नुवाकोट –काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–११, बल्थलीस्थित प्रसिद्ध ऐतिहासिक तथा धार्मिक तीर्थस्थल लड्केश्वर महादेव मन्दिरमा युवराज पारस वीर विक्रम शाह पूजाआराधना गर्नुभएको छ ।
हरिबोधिनी एकादशीमा शुक्रबार मन्दिर पुग्नुभएका शाहले भगवान् लड्केश्वर महादेवको दर्शन तथा अभिषेक गर्नुभएको हो । उहाँको आगमनले मन्दिर परिसरमा धार्मिक उत्साह थपिएको थियो । सो अवसरमा स्थानीय भक्तजन तथा शुभेच्छुकहरूले उहाँको स्वागत गरेका थिए ।

लड्केश्वर महादेवधाममा प्रत्येक वर्ष हरिबोधिनी एकादशीका अवसरमा परम्परागत धार्मिक मेला लाग्ने गर्दछ । मेलामा काभ्रेपलाञ्चोकसहित काठमाडौं उपत्यका र आसपासका विभिन्न जिल्लाबाट हजारौँ श्रद्धालु भक्तजन दर्शन तथा पूजाआराधनाका लागि पुग्ने गर्छन् । यो देवस्थल करिब ३५० वर्ष पुरानो इतिहास बोकेको मानिन्छ ।
रोशी र लड्कु खोलाको संगम नजिकै प्राकृतिक पहराभित्र रहेको गुफामा लड्केश्वर महादेवको शिवलिङ्ग अवस्थित छ । यहाँ गुफाभित्रको प्राकृतिक जलधारा, मन्दिर परिसरमा निर्माण गरिएको १०८ फिट अग्लो विशाल शिवत्रिशूल र १०८ शिवधाराले धामको धार्मिक तथा पर्यटकीय महत्व बढाएको छ ।
धार्मिक किंवदन्तीअनुसार तत्कालीन भक्तपुरका मल्ल राजा भूपतेन्द्र मल्लले यस क्षेत्रमा आई लड्केश्वर महादेवको दर्शन तथा पूजाआराधना गरेपछि यहाँ मेला लाग्ने परम्परा सुरु गरेको जन विश्वास छ । पुस्तौँदेखि निरन्तर चल्दै आएको यो मेलामा भक्तजनले पूजाआराधना गर्नुका साथै भजनकीर्तन र रातभर जाग्राम बस्ने परम्परासमेत रहिआएको छ ।
हरिशयनी एकादशीका दिन भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुभएको र चार महिनापछि हरिबोधिनी एकादशीका दिन जागरण हुने धार्मिक विश्वास रहेको छ । यो दिन तुलसी विवाह, व्रत, पूजाआराधना गर्ने परम्परा रहेको छ ।
धार्मिक, ऐतिहासिक र प्राकृतिक सम्पदाले भरिपूर्ण लड्केश्वरधामलाई व्यवस्थित धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके काभ्रेको पर्यटन प्रवद्र्धनमा महत्पूर्ण योगदान पुग्ने बताइएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web












कुनै पनि प्रतिक्रिया पाईएन !