नुवाकोट राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई÷मधेश द्रुतमार्गमा पर्ने मकवानपुरको सबैभन्दा लामो महादेवटार सुरुङको बुधबार ब्रेकथ्रु भएको छ । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले ३ हजार ४२२ मिटर लामो महादेवटार सुरुङको ब्रेकथु गरेका हुन् ।
सुरुङको दुवैतर्फबाट खनिएको भाग जोडिएसँगै आयोजनाको सुरुङ निर्माणले थप गति लिने अपेक्षा गरिएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौं–तराई÷मधेश द्रुतमार्ग निर्माणको भौतिक प्रगति ५१ प्रतिशत पुगेको छ ।
सेनाका अनुसार यो मार्गअन्तर्गत ७ स्थानमा १४ वटा सुरुङ निर्माण भइरहेका छन् । तीमध्ये यसअघि ३ स्थानका ५ वटा सुरुङको ब्रेकथ्रु भइसकेको थियो । महादेवटार सुरुङको ब्रेकथ्रुसँगै अब थप सुरुङ निर्माणका काम अघि बढ्ने अपेक्षा नेपाली सेनाले लिएको छ ।
आयोजनाका अधिकांश संरचनाको सबस्ट्रक्चर निर्माण सम्पन्न भइसकेका छन । यो मार्गमा उच्च प्रविधियुक्त पुल छन् । यो मार्गको अन्य संरचना निर्माणको काम अघि बढिरहेको सेनाले जनाएको छ ।

तर, ललितपुरको खोकना–दुम्किसाप क्षेत्रमा जग्गा अधिग्रहणसम्बन्धी विवाद अझै सुल्झिएको छैन । उक्त क्षेत्रमा ६ दशमलव ५ किमी सडक खण्डको विवाद समाधानको पहल जारी छ । विवाद समाधान टुंगिएपछि ठेक्का व्यवस्थापन गरी निर्माण अघि बढाइने सेनाले जनाएको छ ।
महादेवटार सुरुङको ब्रेकथ्रु कार्यक्रममा राष्ट्रपति पौडेलले यो द्रुतमार्ग निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा परिवर्तन आउने बताए ।
अत्याधुनिक द्रुतमार्ग ७३ किलोमिटर लामो सञ्चालनमा आएपछि काठमाडौं र तराई÷मधेशबीचको दुरी घटेर यात्राको समय बचत हुनुको साथै इन्धन खपत कम हुने, व्यापार, पर्यटनको क्षेत्रमा सुधार भई सवारीको मर्मतसम्भार खर्च बचत हुने बताइएको छ ।
जटिल भू–बनावट र प्रतिकूल परिस्थितिका बाबजुद सेनाले पूर्वाधार निर्माणमा देखाएको दक्षता र प्रतिबद्धता प्रशंसनीय रहेको राष्ट्रपतिले जनाएका छन् ।
ब्रेक थ्रु कार्यक्रममा पूर्वाधार विकासमन्त्री, प्रधानसेनापति, चीन र दक्षिण कोरियाका राजदूत, सरकारी अधिकारी, परामर्शदाता तथा निर्माण व्यवसायीका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
आयोजना निर्धारित समयमै सम्पन्न गर्न निर्माणमा संलग्न सबै पक्षलाई समान गतिमा काम अघि बढाउन नेपाली सेनाले आग्रह गरेको छ ।
द्रुतमार्ग निर्माणमा सहयोग गर्ने नेपाल सरकार, रक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, प्रदेश तथा स्थानीय तह र सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ ।
एजेन्सीको सहयोगमा
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web












कुनै पनि प्रतिक्रिया पाईएन !