नुवाकोट –भगवान् विष्णु जागा हुने धार्मिक विश्वासका साथ मनाइने हरिबोधिनी एकादशी शुक्रबार देशभर श्रद्धा, भक्ति र उल्लासपूर्वक मनाइएको छ ।

ठूलो एकादशीका रूपमा परिचित यो पर्वमा काठमाडौं उपत्यकाका चार नारायणसहित देशका विभिन्न धार्मिक स्थलमा भक्तजनको घुइँचो लागेको थियो । घरघरमा तुलसी र भगवान् विष्णुको प्रतीक शालिग्रामको विवाह गराइएको छ भने विभिन्न जिल्लामा धार्मिक मेला, भजनकीर्तन तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन् ।

काठमाडौंको बूढानीलकण्ठ नारायणस्थान, चाँगुनारायण, शेषनारायण र इचङ्गुनारायण मन्दिरमा बिहानैदेखि दर्शनार्थी लामवद्ध भई पूजा गरे । पशुपति क्षेत्रलगायत विभिन्न नारायण मन्दिरमा पनि विशेष पूजा तथा आराधना गरिएको थियो ।

हरिबोधिनी एकादशीको अघिल्लो दिन दिवंगत आत्माको मोक्ष तथा शान्ति सहित मनोकांक्षा प्राप्ति हेतु भक्तजनहरुले घाट तथा मन्दिर परिसरमा दिपप्रज्ज्वलन गरी रातभर जाग्रम बसेका थिए ।

नुवाकोटको नुवाकोट सूर्यगढी ५ स्थित माछापोखरीमा रहेको चोकदे दोभानमा मेला साथै विविध सांस्कृतिक कार्यक्रम आयोजना गरि मनाइएको छ । विदुरनगरपालिका ५ देवीघाटमा पनि हरिबोधिनी एकादशी मनाइएको छ । दुप्चेश्वर वडा नं. ६ दुप्चेमा, वडा ३ रावतबेसी, किस्पाङ गाउँपालिकास्थित किस्पाङ पोखरी र फिकुरी डाँडामा हरिबोधिनी एकादशीको अवसरमा धार्मिक तथा सांस्कृतिक मेला आयोजना गरिएको थियो ।

रसुवा र नुवाकोटको सङ्गमस्थल वेत्रावतीमा पनि त्रिशूली नदीमा स्नान, दीप प्रज्वलन तथा फूलको डोली तार्ने परम्परासहित मेला लागेको थियो ।

मकवानपुरको त्रिखण्डी, ऋषेश्वर र मकवानपुरगढीमा भक्तजनको ठूलो उपस्थिति थियो । पाल्पा र स्याङ्जाको सीमास्थित कालीगण्डकी नदीका रिडी, राम्दी, रानीघाट, केलादी तथा अन्य घाटमा स्नान र तोरण तार्नेहरूको घुइँचो लागेको थियो । नवलपुरको नारायणी नदी किनार, लमजुङका मस्र्याङ्दी तथा मादी नदीका घाट र रसुवाको उत्तरगयाधाममा पनि धार्मिक गतिविधि तथा मेला आयोजना गरिएको थियो । बागलुङको निरयघाटमा तीनदिने धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित मेला लागेको थियो।

हरिबोधिनी एकादशीको मुख्य आकर्षण तुलसी विवाह हो । तुलसीलाई भगवान् विष्णुको प्रिय वनस्पति मानिन्छ । यो दिन तुलसीको मठलाई फूलमाला, रातो वस्त्र र उखुको मण्डपले सजाएर शालिग्रामसँग विवाह गराउने चलन तथा परम्परा रहिआएको छ ।

वृन्दा र जलन्धरको पौराणिक कथा

तुलसी विवाहसँग वृन्दा र दैत्यराज जलन्धरको कथा जोडिएको छ । पौराणिक कथाअनुसार वृन्दाको पतिव्रता धर्मको शक्तिका कारण जलन्धरलाई पराजित गर्न कठिन भएको थियो। देवताहरूको आग्रहमा भगवान् विष्णुले जलन्धरको रूप धारण गरेपछि वृन्दाको पतिव्रता धर्म भङ्ग भएको र त्यसपछि जलन्धरको वध भएको मान्यता रहिआएको छ । आफूमाथि छल भएको थाहा पाएपछि वृन्दाले विष्णुलाई शालिग्राम बन्ने श्राप दिइन । पछि भगवान् विष्णुले वृन्दालाई तुलसीका रूपमा सधैँ प्रिय रहने वरदान दिएको धार्मिक विश्वास छ । यही कथाको सम्झनामा तुलसी र शालिग्रामको विवाह गराउने परम्परा रहिआएको छ ।


हरिबोधिनी एकादशीले धार्मिक आस्था मात्र नभई नेपाली मौलिक संस्कृति, स्थानीय उत्पादनको व्यापार, सामुदायिक एकता र धार्मिक पर्यटनलाई समेत जोड्दै आएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल