नुवाकोट – चीनको सेन्जेनमा जारी एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) को ३३औँ शिखर सम्मेलनले विश्वको ध्यान आकर्षित गरेको छ । नोभेम्बर १८ र १९ (मंसिर २ र ३ गते) मा दुई दिन सञ्चालन भइरहेको सम्मेलनमा अमेरिका, चीन र रुससहित २१ सदस्य अर्थतन्त्रका नेता तथा प्रतिनिधिहरू सहभागी भएका छन् ।


सम्मेलनको सबैभन्दा चर्चित पक्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुन लागेको त्रिपक्षीय भेटवार्ता हो । तीनै नेताले बुधबार (नोभेम्बर १८) सम्मेलनको स्वागत समारोहमा एकअर्कासँग भेट गरी सामूहिक तस्बिर खिचाएका थिए । बिहीबार उनीहरूबीच औपचारिक छलफल हुने कार्यक्रम तय भएको बताइएको छ ।

उक्त भेटवार्तामा आणविक हतियार नियन्त्रण, रुस–युक्रेन युद्ध, अन्तर्राष्ट्रिय सुरक्षा, अमेरिका–चीन व्यापारिक तनाव तथा विश्व अर्थतन्त्रका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

सम्मेलनमा मुख्यतः अन्तर्राष्ट्रिय व्यापार विस्तार, लगानी प्रवद्र्धन, कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल प्रविधि, स्वच्छ ऊर्जा, वातावरण संरक्षण र क्षेत्रीय आर्थिक सहकार्यलाई प्राथमिकता दिइएको जनाइएको छ ।

चिनियाँ राष्ट्रपति सीले खुला व्यापार र प्रविधिमा सहकार्य बढाउनुपर्ने धारणा राखेका छन् । त्यसैगरी रुसी राष्ट्रपति पुटिनले पश्चिमी मुलुकका प्रतिबन्धको गहिरो आलोचना गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले पनि चीनसँगको व्यापारिक सम्बन्ध र विश्व सुरक्षाका विषयलाई प्राथमिकतामा राखेको जनाएका छन् ।

एसिया–प्रशान्त क्षेत्रका २१ सदस्य अर्थतन्त्र सहभागी एपेक विश्वको महत्वपूर्ण आर्थिक मञ्च हो । नेपाल यसको सदस्य नभए पनि चीनलगायत क्षेत्रीय मुलुकसँगको व्यापार, लगानी, पर्यटन र पारवहन सम्बन्धका कारण सम्मेलनका निर्णय तथा छलफल नेपालका लागि समेत अर्थपूर्ण हुन सक्ने बताइएको छ ।

विश्वका तीन शक्तिशाली मुलुकका नेताहरू एकै ठाउँमा भेला हुनुलाई अन्तर्राष्ट्रिय कूटनीतिमा महत्वपूर्ण घटनाका रूपमा विश्वले हेरिएको छ । उनीहरूबीच हुने छलफलले विश्व व्यापार, सुरक्षा र शक्ति सन्तुलनमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा अन्तर्राष्ट्रिय समुदायको चासो बढेको छ ।
-एजेन्सीको सहयोगमा

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल