काठमाडौं– १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएका वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको जन्मकुण्डली जलाएर अन्त्येष्टि गरिएको छ।


आफ्नो शव अध्ययन निम्ति किष्ट अस्पताललाई बुझाउने जोशीको अन्तिम इच्छा थियो। त्यसैअनुसार अस्पताललाई शव दान गरेपछि जोशीका जेठा छोरा अनुराज र कान्छा छोरा डा. पूर्णराजले आइतबार साँझ ६ बजेर १४ मिनेटमा शंखमूलस्थित बागमती घाटमा जन्मकुण्डली जलाएर अन्त्येष्टि गरेका हुन्।


जोशीका आत्मकथा लेखक गिरीश गिरीले आफ्नो ट्विटरमार्फत् अन्त्येष्टिको तस्बिर सार्वजनिक गरेका छन्। उनका अनुसार जन्मकुण्डली जलाएपछि कागजको खरानी र जोशीका लुगाफाटा बागमती नदीमा सेलाइएका थिए। उक्त क्षण जोशीका दुई छोरा र आफू गरी तीन जना मात्र उपस्थित रहेको गिरीले उल्लेख गरेका छन् ।
’पुरानो कागज असाध्यै पक्का किसिमको भएकाले बाल्न कठिन भएको थियो,’ गिरीले ट्विटरमा लेखेका छन्, ’खरानीलाई बागमती नदीमा सेलाइएको थियो।’
अन्त्येष्टि निम्ति जन्मकुण्डली जलाउनुअघि त्यसका प्रतिरूप निकालेर सुरक्षित राखिएको उनले लेखेका छन्। जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो।


उनले २०७७ माघ ३० गते नै ललितपुर महानगरपालिकाको रोहवरमा आफ्नो शरीर अध्ययनका लागि किष्ट अस्पताललाई दिन सम्झौता गरेका थिए।


उक्त कार्यक्रममा जोशीले भनेका थिए, ‘संस्कृतमा एउटा श्लोक छ जीवेम शरदं शतम्’ भन्ने, सोहीअनुसार पनि म १०० वर्ष त बाँचिसकेँ। यति समयसम्म मेरो फोक्सोको अवस्था कस्तो थियो? मुटुको अवस्था कस्तो छ? सबै जानकारी चिकित्सा क्षेत्रका विद्यार्थीहरूले अध्ययन गरेर पत्ता लगाऊन् भन्ने उद्देश्यले मरणोपरान्त अरू सबै संस्कार गरिसकेपछि शरीर दान गर्न लागेका हौं।’
आइतबार उनको निधन भएपछि बुवाको शरीर अस्पताल प्रशासनले के–कसरी राख्ने हो भन्नेबारे उनका छोराहरूले चिन्ता पनि व्यक्त गरे। अस्पतालका निर्देशक प्रा.डा.सुरज बज्राचार्यले आफूहरूले सत्यमोहनको शरीर संरक्षण तथा अध्ययन गर्ने ढाँचा पहिल्यै तयार पारिसकेको बताएपछि परिवार विश्वस्त भएको थियो।

अस्पतालले जोशीको शव सुरक्षित राख्न इन्जेक्सनमार्फत् नसाबाट रसायन हालेको छ। उक्त रसायन शरीरमा पसेपछि २५–३० वर्षसम्म केही नहुने अस्पतालले जनाएको छ। त्यसका लागि चिस्यान पनि चाहिँदैन।

किस्ट अस्पतालका निर्देशक बज्राचार्यले जोशीको शव संरक्षण गरेर प्रदर्शनका लागि नराखिने बताएका छन्।
‘राजनीतिक व्यक्तिको शव राखेजसरी राख्ने होइन। हाम्रो उद्देश्य भनेको उहाँको शरीर अध्ययन गर्ने हो,’ उनले भने, ‘हामीले संरक्षण गरिसकेका छौं। संग्रहालयमा राखेर अरूलाई देखाउने भन्ने होइन।’
शवलाई अस्पतालले सदाका लागि संरक्षण गरेर राख्ने पनि होइन। अध्ययन गर्नुका कारणहरू पत्ता लागेपछि दाहसंस्कार आफ्नै हिसाबले गरिने अस्पतालले जनाएको छ।

राष्ट्रिय सम्मानका साथ शोक सलामी
शताब्दी पुरुष संस्कृतिविद् जोशीको पार्थिव शरीरमा फूलमाला चढाउँदै नेपाल प्रहरीको टुकडीले राष्ट्रिय सम्मानका साथ शोक सलामी अर्पण गरेको छ । जोशीको पार्थिव शरीरलाई ललितपुर महानगरपालिकाको प्रांगणमा राखी प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए । जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसहित उच्चपदस्थ व्यक्तित्वहरू आइतबार दिउँसो महानगरपालिकाको प्रांगणमा पुगेका थिए । उनको नाममा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि शोक व्यक्त जारी गरेकी थिइन् ।

जोशीको दैनिकी
बिहान एक कप कालो चिया । साँझ टुच्च एक पेग ब्ल्याक लेबल । नत्र अय्ला । सत्यमोहन जोशीले यो पंक्तिकारसँग केही समय अगाडि भनेका थिए, ‘चिया र रक्सी दुवै अम्मल हो । तर जीउलाई मिलाउन जान्नुपर्छ ।’

डाक्टरलाई भेट्नैपर्ने बाध्यता आइनलागुन्जेल सत्यमोहन जोशी डाक्टर भेट्न चाहँदैनथे । ‘डाक्टरले केही न केही समस्या देखाइहाल्छ, उसको कामै हो,’ उनी भन्थे, ‘बरु यत्तिकै नांगो पैतालाले बिहानको शीतमा दुबोतिर हिँड्यो, आफूलाई तन्दुरुस्त राख्यो । यसैले काम गर्छ ।’
उनले मोबाइल फोन बोकेनन् । मोबाइल आएपछिका सुरुका केही महिना गोजीमा हालेर हिँडेछन् । जतिखेरै ट्याङट्याङ गर्ने, गरिराखेको कामलाई डिस्टर्ब गर्ने जिनिस् भन्ठानेर त्यसलाई बिदाबादी गरेछन् । अलिक महिना अगाडिसम्म उनलाई घरको ल्यान्डलाइनमा भेटिन्थ्यो । ‘फोनले दिक्क लगाउँछ, बरु यत्तिकै यत्तिकै शान्त बस्नु ठिक छ,’ उनी भन्थे । पत्नी राधादेवीसँग खित्खित् हाँस्दै बसिरहेका भेटिन्थे । ‘वी आर ह्याप्पी,’ घरिघरि अंग्रेजी बोल्न मन पराउँथे ।

बुढिँदै गएकी पत्नीलाई दिक्क नलागोस् भनेर टोलकै सहेलीहरुसँग झ्याम्मिने चाँजो मिलाएका थिए । ‘उसले पढेलेखेकी त छैन, तर सुन्न र बोल्न त सक्छे नि,’ सत्यमोहनले यो पंक्तिकारलाई भनेका थिए । आफ्नो घरमा उनीहरुका बीचमा प्रज्ञापारमिता लगायत सत्संग गराउने गर्थे । र, आफू अर्को कुनामा व्यस्त रहन्थे । सत्यमोहनलाई भेट्न समय लिनुपर्थ्यो । किनभने उनी सधैं भाषा, संस्कृति, इतिहास र वाङमयका काममा कहीँ कतै पुगिरहेका हुन्थे । उनी हरेक दिन काम गर्थे । ०७१ सालको कुनै बिहान यो पंक्तिकारले उनलाई कीर्तिपुरको माइक्रोबसमा भेट्यो । ‘म बाघभैरव जान लागेको,’ उनले भनेका थिए ।

माइक्रोमा वृद्ध अशक्तहरुका लागि सिट छुट्याएको हुन्छ । उनलाई त्यसमा बस्न मन लाग्दो रहेनछ । पाटन बखुःबहालको घरबाट कीर्तिपुरस्थित नेपाल भाषा एकेडेमीसम्मको सात किमि बाटो पैदल हिँड्ने गर्दा रहेछन् । पछिल्ला वर्षमा चाहिँ बिसन्चोले त्यत्रो बाटो हिँड्ने अवस्था रहेन ।
तीनपल्ट मदन पुरस्कार पाउने एकमात्रै लेखक हुन् सत्यमोहन । २०१४, २०१८ र २०२८ सालमा उनले ती पुरस्कार पाए ।

पछिल्ला वर्षमा उनका तीन नाटक देखाइए । मण्डला थिएटरले कर्णालीको लोककथामा आधारित ‘सुनकेशरी’ धेरै हप्तासम्म देखायो । थिएटर भिलेजले चारुमती, अनि शिल्पी थिएटरले प्रस्तुत गरेको महिपाः लाखे निकै चर्चामा रहे ।
प्रज्ञा प्रतिष्ठानमा सदस्य भएका बेला उनले नेपाली खस सभ्यताको व्युत्पत्ति थलो कर्णालीस्थित सिँजाखोलामा गएर अनुसन्धान थाल्ने निधो गरे । त्यहाँको भाषा, लोकजीवन, संस्कृतिलाई समाजशास्त्रीय, अर्थशास्त्रीय आँखाबाट चिहाए । कर्णार्ली विकट छ, गरिब छ भन्ने सबैलाई थाहा थियो, तर कर्णाली धनी छ भन्ने थाहा कमैलाई थियो । जोशीसहितका पाँच अनुसन्धाताको टिमले लामो समय दिएर अध्ययन गर्यो । यही अनुसन्धानको प्रतिफल २०२७ सालमा कर्णाली लोकसंस्कृति नामक पुस्तक पाँच भागमा प्रकाशित भयो ।

सत्यमोहनले पुरातत्व विभागको पहिलो डाइरेक्टरका रूपमा प्राचीन र मध्यकालीन नेपालका थुप्रै ऐतिहासिक सामग्री संरक्षणका लागि पहल लिएका थिए ।
सँस्कृतिकर्मीको रुपमा उनका धेरैजसो चिन्तनहरु मौलिक थिए । भूकम्प जाने बित्तिकै यो पंक्तिकार सत्यमोहनलाई भेट्न गएको थियो । भूकम्पले धरहरा ढलेकोमा धेरैको चासो थियो । मिडियाहरुमा पनि धरहराले नै प्राथमिकता पाइरहेको थियो । तर सत्यमोहनको चासो भने काष्ठमण्डपमा थियो । धरहरा भत्किएको भन्दा बढी काष्ठमण्डप भत्किएकोमा चिन्तित थिए उनी । हाम्रो मौलिक सम्पदा धरहरा होइन, काष्ठमण्डप हो भन्थे उनी । धरहरा ढल्दा धेरै मानवीय क्षति भएकोमा भने उनी दुःखी थिए । सत्यमोहनले रेडियो पेकिङ चीनमा छ वर्ष बिताए । नेपाली भाषामा समाचार प्रसारण गर्ने र चिनियाँलाई नेपाली भाषा सिकाउने काम गरे । चीनका केही साहित्यिक कृति नेपालीमा उल्था पनि गरे । उनले नेपाली र नेवारी भाषामा सम्पादन गरेका, संकलन गरेका र लेखेका सबै पुस्तकको संख्या जोडा ६० नाघ्छ ।

राज्यले उनलाई वाङमय शताब्दी पुरुष भनी सम्मानित गरेको छ । नागरिकस्तरमा उनले सिंगै देशदेशावरको माया पाएका छन् । बुढेसकाललाई वरदान भनी र्अ्याउने सत्यमोहनले अन्तिम घडीसम्म काम गरे । कामको जीवन नै शानको जीवन हो । उनले हरेक दिन काम गरे । शानका साथ बिदा भए ।

साभारः सेतोपाटी र अनलाइनखबरबाट लिइएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल