काठमाडौं–भदौ १० गते आएको विनाशकारी बाढीले घरबारविहीन बनाएका रसुवाको आमाछोदिङमो गाउँपालिका–१ का २०० भन्दा बढी परिवार तीन महिना बितिसक्दा पनि सरकारी राहतको पर्खाइमा छन् । बाढीले गाउँ नै तहसनहस बनाएपछि विस्थापित भएका परिवारले अहिलेसम्म सरकारले घोषणा गरेको आर्थिक सहायता पाउन सकेका छैनन् ।

ठूलो हाकु, सानो हाकुलगायत बस्तीका बाढीपीडित अहिले कोही आफन्तको घरमा, कोही सरकारले निर्माण गरेको अस्थायी होल्डिङ सेन्टरमा त कोही अन्यत्र आश्रय लिएर बस्न बाध्य छन्।

बाढीपीडित जीवन तामाङका अनुसार विस्थापित भएका करिब ९० परिवार काठमाडौंको सुन्दरीजलस्थित एक लामा गुरूको घरमा आश्रय लिएर बसिरहेका छन्। त्यस्तै, अन्य परिवारमध्ये केही रसुवामै आफन्तको घरमा र केही नुवाकोटस्थित होल्डिङ सेन्टरमा रहेका छन्।

सरकारले बाढीपीडित परिवारलाई उपलब्ध गराउने घोषणा गरेको मासिक राहत रकमसमेत उनीहरूले पाउन नसकेको तामाङको गुनासो छ। उनका अनुसार चार जनासम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ र चार जनाभन्दा बढी सदस्य भएका परिवारलाई थप प्रतिव्यक्ति दुई हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भए पनि आमाछोदिङमोका पीडितले हालसम्म रकम पाएका छैनन्।

‘नुवाकोटतिरका बाढीपीडितले सरकारले दिने भनेको रकम पाएका छन्। तर हामी आमाछोदिङमोका परिवारले अहिलेसम्म पाएका छैनौँ,’ तामाङले भने।

आफ्नो गाउँका पीडितको अवस्थाबारे गृहमन्त्री सुधन गुरुङको सचिवालयमा समेत जानकारी गराउँदा ठोस सुनुवाइ नभएको उनको भनाइ छ। ‘गृहमन्त्रीको सचिवालयका एक सदस्यसँग कुरा गर्दा दुई करोड रुपैयाँ छुट्याइएको छ, पैसा आउँछ भन्नुभएको थियो। तर अहिलेसम्म हामीले केही पाएका छैनौँ,’ उनले गुनासो गरे।

सरकारी सहयोग नपाएपछि व्यक्तिगत पहल र विभिन्न सहयोगीको साथमा राहत सामग्री जुटाएर पीडितलाई वितरण गर्नुपरेको तामाङले बताए। उनका अनुसार पीडित परिवारलाई चामल, न्यानो कपडा, ग्यास चुलो तथा दैनिक उपभोग्य सामग्री वितरण गरिएको छ। आवश्यकताअनुसार केही परिवारलाई नगद सहयोगसमेत गरिएको छ।

तर तत्कालीन राहतले मात्र विस्थापित परिवारको समस्या समाधान नहुने उनको भनाइ छ। बाढी गएको लामो समय बितिसक्दा पनि सरकारी प्रतिनिधिहरू पीडित बस्तीमा पुगेर आवश्यक समन्वय नगरेको र पुनःस्थापनाबारे स्पष्ट योजना नआएको उनले बताए।
‘एक जना आएर पीडितलाई भेटेको भन्ने सुनिएको छ। तर राहत कहिले दिने, घरजग्गाको व्यवस्था कसरी गर्ने भन्नेबारे कुनै जानकारी छैन। विस्थापित परिवार अझै अन्योलमा छन्,’ तामाङले भने।

उनले बाढीबाट घरजग्गा गुमाएका परिवारका लागि सरकारले सुरक्षित स्थानमा जग्गा उपलब्ध गराउने र स्थायी आवास निर्माणको काम तत्काल सुरु गर्नुपर्ने माग गरेका छन्।
आमाछोदिङमो गाउँपालिकाकी उपाध्यक्ष चण्डिका तामाङले पनि संघीय सरकारबाट राहत रकम उपलब्ध नभएका कारण पीडितलाई सहयोग गर्न कठिनाइ भइरहेको बताइन्। उनका अनुसार विभिन्न संघसंस्था र लामा गुरुहरूको सहयोग नभएको भए बाढीपीडितले सामान्य राहतसमेत पाउन कठिन हुने अवस्था थियो।


‘लामा गुरु र विभिन्न संघसंस्था सहयोगका लागि नआएको भए पीडितले राहतसमेत नपाउने अवस्था थियो। उहाँहरूकै सहयोगमा यहाँ राहत वितरण भएको छ । सरकारबाट भने अहिलेसम्म केही आएको छैन,’ उपाध्यक्ष तामाङले भनिन्।

संघीय सरकारले घोषणा गरेको मासिक १५ हजार रुपैयाँसमेत पीडितलाई उपलब्ध गराउन नसकिएको उनले बताइन्। स्थानीय तहसँग पर्याप्त अधिकार र स्रोत नभएकाले केन्द्र सरकारकै निर्णय र सहयोगको प्रतीक्षा गर्नुपरेको उनको भनाइ छ।

गत भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले बाढीपहिरोबाट प्रभावित परिवारलाई छ महिनासम्म आवास तथा जीवनयापनका लागि आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको थियो। निर्णयअनुसार चार जनासम्म सदस्य भएको परिवारलाई मासिक १५ हजार रुपैयाँ र चार जनाभन्दा बढी सदस्य भए थप प्रत्येक सदस्यका लागि दुई हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको थियो।

तर निर्णय भएको लामो समय बितिसक्दा पनि आमाछोदिङमोका प्रभावित परिवारले उक्त रकम नपाउँदा विस्थापित जीवन थप कष्टकर बनेको छ। तत्कालीन राहतसँगै स्थायी बसोबास र पुनःस्थापनाको स्पष्ट व्यवस्था नहुँदा बाढीपीडित परिवारको भविष्यसमेत अन्योलमा परेको छ ।
साभारः देशसंचारबाट

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल