काठमाडौँ– हाल बङ्गालको खाडीमा र मध्य भारतमा रहेको (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा वर्षा गराएको छ । यो वर्षा बिहीबार बिहानसम्मै प्रभाव पार्ने बताइएको छ । दुई वटा प्रणाली सक्रिय हुँदा पश्चिम नेपाल (विशेष गरी सुदुरपश्चिम प्रदेश) नराम्ररी प्रभावित भएको छ । नेपालका विभिन्न क्षेत्रमा भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण प्रभावितको उद्धार तथा राहतमा मुलुककै ध्यान केन्द्रित भएको छ । विभिन्न १२ भन्दा बढी जिल्लालाई प्रत्यक्ष प्रभाव पारेको छ ।

बाढीले ४ को मृत्यु


डोटीमा २ र डडेलधुरा तथा कालिकोटमा १–१ गरी ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । वर्षाका कारण कालिकोट, डडेलधुरा, बझाङ, गुल्मी, प्युठान, अछाम, डोटी, पाल्पा, कञ्चनपुर, दैलेख र बर्दियामा बढी प्रभाव परेको छ । मुख्यगरी सेती, महाकाली, कर्णाली, पश्चिम राप्तीलगायत ठूला तथा त्यसका सहायक नदीमा बाढीको बहाव उच्च रहेको छ ।


प्राप्त विवरणअनुसार बेनी–मुस्ताङ, डोटीको भीमदत्त राजमार्ग, अछामको चौखुट्टे–अछाम–बाजुरा सडकखण्ड, बझाङ्को जयपृथ्वी राजमार्ग, बाजुराको मार्तडी–कोल्टी र साँफे–मार्तडी सडक बाढी पहिरोका कारण अवरुद्ध भएको गृह मन्त्रालयले जनाएको छ ।


यसअघि डुबानमा परेका कञ्चनपुरका २०० प्रभावितलाई भने सुरक्षाकर्मी र स्थानीय प्रशासनको पहलमा उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । ठाउँठाउँमा फसेकालाई अहिले पनि जिल्लास्तरबाट उद्धार कार्य जारी छ


खराब मौसमका कारण विभिन्न पर्यटकीय क्षेत्रमा पुगेका पर्यटकसमेत प्रभावित भएका छन् । प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले सुदुरपश्चिमका अधिकांश सडक अवरुद्ध भएको बताए । प्रतिकूल मौसमका कारण हवाई उडानसमेत प्रभावित हुन पुगेको छ ।
बुधबार पनि प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


वर्षाले सुदूरपश्चिम क्षेत्रलगायत विभिन्न ठाउँलाई प्रभावित पारेपछि राहत तथा उद्धारको व्यवस्थापनमा लाग्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन गरिसक्नुभएको छ । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी उद्धारको लागि काम परिचालित छन् ।

बझाङमा बाढी–पहिरोको वितण्डा ः २४ जना बेपत्ता, ७ घर पुरिए, विद्युत र संचार क्षेत्र अवरुद्ध
बझाङमा पहिरोमा परेर २४ जना बेपत्ता भएका छन् ।

सोमबार रातिको पहिरोमा परेर थलारा गाउँपालिका–४ डिक्लामा २४ जना हराइरहेका छन् । गाउँबाट एक किलोमिटर माथि रहेको ढोगदिना डाँडा भन्ने ठाँउबाट पहिरो खस्दा सात घर पहिरोमा पुरिएको स्थानीय प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा गगने सार्कीका एकै परिवारका १८ जना र नरे सार्कीको परिवारका ६ जना रहेका छन् । पहिरोका कारण तल्लो डिक्ला र माथिल्लो डिक्ला गाउँका स्थानीय त्रिभुवन मावि महेन्द्रधारमा अस्थायी रुपमा आश्रय लिइरहेका छन् । पूरा गाउँ पहिरोको जोखिममा परेपछि सय भन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ति मावि पाराकाट्नेका शिक्षक मदनबहादुर साउदले बताए । पहिरो पीडितको उद्वारमा खटिएको प्रहरी टोली डिक्ला पुगे पनि पहिरो खसिरहेका कारण उद्धार हुन नसकेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताए । यस्तै आइतबार रातिबाट सुरु भएको अविरल वर्षाका कारण जिल्लाभर जनजीवन अस्तव्यस्त भएको छ ।

पहिरोले जयपृथ्वी नगरपालिका – १ पिमी गाउँमा मात्रै ६० परिवार विस्थापित भएको स्थानीयले बताएका छन् ।

लगातारको वर्षासँगै सदरमुकाम नजिक भएर बग्ने डुङग्री खोलामा आएको बाढीले डुङग्री बजार र लेकी जोड्ने झोलुङगे पुल बगाएको छ । पुल नजिक रहेका ५ वटा पक्की घर पनि बगाएको र बजारका अरु घरहरु पनि जोखिममा परेको प्रहरीले जनाएको छ । बाढीले पक्की र कच्ची सडकहरु अवरुद्ध छन भने संचार सेवा समेत अवरुद्ध बनेको छ । त्यसैगरी पोल ढल्दा विद्युत सेवा बन्द भएको छ । सदरमुकाम चैनपुर लगायत दर्जन बढी ठाँउको खानेपानी सेवा पनि अवरुद्ध भएको बताइएको छ ।
एजेन्सीबाट

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल