विश्वभर अहिले देखिएको अत्यधिक गम्भीर खालका मौसमी गतिविधि तथा प्राकृतिक विपत्तिमा मानवीय कारण भएको जलवायु परिवर्तनको भूमिका रहेको अध्ययनले देखाएको छ।
कार्बनडाइअक्साइडको उत्सर्जन तत्काल नियन्त्रित नगरेमा गम्भीर प्रभाव पार्ने खालका हिटवेभ (अत्यधिक गर्मी, तातो हावा) बाढी, डढेलो, आँधीसहितका घटना थप सघन बन्दै जाने इन्टरगभरमेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आइपिसिसी), जलवायु परिवर्तन सम्बन्धी अन्तर सरकारी संस्थाको सोमबार सार्वजनिक महत्वपूर्ण प्रतिवेदनमा उल्लेख छ।
जलवायु परिवर्तनका लागि भौतिक विज्ञान (क्लाइमेट चेन्ज २०२१ः द फिजिकल साइन्स बेसिस) नाम गरेको प्रतिवेदन आइपिसिसीले सार्वजनिक गरेको हो। प्रतिवेदनमा मानवीय गतिविधिले जलवायु परिवर्तलाई बढावा दिएको र त्यसका कारण गम्भीर खालका मौसमी तथा प्राकृतिक विपद निम्त्याएको उल्लेख छ।
विभिन्न ६६ देशका वैज्ञानिकहरुले गरेको अध्ययनको एकीकृत संक्षिप्त प्रतिवेदनलाई संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रले अनुमोदन गरेका हुन्। आइपिसिसीको ‘वर्किङ्ग ग्रुप १’ प्रतिवेदनमा भनिएको छ, ‘अहिलेको उत्सर्जन परिदृष्यलाई हेर्दा विश्वभर सतहको तापक्रम वृद्धिको क्रममा जारी रहने छ।
कार्बनडाइअक्साइडको उत्सर्जन स्पष्ट रुपमा कम नगरिएमा विश्वव्यापी तापमान वृद्धि १.५ डिग्रिसेल्सियस र २ डिग्रिसेल्सियस रहने र यो शताब्दीको अन्त्यसम्ममा त्यो भन्दा माथि जाने देखिन्छ। यो गम्भीर अवस्था आउन नदिनका लागि कार्बनडाइअक्साइडसँगै अरु हरित गृह ग्यास (जिएचजी) को उत्सर्जन आउँदा दशकमा ठूलो मात्रामा कटौति गरिनु पर्नेछ।’
अहिले विश्वको तापमान प्री–औद्योगिक युग भन्दा १.०७ डिग्रिसेल्सियस बढी छ र यसैकै प्रभाव विश्वभर देखिएको प्रतिवेदनमा देखिएको छ। प्रतिवेदन अनुसार विश्वभर भइरहेका डढेलो, निश्चित क्षेत्रमा अत्यधिक वर्षा तथा बाढी, अत्यधिक गर्मी तथा तातो हावासहितका गम्भीर खालका मौसमी तथा जलवायुजन्य गतिविधिमा जलवायु परिवर्तन कारक हो।
पछिल्लो दशकमा देखिएका गम्भीर मौसमी तथा जलवायु जन्य गतिविधिहरु मानवीय कारणले भएको जलवायु परिवर्तनको अवस्था अहिलेको तहमा नपुगेको भए निकै कम देखिने निश्चित रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
सन् २०१५ मा भएको पेरिस जलवायु सम्झौता अनुसार विश्वभरका देशहरु तापमान वृद्धि २ डिग्रिसेल्सियसमा सीमित गर्ने र सकेसम्म त्यो दर १.५ डिग्रिसेल्सियस बनाउन सहमत छन्। तर जलवायु परिवर्तनको प्रभाव विश्वका सबै क्षेत्रमा विभिन्न स्वरुपमा देखिएको र तापमान वृद्धि हुँदै जाँदा अझ गम्भीर अवस्था आउन सक्ने उल्लेख छ।
विश्वव्यापी तापमान वृद्धिले सीधा रुपमा खडेरी, गम्भीर गर्मी, क्लाउड ब्रस्ट (एकै ठाउँमा ओइरिएर पानी पर्ने) तातो हावा चल्नेसहितका गतिविधिलाई बढावा दिएको जनाइएको छ। यस्तै अन्टार्टिका तथा हिमाली क्षेत्रमा हिउँको मात्रा कम हुँदै जानुमा पनि तापमान वृद्धि कारक रहेको उल्लेख छ।
मानवीय गतिविधिका कारण भइरहेको विश्वव्यापी तापमान वृद्धि सीमित गर्नका लागि एकीकृत रुपमा कार्बनडाइअक्साइडको उत्सर्जन नियन्त्रणका विशेष प्रयास चाहिने प्रतिवेदनमा उल्लेख छ। अरु हरितगृह ग्याससँगै कार्बनडाइअक्साइडको उत्सर्जन खुद शून्य (नेट जिरो) बनाउनका लागि एकीकृत प्रयास चाहिने प्रतिवेदनमा अनुसन्धानकर्ताले उल्लेख गरेका छन्।
अति न्यून वा न्यून जिएचजीको उत्सर्जनले पनि यो शताब्दीमा विश्वव्यापी तापमान वृद्धि क्रमशः १–१.९ डिग्रिसेल्सिय वा १–२.६ डिग्रिसेल्सियस हुने प्रतिवेदनमा उल्लेख छ।
उत्सर्जन अति न्यून भएको अवस्थामा विश्वको सतहको तापक्रम १.५ डिग्रिसेल्सियस भन्दा तल यो शताब्दीको अन्त्यमा नजाने उल्लेख छ। उत्सर्जन मध्यम तहको रहेमा तापमान वृद्धि २–४.५ डिग्रिसेल्सियस हुने जनाइएको छ।
अहिलेको मानवीय गतिविधि जारी रहेमा यो शताब्दीको अन्त्यसम्म विश्वको तापक्रम तीन डिग्रिसेल्सियसले वृद्धि हुनेछ। अहिलेकै अवस्था रहेमा अबको दुई दशकमा तापमान वृद्धि १.५ डिग्रिसेल्सियस वा त्यो भन्दा माथि हुने उल्लेख छ।
उत्सर्जन उच्च रहेको अवस्थामा तापमान वृद्धि ३–७ डिग्रिसेल्सियस वा ५–८.५ डिग्रिसेल्सियस हुने जनाइएको छ। यस्तो अवस्थामा विश्वभर त्यसको प्रभाव नियन्त्रण भन्दा बाहिरको हुने र आउँदो २० वर्षभित्र प्रभाव देखिन थाल्ने चेतावनी दिइएको छ।
आइपिसिसीले विश्वव्यापी रुपमा भइरहेको तापमान वृद्धिको अवस्थाका सम्बन्धमा विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो। वैज्ञानिकहरु आफ्नो अध्ययनले पत्ता लगाएका कुराहरुको ‘लाइन बाइ लाइन’ अध्ययन गरेर एकीकृत प्रतिवेदन तयार पारेका हुन्।
भर्च्युअल माध्यमबाट भएको छलफलपछि तयार निष्कर्षसहितको अध्ययन प्रतिवेदन सरकारहरुका लागि ‘वेक–अफ कल’ हो।
अनुसन्धानकर्ताहरुले यो छलफलबाट ४२ पृष्ठ लामो अध्ययनको सारसंक्षेप सार्वजनिक गरेका हुन्।
यो सारसंक्षेपसहितको प्रतिवेदन आउँदो नोभेम्बरमा जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा ग्लासगोमा भेला हुने विश्वका नेताहरु तथा योजनाकारहरुका लागि निर्देशक बन्ने छ।
सोमबार सार्वजनिक भएको प्रतिवेदन छोटो भए पनि अहिलेसम्मकै गम्भीर चेतावनीयुक्त रहेको छ।
साभार देशसंचार र न्यूसाइन्टिस्ट
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !