काठमाडौँ—चिनियाँ प्राविधिक टोलीले काठमाडौं–केरुङ रेलमार्गअन्तर्गत संभाव्यता अध्ययनको सर्वे नुवाकोटतर्फ सके सकेर रसुवामा थालेको छ ।

रेलमार्गको सम्भाव्यता अध्ययनका लागि ०७९ पुस तेस्रो साता नेपाल आएको टोलीले एक वर्ष लगाएर नुवाकोटतर्फको सर्भेको काम सकेको रेल विभागले जनाएको छ । रसुवा, नुवाकोट र काठमाडौं जिल्लामा रेलमार्ग पर्ने भएकाले टोलीले अहिले रसुवामा सर्भेको काम थालेको छ । ड्रोनमार्फत फोटो र भिडियो लिएर सर्भेको काम भइरहेको रेल विभागका महानिर्देशक रोहित बिसुरालले बताए ।

‘समय तालिकाअनुसार बर्खाअघि नै ड्रोन सर्भेको काम थाल्ने योजना थियो,’ उनले भने, ‘धेरै निकायबाट सहमति लिनुपर्ने हुँदा ढिलाइ भयो । अहिले सहमति लिएर ड्रोनमार्फत सर्भेको काम भइरहेको छ ।’ उनका अनुसार काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमाथि हवाई रुट पर्ने भएकाले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग समन्वय गरेर ड्रोनमार्फत अध्ययनको काम थालिने बताए ।

‘आकाशमा ड्रोन र जहाज एकै चोटि उड्दा सिग्नल प्रणालीमा समस्या आउने देखियो,’ उनले भने, ‘त्यसैले प्राधिकरणसँग आवश्यक समन्वय गरेर मात्र ड्रोन उडाउँछौं ।’ संभाव्यता अध्ययनको काम ४२ महिनाभित्र सकिसक्ने बताइएको छ । अहिले एक वर्षको बितिसकेको छ । केही स्थानमा सर्भेका लागि सहमति लिन समय लागेकाले ढिलाइ भएको बताउदै उनले तोकिएकै समयभित्र सर्भे सकिने बताए ।

सुरुमा चाइना रेलवे फस्ट्र सर्भे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुपका ६ जना प्राविधिक टोली सर्भेका लागि आएको र सोही प्राविधिकले ड्रोन सर्भेको काम गरिरहेका छन् । त्यसका लागि रेल विभागका प्राविधिक, कर्मचारी र स्थानीय जनप्रतिनिधिले सहयोग मार्फत सर्वे भइरहेको छ । वर्षात्अघि ४३ जना प्राविधिक टोलीले थिए भने आवश्यकताका आधारमा प्राविधिक थपघट भइरहने महानिर्देशक बिसुरालले बताए ।

विभागका अनुसार निर्माण लागत कति लाग्ने, स्टेसन, पुल र सुरुङबारे एकिन भन्न नसकिने बताइएको छ । रेलमार्गमा निर्माणको जिम्मा लिने कम्पनीले विस्तृत सर्भे गर्ने रेल विभागले जनाएको छ । रेलमार्गको अध्ययनका सामाग्री भने नेपाल भित्रिसकेको विभागले जनाएको छ ।

२०७८ चैतमा काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्न दुई देशबीच औपचारिक सहमति भएको थियो । ०७६ असोजमा चीनका राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमणका क्रममा सम्भाव्यता अध्ययन सुरु गर्नेबारे सहमति भएको थियो ।
प्रारम्भिक अध्ययनअनुसार रसुवागढीदेखि काठमाडौंसम्म ७२ किमि दूरी छ । उक्त मार्गमा अधिकांश पहाड भूभाग पर्ने जनाइएको छ । प्रारम्भिक अध्ययनको खर्च चीन सरकारले व्यहोर्ने बताइएको छ ।

उक्त रेलमार्ग निर्माण गर्न २ खर्ब ७१ अर्ब ३६ करोड ८० लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ ।
रेलका बारेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवस्तरीय टोली चीन जाँदै छन् ।
साभारः कान्तिपुर

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल