहभागी हुने गर्छन् । यस बेला अर्धनग्न मानिसलाई पैसा, कपडा, नुन, हातैले बनाएको पुतली दान गर्ने चलन छ । यसलाई जगात भनिन्छ ।
यस दिनसम्ममा किसानले खेतमा धान लगाइसकेको हुनुपर्छ । गठे मंगलसम्म धान रोप्न नसक्नेलाई त छुन पनि हुँदैन जनश्रुति छ । खेती लगाइसकिएको संकेतका रूपमा यो चाड मनाएर भोज गर्ने परम्परा चलेको हो ।
घण्टाकर्णलाई भगवान् भैरवको उन्मत्त अवतार मानिन्छ । कामुक प्रकृतिको आकृति घण्टाकर्ण प्रतीकका रूपमा लिइन्छ । अविवाहित कन्या र नवविवाहित जोडी दर्शन गर्ने घण्टाकर्णको लिङ्गलाई महिलाले हेर्ने मात्रै र पुरुषहरूले चलाउने पनि गर्छन् । अविवाहितले पुरुषको जनेन्द्रीय कस्तो हुन्छ भन्ने जिज्ञासाले र विवाहितले कामवासना जगाउन यसको दर्शन गर्नुपर्छ भन्ने मान्यता छ । काभ्रे पनौतीका बुढापाका उन्मत्त घण्टाकर्णलाई एकान्तमा पनि राख्ने चलन भएको बताउँछन् । सन्तान प्राप्ति नभएका महिलाले लुसुक्क घण्टाकर्णको लिड्गमा आफ्नो योनीमा छुवाउँदा गर्भ रहने जनविश्वास रहेपनि हिजोआज भने यो चलन त्यति छैन ।
साभारः तुला तिमिल्सिनाको आलेख
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !