काठमाडौं – बाला चतुर्दशीको अवसरमा देशका शिवालयहरुमा बत्ती बालेर जाग्राम बसिरहेका छन् ।
पशुपति क्षेत्रमा मार्गकृष्ण त्रयोदशी अर्थात सोमबार बिहान सतबीज छर्नको लागि आइतबार बेलुकीदेखि नै भक्तजनहरु दीप प्रज्वलन गरी जाग्राम बसेका हु्न् । बाला चतुर्दशीलाई विशेष गरी सनातन हिन्दू धर्म अनुसार विषेश महत्व दिएको छ । बाला चतुर्दशी पर्वलाई शतबीज रोपण पर्व पितृ उद्धारका लागि सम्झना स्वरुप शतबीज छर्ने गरिएको छ ।
पशुपतिनाथलगायत देशका शिवालयहरुमा बत्ती बलेर रातभरि जागा बसेर चतुर्दशीको दिन विभिन्न शतबीज रोपण गरिने गरिएको छ । यसरी बत्ती बाल्दा पितृलोक झलमल्ल हुन्छ भन्ने विश्वास रहिआएको छ ।
सतबीज र दीप प्रज्वलन
सत बीज भन्नाले ७ जातका बिउ छर्ने भन्ने बुझिएपनि अरु थप फलफूल पनि छरिने गर्छन् । सतबीजमा धान, गहुँ, मास, मुँगी, कागुन र सामाको बिउ कुनै स्थानमा कागती, निबुवा, सुन्तला, स्याउ, उखु, अम्बा, केरासहित तिल, चना, मकै पनि शत बीजमा प्रयोग गरिन्छ । मंसिर कृष्ण त्रयोदशीको दिन पितृहरूको सम्झनामा दीप प्रज्वलन गरेर रातभर जागा बस्ने र बिहान शत बीज छर्ने प्रचलन छ । सत बीज शिवालयहरुका जंगलहरु छर्ने गरिन्छ । काठमाडौँको पशुपतिनाथ र यसको छेउछाउ किँरातेश्वर महादेव, गौरी घाट, गुह्येश्वरी, आर्यघाट, श्लेष्मान्तक वन, चतरा, वराहक्षेत्र, सेती वेणी धाम, देवघाट, नुवाकोटको देवीघाट, नुवाकोट दुप्चेश्वर, कपिलेश्वर, गणेशस्थान माछापोखरीको इब्रेश्वर लगायतका स्थानहरुमा सत् बीज छर्ने ।
सत् बीज छर्नेबारे किंवदन्ती
शत बीज छर्ने बारे हाम्रो पात्रोमा उल्लेख गरिए अनुसार एउटा किंवदन्ती चाहिँ अलिक अनौठो लाग्न सक्छ । बाला खासमा एक असुरको नाम हो । उनका ब्रिसलाई राजाले बाला मार्नका लागि पठाएका थिए । बालाले आर्यघाटमा जलाउनका लागि ल्याइएका शवहरू खाइदिने, मृतकका आफन्तलाई तर्साउने र दुःख दिने गरेपछि मानिसहरुले राजालाई यसबारे गुनासो गर्न पुगेका हुन्छन् ।
उनीहरुको गुनासो सुनेपछि राजाले ब्रिसलाई बोलाएर बालालाई मार्न निर्देशन दिन्छन् । तर, ब्रिस र बाला साथी हुन् । आफ्नो साथी बालाको हत्या गर्न ब्रिसले सक्दैनन् । एकातिर राजाको आदेश, अर्कोतिर आफ्नो साथीको हत्या । बढो फसादमा पर्छन् ब्रिस । उनले श्लेष्मान्तक वनमा गएर शिवको तपस्या गर्छन् । उनको तपस्याबाट प्रसन्न भएका भगवान् शिवले बालाको असुर प्रवृत्तिलाई मुक्त गरिदिन्छन् । अनि बालालाई पापबाट मुक्त गराउन ब्रिसलाई शत बीज छर्न आदेश दिन्छन् । यही दिनदेखि शत बीज छर्ने प्रचलन सुरु भएको मानिन्छ ।
साथी बालाको हत्या नगरी उनलाई सहज रूपमा बाहिर ल्याउन सकेकाले बालाचर्तुदशीको दिनलाई कसै कसैले मित्रताको उदाहरणको दिनका रूपमा पनि लिन्छन् ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !