नुवाकोट – कार्तिक शुक्ल एकादशीलाई हरिबोधिनी एकादशी वा ठूलो एकादशी शुक्रबार बिहानैदेखि काठमाडौँ उपत्यका लगायत घाट, नदी, कुवा, तलाउ लगायतका स्थानमा भगवान नारायण सहित पितृको संझना गरी मनाइदै छ ।


आषाढ शुक्ल एकादशी (हरिशयनी एकादशी) का दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु हरिबोधिनी एकादशीमा ब्युँझने धार्मिक विश्वासका साथ विशेष पूजाआजा एवं आराधना गर्न मन्दिरहरूमा दर्शनार्थीको घुइँचो लागेको छ ।
काठमाडौ उपत्यकाका भित्र भक्तपुरस्थित चाँगुनारायण, काठमाडौँका शेषनारायण, इचङ्गुनारायण र ललितपुरको विशंखुनारायण मन्दिरलाई चार नारायणका रूपमा पुजिन्छ । हरिबोधिनी एकादशीका दिन एकैदिन चार नारायणको दर्शन तथा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । दर्शनार्थीहरु टाढादेखि आएर दर्शन गरिरहेका छन् ।

चार नारायणको दर्शन गर्न जान नसक्ने भक्तजनले उपत्यकाको उत्तरी भेगस्थित बूढानीलकण्ठ नारायणस्थानमा गई पूजाआजा गरेमा उत्तिकै फल प्राप्त हुने विश्वास छ । हरि (विष्णु) र हर (शिव) को मूर्ति एउटै विशाल शिलामा स्थापना गरिएको बूढानीलकण्ठमा राति १ बजेदेखि खुला गरिएको र भक्तजनले दर्शन गरिरहेको बतायएको छ ।

बूढाढानीलकण्ठमा शुक्रबारदेखि कार्तिक शुक्ल पूर्णिमा (मंसिर ८ गते) सम्म विशेष मेला लाग्ने गर्छ । जलकुण्डमाथि भगवान् नारायण शयन गरेको अलौकिक मूर्ति अवलोकन गर्न आन्तरिकका साथै बाह्य पर्यटकको समेत यहाँ बाक्लो उपस्थिति रहने गरेको छ । मठले हरिबोधिनी एकादशीकै अवसर पारेर मंसिर २ गतेदेखि सञ्चालन गरेको श्रीमद्भागवत महायज्ञ एवं धार्मिक महोत्सव मंसिर ८ गतेसम्म चल्नेछ ।
त्यसैगरी, नारायणहिटी दरबार परिसरभित्र रहेको चतुव्र्यूह नारायण, हाँडीगाउँ, हनुमानढोका दरबार क्षेत्र, पशुपति क्षेत्र र गोकर्णेश्वर नगरपालिकाको नारायणटारस्थित नारायण मन्दिरलगायत काठमाडौँ उपत्यका र देशभरका नारायण मन्दिरहरुमा पूजा गर्न भक्तजनको घुईचो छ ।

त्यसैगरी हरिबोधिनी एकादशीको पूर्वसन्ध्यामा दिवङ्गत पितृहरूको सम्झना, आत्माको चिरशान्ति र सद्गतिको कामना गर्दै बिहिबार साँझ देशका विभिन्न धार्मिक स्थल तथा नदी किनारमा दीप प्रज्वलन गरिएको छ । हरिबोधनी एकादशीको पूर्वसन्ध्यामा गरिने दीपदानलाई हिन्दू धर्ममा पितृप्रतिको श्रद्धा, कृतज्ञता र धार्मिक आस्थाको प्रतीकका रूपमा हेरिन्छ ।
विशेषगरी दिवङ्गत आमाबुबा, बाजेबज्यै तथा परिवारका अन्य सदस्यहरूको सम्झनामा दियो बाल्ने, फूल तथा जल अर्पण गर्ने र रातभर भजनकीर्तनसहित जाग्राम बस्ने परम्परा रहिआएको छ । कतिपय स्थानमा नदी किनारमा सयौँको संख्यामा दियो बालेर पितृहरूको स्मरण गर्छन् ।

नुवाकोटका दिपप्रज्ज्वलन मठमन्दिरमा र फूलतार्दै
नुवाकोट सूर्यगढी ५ माछापोखरीस्थित इब्रेश्वर महादेव, दुप्चेश्वर ६ दुप्चेश्वरमा, दुप्चेश्वर ३ रावतबेसीं, तारकेश्वरको तारुकाघाट, सामबरी दोभान, विदुरनगरपालिका ५ देवीघाट, धादिङको महेशदोभानस्थित अम्लेश्वर महादेव, रसुवा र नुवाकोट बेत्रावतीस्थित उत्तरगयाधाम लगायतकास्थानमा विहिबार(घाट तथा महादेव मन्दिरमा दीप प्रज्वलन गरिएको छ ।
त्रिशूली नदी किनारमा गरिने यस धार्मिक गतिविधिमा धादिङ, नुवाकोट, रसुवा तथा काठमाडौंलगायतका स्थानबाट श्रद्धालु पुग्ने गर्छन् । नदी किनारमा दीप बाल्ने, पितृहरूको सम्झना गर्ने र रातभर भजनकीर्तन गरी शुक्रबार रातभर बालिएको बत्ति वा मा िनदीमा सेलाउने र आाप, पिपल, समी, बेलपत्र, फूलहरु बाबियोको डेरीमा उनेर धार्मिक अनुष्ठान गरी पूजा गरिएको नदी, कुवा, धारामा वरपार टाँगेर फूल तार्ने गर्छन् ।
काठमाडौं उपत्यकाका बागमती नदी किनार तथा विभिन्न मठमन्दिरमा पनि स्थानीय परम्पराअनुसार दीपदान गर्छन् । पितृहरूको नाममा दीप बाल्ने परम्परा नेपालका विभिन्न क्षेत्र र समुदायमा फरकफरक विधिबाट प्रचलित छ ।

दीपदानको धार्मिक महत्व
हिन्दू धार्मिक मान्यताअनुसार दीपलाई अन्धकारबाट उज्यालोतर्फ, अज्ञानबाट ज्ञानतर्फ र निराशाबाट आशातर्फ जाने प्रतीक मानिन्छ ।
दिवङ्गत पितृहरूको नाममा दीप बाल्दा उनीहरूको आत्माले शान्ति र सद्गति प्राप्त गर्ने धार्मिक विश्वास रहेको छ । पितृहरूको सम्झनामा गरिने दीपदानलाई पूर्वजप्रतिको सम्मान र कृतज्ञता प्रकट गर्ने माध्यमका रूपमा समेत लिइन्छ । आफ्ना पुर्खाले दिएको जीवन, संस्कार र पारिवारिक परम्पराप्रति सम्मान प्रकट गर्दै उनीहरूको स्मरणमा दीप बाल्ने चलन रहेको छ ।
धार्मिक विश्वासअनुसार पितृहरूका नाममा गरिएको श्रद्धा, तर्पण, दान तथा पुण्यकर्म उनीहरूप्रति समर्पण गर्न सकिन्छ । यसबाट पितृको आशीर्वाद प्राप्त हुने र परिवारमा सुख, शान्ति तथा समृद्धि कायम हुने विश्वास गरिन्छ ।
दीपदानले मृतकको आत्मालाई निश्चित रूपमा मोक्ष प्राप्त हुन्छ भन्ने आस्था रहेको छ ।

के छ हरिबोधनी एकादशीको पौराणिक किंवदन्ती ?
हरिबोधनी एकादशीलाई देवउठनी, प्रबोधिनी तथा ठूलो एकादशी पनि भनिन्छ । हिन्दू पौराणिक मान्यताअनुसार आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन भगवान् विष्णु क्षीरसागरमा योगनिद्रामा जानुहुन्छ । त्यसपछि चार महिनासम्म चतुर्मास व्रत तथा धार्मिक अनुष्ठान गर्ने परम्परा छ ।
कार्तिक शुक्ल एकादशीका दिन भगवान् विष्णु निद्राबाट जाग्नुहुने भएकाले यसलाई हरिबोधनी अर्थात् हरि जाग्ने एकादशी भनिएको हो । यही दिनदेखि चतुर्मास समाप्त हुने र विवाह, व्रतबन्धलगायतका माङ्गलिक कार्य पुनः सुरु गर्न सकिने धार्मिक मान्यता रहेको छ ।
अर्को कथन अनुसार प्रसिद्ध पौराणिक प्रसङ्ग तुलसी विवाह हो । पद्मपुराणलगायतका पुराणमा वर्णित जलन्धर, वृन्दा र भगवान् विष्णुसँग सम्बन्धित कथालाई तुलसी विवाहको धार्मिक आधारका रूपमा लिइन्छ ।
कथाअनुसार जलन्धर नामका शक्तिशाली असुरकी पत्नी वृन्दा अत्यन्त पतिव्रता थिइन् । उनको पतिव्रत धर्मका कारण जलन्धरलाई पराजित गर्न देवताहरूलाई कठिन भएको थियो । जलन्धरको अत्याचार अन्त्य गर्न भगवान् विष्णुले वृन्दाको पतिव्रत धर्म भङ्ग हुने अवस्था सिर्जना गर्नुभएको पौराणिक कथन छ ।
त्यसपछि सत्य थाहा पाएर वृन्दाले भगवान् विष्णुलाई श्राप दिएकी थिइन् । पछि वृन्दाले तुलसीको वनस्पति रूपमा जन्म लिएको र भगवान् विष्णुले शालिग्रामका रूपमा उनको विवाह स्वीकार गर्नुभएको पौराणिक मान्यता छ । यही प्रसङ्गको स्मरणमा हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिन तुलसी र शालिग्रामको विवाह गराउने परम्परा बसेको मानिन्छ ।

तुलसी विवाहदेखि भगवान् विष्णुको विशेष पूजासम्म
मंसिर ४ गते शुक्रबार हरिबोधनी एकादशीका दिन बिहानै स्नान गरी व्रतको सङ्कल्प गर्ने, भगवान् विष्णुको पूजा गर्ने र तुलसीको विशेष आराधना गर्ने गरिन्छ ।
घरघरमा रोपिएको तुलसीको मठलाई फूलमाला, वस्त्र र अन्य सामग्रीले सिँगारेर भगवान् विष्णुको प्रतीक शालिग्रामसँग विवाह गराउने परम्परा छ । विवाहका क्रममा तुलसीलाई बेहुली र शालिग्रामलाई बेहुलाका रूपमा सजाएर वैदिक तथा परम्परागत विधिअनुसार पूजा, मन्त्रपाठ र विवाहका कर्म गरिन्छन् ।
यस दिन भगवान् विष्णुलाई तुलसीदल, फूल, फलफूल, जल र दीप अर्पण गर्ने, शङ्ख तथा घण्टी बजाउने, विष्णु सहस्रनाम पाठ गर्ने र भजनकीर्तन गर्ने चलन छ । कतिपय स्थानमा रातभर जाग्राम बसेर भगवान् विष्णुको नामस्मरण गरिन्छ ।
हरिबोधनी एकादशीका दिन काठमाडौं उपत्यकाका चार नारायण—चाँगुनारायण, विशङ्खुनारायण, इचङ्गुनारायण र शेषनारायण मन्दिरमा दर्शन तथा पूजाका लागि श्रद्धालुको विशेष घुइँचो लाग्ने गर्छ । देशका अन्य नारायण मन्दिर तथा तीर्थस्थलमा पनि विशेष पूजा र धार्मिक कार्यक्रम आयोजना गरिन्छन् ।

एकादशीमा भात खान हुन्छ कि हुँदैन ?
हरिबोधनी एकादशीमा भात अर्थात् चामलबाट बनेको खाना खान हुन्छ कि हुँदैन भन्ने जिज्ञासा धेरैमा पाइन्छ । हिन्दू धर्मशास्त्रीय तथा व्रतसम्बन्धी मान्यताअनुसार एकादशीका दिन अन्न, विशेषगरी चामल नखाने परम्परा छ । एकादशी व्रतको मूल उद्देश्य इन्द्रिय संयम, भगवान् विष्णुको आराधना र आत्मिक शुद्धि मानिन्छ । त्यसैले परम्परागत रूपमा यस दिन चामल, गहुँ, मकै, जौजस्ता अन्नबाट बनेका भोजन त्याग्ने चलन छ । कतिपय परम्परामा दाल, गेडागुडी र सामान्य अन्नसमेत निषेध गरिन्छ ।
एकादशीमा फलफूल, दूध, दही, पानी, कन्दमूल तथा फलाहार गरेर व्रत बस्ने गरिन्छ । कतिपयले निर्जला अर्थात् पानीसमेत नखाई व्रत बस्ने गर्छन् भने कतिपयले आफ्नो स्वास्थ्य र सामथ्र्यअनुसार फलाहार गर्छन् ।
धार्मिक मान्यताअनुसार एकादशीका दिन चामल खान नहुने विषयसँग एउटा रोचक पौराणिक किंवदन्ती पनि जोडिएको छ । कथाअनुसार एकादशी तिथिमा अन्नमा पाप पुरुषले आश्रय लिने भएकाले त्यस दिन अन्न सेवन नगर्नू भन्ने भगवान् विष्णुको आदेश रहेको मानिन्छ । यही विश्वासका कारण चामलसहित अन्न त्याग्ने चलन चलेको धार्मिक कथन छ ।
एकादशी व्रत सबैले अनिवार्य रूपमा निराहार बस्नैपर्छ भन्ने होइन । बालबालिका, वृद्धवृद्धा, गर्भवती, बिरामी तथा नियमित औषधि सेवन गर्नुपर्ने व्यक्तिले स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ । उनीहरूले आफ्नो अवस्था र पारिवारिक धार्मिक परम्पराअनुसार फलाहार वा सामान्य भोजन गर्न सक्छन् ।
द्वादशीमा व्रत पारण
एकादशीको व्रत भोलिपल्ट द्वादशी तिथिमा विधिपूर्वक पारण गरेर पूरा गर्ने चलन छ । पारण गर्दा भगवान् विष्णुको पूजा, तुलसीदल अर्पण र आफ्नो सामथ्र्यअनुसार दानदक्षिणा गर्ने परम्परा छ । पारणको समय भने स्थानीय पञ्चाङ्गमा उल्लेख गरिएको शुभ समयअनुसार निर्धारण गर्नुपर्छ ।
यसरी हरिबोधनी एकादशी केवल व्रत र पूजा गर्ने पर्व मात्र नभई पितृप्रतिको श्रद्धा, प्रकृतिसँगको सम्बन्ध, तुलसीको महत्त्व र भगवान् विष्णुप्रतिको भक्तिभाव जोडिएको महत्त्वपूर्ण धार्मिक पर्व हो । पूर्वजको सम्झनामा बालिएको एउटा सानो दीपले पनि परिवार र समाजमा श्रद्धा, संस्कार तथा कृतज्ञताको उज्यालो फैलाउने सन्देश दिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल