काठमाडौं– चीनको तिब्बत क्षेत्रमा ७ म्याग्निच्यूडको भूकम्प जाँदा १६ जनाको मृत्यु भएको भने ६५ जना भन्दा बढी घाइते भएका छन् ।
ढिलोे गरी प्राप्त समाचार अनुसार चीनको तिब्बत स्वायत्त क्षेत्रको नाग्कुमा गएराति शक्तिशाली भूकम्प गएको हो ।
चीनको भूकम्प सञ्जाल केन्द्रका अनुसार भूकम्प नाग्कु क्षेत्रमा स्थानीय समयअनुसार राति १०ः३३ बजे गएको हो । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइमा रहेको थियो ।
भूकम्पका कारण ३३९ घरमा क्षति पुगेको छ । त्यसैगरी २० वटा पशु गोठमा क्षति भएको स्थानीय सरकारी अधिकारीहरूले जनाएका छन् ।
प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि ठूलो संख्यामा सुरक्षाकर्मी टोली परिचालन गरिएको छ ।
भूकम्पपछि परकम्पहरू समेत गइरहेका छन् । चीनको भूकम्प सञ्जाल केन्द्रका अनुसार सयौँ परकम्प रेकर्ड भएका छन् । प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने तथा क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ ।
उद्धारकर्मीहरूले भत्किएका संरचनामा खोजी गरिरहेका छन् । स्थानीय सरकारी अधिकारीहरूले हजारौँ स्थानीयलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ । उद्धार तथा राहतका लागि टेन्ट, अस्थायी आवास, न्यानो कपडा र अन्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ ।
उच्च हिमाली क्षेत्रमा भूकम्प गएकाले चिसो मौसम र सम्भावित हिमपातले उद्धार तथा राहत कार्यमा थप चुनौती सिर्जना गर्न सक्ने सरकारी अधिकारीहरूले जनाएका छन् ।
यो भूकम्प सन् २०२४ को जनवरीपछि चीनमा गएको सबैभन्दा शक्तिशाली भूकम्प भएको बताइएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web












कुनै पनि प्रतिक्रिया पाईएन !