काठमाडौं–युरोपका विभिन्न देशमा पछिल्लो समय युवा, विद्यार्थी, श्रमिक र सर्वसाधारण नागरिक सडकमा उत्रिएका छन् । सर्बियामा भ्रष्टाचार र राजनीतिक जवाफदेहिताको माग गर्दै सुरु भएको विद्यार्थी आन्दोलन अहिले निर्वाचनसम्म पुगेको छ भने फ्रान्समा शिक्षा, महँगी, सार्वजनिक सेवाको अवस्था र आर्थिक असमानताविरुद्ध सुरु भएको विद्यार्थी आन्दोलन राष्ट्रव्यापी प्रदर्शनमा परिणत भएको छ । फ्रान्ससँगै इटाली, स्पेन, पोर्चुगल, अल्बानिया, बेल्जियमलगायतका देशमा पनि विभिन्न मागसहित प्रदर्शन भइरहेका छन् ।
विद्यार्थी आन्दोलन कसरी सर्बियामास
सर्बियाको विद्यार्थी आन्दोलनको सुरुआत नोभेम्बर २०२४ मा नोभी सादस्थित रेलवे स्टेसनको छानो खसेर १६ जनाको मृत्यु भएपछि सुरु भएको हो । विद्यार्थीहरूले उक्त दुर्घटनामा सरकारी लापरबाही र सम्भावित भ्रष्टाचारको प्रश्न उठाउँदै जिम्मेवार व्यक्तिमाथि कारबाही, निर्माणसम्बन्धी कागजात सार्वजनिक गर्न र सरकारलाई जवाफदेही बनाउन माग गरेका छन् ।
विद्यार्थीहरूले विश्वविद्यालय तथा सडकमा प्रदर्शन, क्याम्पस अवरोध र मौन प्रदर्शन गर्दै आन्दोलनलाई देशभर फैलाएका छन् । अहिले उनीहरुको आन्दोलनमा किसान, श्रमिक, अभिभावक र अन्य स्थानीय पनि जोडिएका छन् । यो आन्दोलनले सरकारमाथि ठूलो राजनीतिक दबाब सिर्जना गरेको छ । अहिले आन्दोलनकारी विद्यार्थीहरू आफैं ‘स्टुडेन्ट लिटस्’ नामको राजनीतिक समूह बनाएर संसद् निर्वाचनमा सहभागी भएका छन् । शुक्रबार राजधानी बेलग्रेडमा विद्यार्थी नेतृत्वको विशाल चुनावी ¥याली निकालेका थिए । आन्दोलनले राष्ट्रपति अलेक्जान्दर भुचिचको लामो समयदेखिको राजनीतिक प्रभुत्वलाई प्रत्यक्ष चुनौती दिएको छन् । सर्बियाको निर्वाचनलाई विद्यार्थी आन्दोलनका लागि निर्णायक मोडका रूपमा हेरिएको छ । आन्दोलन सडकबाट अब संसद् र चुनावको मैदानमा पुगेको छ ।
किन चर्कियो फ्रान्समा आन्दोलन
फ्रान्समा सुरु भएको पछिल्लो आन्दोलनको मुख्य आधार कमजोर हुँदै गएको सार्वजनिक शिक्षा, शिक्षकको अभाव, विद्यालयको खराब अवस्था, बढ्दो जीवनयापन खर्च र आर्थिक असमानता हो ।
सुरुमा विद्यार्थीहरूले विद्यालयमा पर्याप्त शिक्षक र स्रोतसाधन उपलब्ध गराउनुपर्ने मागसहित प्रदर्शन गरेका थिए । तर आन्दोलन विस्तार हुँदै जाँदा महँगी, आवासको समस्या, सार्वजनिक सेवामा कटौती र सरकारको आर्थिक नीतिप्रति असन्तुष्टि पनि जोडियोको थियो ।
गएको शनिबार फ्रान्सभर भएको प्रदर्शनमा ५ लाख ५० हजार स्थानीय सहभागी भएका थिए भने आयोजकहरूले त्यो संख्या ८ लाख रहेको बताएका छन् । सरकारले ७० हजार सुरक्षाकर्मी परिचालन गर्ने जनाएको छ । प्रदर्शनका क्रममा केही स्थानमा प्रहरीसँग झडप, आगजनी र पसल तोडफोडसमेत भएको थियो । सयौँ स्थानीय पक्राउ परेका छन् ।
पेरिससहित लियोन, मार्से, बोर्डो, लिल, रेनेस, टुलुज, मोन्टपेलियरलगायतका सहरमा प्रदर्शन र हिंसात्मक घटना भएका छन् । केही क्षेत्रमा प्रशासनले रातिको कफ्र्यु तथा प्रदर्शनमाथि प्रतिबन्धसमेत लगाएको छ ।
फ्रान्स सरकारले भने शान्तिपूर्ण प्रदर्शनको अधिकारलाई स्वीकार गर्दै हिंसा, आगजनी र लुटपाट नियन्त्रण गर्ने बताएको छ । राष्ट्रपति इमानुएल म्याक्रोँले विद्यार्थी, शिक्षक, ट्रेड युनियनलगायत पक्षसँग छलफल गरी समस्या समाधान गर्ने प्रयास गरिरहेका छन् ।
फ्रान्स र सर्बियाको आन्दोलन एउटै हो
दुवै देशको आन्दोलन एउटै संगठन वा एउटै मुद्दाबाट सञ्चालित होइनन् । तर दुवै आन्दोलनमा युवा पुस्ताको असन्तुष्टि र सरकारप्रतिको अविश्वास मुख्य साझा पक्ष बनेका छन् ।
सर्बियामा मुख्य प्रश्न भ्रष्टाचार, सरकारी जवाफदेहिता, राजनीतिक नियन्त्रण र लोकतान्त्रिक सुधारसँग जोडिएको छ । फ्रान्समा शिक्षाको अवस्था, महँगी, सार्वजनिक सेवा, आर्थिक असमानता र युवाको भविष्य प्रमुख मुद्दा बनेका छन् ।
कुन–कुन देशमा प्रदर्शन भइरहेका छन्
पछिल्लो समय युरोपका इटाली, स्पेन, पोर्चुगल, अल्बानिया, बेल्जियम, अस्ट्रिया र आयरल्यान्डलगायतका देशमा पनि विभिन्न सामाजिक तथा आर्थिक मुद्दालाई लिएर प्रदर्शन भइरहेका छन् । केही ठाउँमा महँगी र आवासको समस्या मुख्य मुद्दा छ भने कतै शिक्षा, सार्वजनिक सेवा, रोजगारी तथा सरकारको आर्थिक नीतिविरुद्ध असन्तुष्टि देखिएको छ । यसले युरोपमा एउटा ठूलो प्रश्न उठाएको छ—आर्थिक दबाब, कमजोर सार्वजनिक सेवा र राजनीतिक नेतृत्वप्रतिको घट्दो विश्वासले युवा पुस्तालाई सडकमा ल्याइरहेको त होइन भन्ने प्रश्न उठेको छ ।
विश्लेषकहरूका अनुसार पछिल्ला आन्दोलनमा युवा पुस्ताले परम्परागत राजनीतिक दलभन्दा बाहिरबाट आफ्नो आवाज उठाउन थालेको देखिन्छ । सर्बियामा विद्यार्थी आन्दोलन निर्वाचनको मैदानमा पुगेको घटनाले यो प्रवृत्तिलाई अझ स्पष्ट बनाएको छ ।
सडकदेखि संसद्सम्मको यात्रा
सर्बिया र फ्रान्सका घटनाले अहिलेको युवा आन्दोलनको बदलिँदो स्वरूप पनि देखाएको छ । सर्बियामा विद्यार्थीहरू सडकबाट चुनावी राजनीतिमा प्रवेश गरेका छन् भने फ्रान्समा विद्यार्थी आन्दोलन श्रमिक संगठन र अन्य सामाजिक समूहसँग जोडिँदै राष्ट्रव्यापी प्रदर्शनमा विस्तार भएको छ । यसकारण यी आन्दोलनलाई केवल विद्यार्थीको प्रदर्शनका रूपमा मात्र हेर्नुभन्दा महँगी, असमानता, सार्वजनिक सेवाको संकट, भ्रष्टाचार र राजनीतिक जवाफदेहिताको मागसँग जोडिएको व्यापक सामाजिक असन्तुष्टिका रूपमा हेर्न थालिएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web












कुनै पनि प्रतिक्रिया पाईएन !