नुवाकोट – नेपाली सूचना प्रविधि उद्योगको विकास, स्वदेशी प्रविधिको प्रवद्र्धन तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्ने उद्देश्यसहित ‘आकाशटेल नास–आईटी एक्स्पो २०२६’ आयोजना हुने भएको छ ।


नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास–आईटी) को आयोजनामा आगामी मंसिर ५ र ६ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा दुईदिने एक्स्पो सञ्चालन हुन लागेको हो ।
‘नेपालको आगामी अर्थतन्त्रलाई गति दिँदै’ भन्ने नाराका साथ आयोजना हुन लागेको एक्स्पोमा साइबर सुरक्षा, वित्तीय प्रविधि, बैंकिङ, सफ्टवेयर विकास, कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल प्लेटफर्म तथा शैक्षिक प्रविधिसँग सम्बन्धित ३० भन्दा बढी कम्पनी सहभागी हुने आयोजकले जनाएको छ ।

मंगलबार पत्रकार सम्मेलनमा नास–आईटीका अध्यक्ष दिपेन चापागाईंले नेपाली प्रविधि कम्पनीहरूले अन्तर्राष्ट्रियस्तरका उत्पादन तथा सेवा विकास गरिरहेको बताउँदै अब तिनको बजार विस्तार र अन्तर्राष्ट्रिय पहुँच बढाउनुपर्ने आवश्यकता रहेको औंल्याए ।
नेपाली प्रविधि कम्पनीलाई बैंक तथा वित्तीय संस्था, कर्पोरेट क्षेत्र, सरकारी निकाय, लगानीकर्ता र अन्तर्राष्ट्रिय साझेदारसँग प्रत्यक्ष जोड्ने अपेक्षा एक्स्पोले गरेको छ ।

यो वर्ष युरोपेली संघको सहयोगमा नयाँ तथा प्रारम्भिक चरणका कम्पनीलाई लक्षित गरी स्टार्टअप प्याभिलियनसमेत थप गरेको बताइएको छ । यसबाट स्टार्टअपहरूले आफ्ना नवीनतम विचार, उत्पादन तथा प्रविधिमा आधारित समाधान प्रस्तुत गर्दै सम्भावित लगानीकर्ता र व्यावसायिक साझेदारसँग सम्पर्क स्थापित गर्न सक्ने बताइएको छ ।

एक्स्पोको पहिलो दिन कूटनीतिक प्रतिनिधिहरूको सहभागितामा ‘नेपालदेखि विश्वसम्म’ विषयमा छलफल हुनेछ भने दोस्रो दिन अमेरिकी बजारमा नेपाली व्यवसायका अवसर र नेपालको आन्तरिक प्रविधि बजार विकासका विषयमा प्यानल सहित छलफल आयोजना हुने बताइएको छ । विद्यार्थी तथा युवा पेसाकर्मीलाई नेपालमै उपलब्ध प्रविधिसम्बन्धी रोजगारी, उद्यमशीलता र योग्यताका अवसरबारे जानकारी गराउने उद्देश्य एक्स्पोको छ ।

यो दुई दिने एक्स्पो बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल