काठमाडौं–बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवात उत्तर–पश्चिमतर्फ अघि बढ्ने क्रममा त्यसको प्रभाव नेपालसम्म पर्ने सम्भावना देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागले आगामी कात्तिक ११ गते बुधबारदेखि १५ गते आइतबारसम्म (अक्टोबर २८ देखि नोभेम्बर १) देशका विभिन्न भागमा मौसम बदली, वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने जनाएको छ ।
मौसमविद्हरूका अनुसार बंगालको खाडीमा बनेको प्रणाली इण्डियाको आन्ध्र प्रदेश र दक्षिणी ओडिसाको आसपासबाट अघि बढ्ने सम्भावना छ । यसको प्रत्यक्ष असर नेपालमा नपरे पनि यसले नेपालमा वर्षा गराउने अन्य मौसमी प्रणालीसँग अन्तरक्रिया गर्दा वर्षाको मात्रा बढ्न सक्ने सम्भावना छ ।
बढी असर
अहिले नै जिल्लागत रूपमा जोखिम तोक्न सकिने अवस्था नरहे पनि पूर्वी तथा मध्य नेपालसहित देशका विभिन्न भूभागमा वर्षाको सम्भावना देखिएको छ । पश्चिमतर्फ पनि मौसम बदली र वर्षाको असर पुग्न सक्ने भएको छ ।
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातसँगै सडक तथा पदयात्रा मार्ग प्रभावित हुने र उच्चहिमाली क्षेत्रमा भारी हिमपात भए हिमपहिरोको जोखिमसमेत बढ्न सक्छ ।
२०० मिलिमिटरसम्म वर्षा
केही मौसम विद्हरुले नेपालका केही स्थानमा कुल २०० मिलिमिटर वा त्यसभन्दा बढी वर्षा हुन सक्ने संकेत गरे पनि वर्षाको मात्रा, अवधि र स्थान मौसमी प्रणालीको विकाससँगै परिवर्तन हुन सक्ने बताइएको छ ।
बाढी र पहिरोको जोखिम
छोटो अवधिमा ठूलो वर्षा भयो भने पहाडी क्षेत्रमा पहिरो, सडक अवरुद्ध, खोलानालामा आकस्मिक बहाव र स्थानीय बाढीको जोखिम बढ्न सक्छ । अहिले जमिन नओवाएकाले थप ठूलो वर्षाले जोखिम बढाउन सक्ने मौसमविद्ले जनाएका छन् ।
तराईमा भने भारी वर्षा भए डुबानको समस्या आउन सक्छ ।
कृषि र पर्यटनमा असर
यतिबेला धान काट्ने तथा भित्र्याउने समय भएकाले लगातारको वर्षाले कृषि उपजमा क्षति पु¥याउन सक्छ । त्यस्तै हिमाली तथा पहाडी क्षेत्रमा यात्रा र पदयात्राको मौसम भएकाले वर्षा, हिमपात र सडकको अवस्थाले पर्यटन तथा यातायात प्रभावित हुन सक्ने विभागले जनाएको छ । जोखिम कम गर्न जल तथा मौसम विज्ञान विभागले मौसमसम्बन्धी पछिल्ला सूचना हेरेर मात्र यात्रा तथा अन्य योजना बनाउन र सम्भावित जोखिमप्रति सतर्क रहन आग्रह गरेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web












कुनै पनि प्रतिक्रिया पाईएन !