विश्वमा महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९)का कारण अधिकांश देशमा बन्दाबन्दी गरिएको छ । नेपालमा पनि गत वर्षको चैत ११ गतेदेखि बन्दाबन्दी गरिएको छ । बन्दाबन्दीले धेरै मानिस फुर्सदिला बनेका छन् ।
बन्दाबन्दीले फुर्सदिलो बनेका धेरै सिर्जनात्मक काममा लागेका छन् । आफ्नो क्यानभासको कलालाई बन्दाबन्दीको समयमा व्यस्त रहेका छन् बेत्रावतीका चित्रकार शशी कुमार । बन्दाबन्दीको समयलाई सदुपयोग गर्दै प्राय रङ्ग र कुचीसँग खेलिरहेका छन् ।
विद्यालयको समयकालमा सदैव चित्रकलामा पहिलोस्थान आउने गरेका उनी विगत २५ वर्ष अगाडीदेखि आफ्नो कलालाई निखार्दै हालसम्म कलाकारिता क्षेत्रको व्यावसायिक कार्य गर्दै आईरहेका छन् । फुर्सदको समयमा चित्र कोर्नु मै उनको दिनचर्या बनेको छ । उनले बन्दाबन्दीको समयमा तेल र रङ्गहरू प्रयोगगरि ४५ भन्दा बढी नै मुहार तथा दृष्य चित्रहरु कोरिसकेका छन्।बन्दाबन्दी समयमा उनले विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितको समेत क्यानभास चित्र कोरेका छन् ।
‘क्यामेराको भर्खरै विकास भएको समयमा खिचिएको श्यामस्वेत तस्विरहरुलाई रङ्ग दिएर क्यानभास चित्रमा उतार्ने देखि मृत्यु भएका व्यक्तिहरुको सम्झनामा परिवारका आफन्तहरुले क्यानभास चित्रहरु बनाउन अर्डरमा चित्र बनाएको छु’ उनले भने ‘कसैले उपहारको स्वरूप राष्ट्र निर्माता पृथ्वीनारायण शाहदेखि विश्व सम्पदा सुचीमा रहेको नुवाकोटको साततले दरबार क्षेत्र, उत्तरगयाधाम क्षेत्र, मानिसहरुको मुहारका चित्र लगायत प्रख्यात स्थानहरुको चित्र बनाएको छु।’
‘क्यानभास चित्रको आयु एक सय वर्षदेखि पाँच सय वर्षसम्म रहने छ ’ उनले भने ‘क्यानभास चित्रको महत्व बुझ्ने ग्राहकहरुले कलाको उचित मूल्य दिएका छन्।’
‘क्यानभास चित्रको साईज अनुसार नै मूल्य पर्छ, एउटाचित्रको मुल्य करिब १० हजार देखि ४० हजारसम्मको लिने गरेको छु” उनले बताए ‘पहिलेको तुलनामा भन्दा अहिले आफ्नो सीप, कला र पौरख भएमा स्वदेशमै बसेर पनि स्वरोजगार भइ जीविकोपार्जन गर्न सकिने छ।’
उनी भन्छन्, ‘बन्दाबन्दीमा रङ्ग र कुचीसँग रमिरहेको छु। यसबेला बनाएका केहि क्यानभास चित्रहरू अर्डर अनुसार नै बनाएको छु । धेरैबाट मुहार चित्र बनाउने माग बढेकोले व्यस्त छु। नेपालमा पनि कलाप्रति सर्बसाधरणको रूची बढदै गइरहेको र कलाकारहरूको आम्दानी पनि राम्रै भइरहेकोमा खुशी लागेको छ।’
‘प्रविधिको प्रयोगसँगै पछिल्लो युवापुस्ताहरुमा डिजिटल फोटो मै सिमित रहेका छन् र क्यानभास चित्रहरुको महत्वलाई बुझ्न सकिरहेका छैनन्’ उनले भने ‘सिमित व्यक्तिहरुले सक्रियता देखाएपनि निरन्तरता दिन सकेका छैनन् ।’
दर्जनौं विद्यालयस्तरीय, जिल्लाव्यापी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामूहिक कला प्रदर्शनीहरूमा सहभागिता जनाई सकेका छन् । उनका चित्रहरुले स्थानीय बजारको साथै अमेरिका, अष्ट्रेलिया, जापान, युएई, बेल्जियम, बेलायत, क्यानाडा, इटाली, स्लोभेनिया लगायतका देशहरुमा बिक्रि भएका छन् ।
‘अर्डरमै क्यानभासका चित्रहरू बनाईने भएकोले बिक्रीको चिन्ता भएन, तर क्यानभास र रङ्गको अभाव हुदैं गई रहेको छ,’ उनले भने ।
बन्दाबन्दी समयमा चित्रकारहरुको अर्डरको काम भएकोले गत जेष्ठमा सम्पन्न भएको भर्चुअल कला प्रदर्शनीमा सहभागी हुन नपाएकोमा दु:ख व्यक्त गरे। बन्दाबन्दीमा कलाकारले बनाएको कलालाई डिजिटल प्लेटफर्ममार्फत अन्तर्राष्ट्रिय बजारको खोजी गर्दै ‘एनबी गुरुङ आर्ट एन्ड टेक्नोजोली’ नामको फेसबुक पेजमार्फत ६२ कलाकारले तयार पारेका पेन्टिङको प्रदर्शनी गरिएको थियो।
रसुवा कला यात्रा, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित “सह-यात्रा कला कार्यशाला”, बसिबियाँलो नुवाकोटले आयोजना गरेको अन्तर्राष्ट्रिय चित्र कार्यशाला लगायतका विभिन्न कला कार्यशाला र प्रदर्शनीहरुमा सहभागिता जनाईएका थिए।
नेपालको कला क्षेत्रमा नुवाकोट तथा रसुवालाई पनि विश्वसामु चिनाउनको लागि बृहत कला प्रदर्शनी गर्ने लक्ष्य रहेको बताए । साथै बेत्रावती धार्मिक एवम् पर्यटकीयस्थलको उदगम् क्षेत्र रहेको उत्तरगयाधाम क्षेत्रमा नुवाकोट र रसुवाको चिनारीलाई समेटेर “आर्ट ग्यालरी” को स्थापनाको लागि आफु जुटी रहेको बताए।
क्यानभास चित्रको साथै उनी ब्यानर लेखन पनि कार्य गर्छन । बन्दाबन्दीको समयमा लामटाङ राष्ट्रिय निकुञ्ज, उत्तरगयाधाम क्षेत्र, विद्यालय, व्यवसायहरुको समेत ब्यानर/भित्ते लेखन कार्यहरु गरेको बताए ।
संक्षिप्त चिनारी
पुरा नाम थर: शशि कुमार डङोल
जन्म: २०३३ कार्तिक २८ गते (नुवाकोटको साविक गेर्खु गाविस वडा नम्बर ९)
आमा: स्व. कृष्णकुमारी
बुबा: ललितबहादुर
श्रीमती: लक्ष्मी
छोरा: सहन
स्थायी बसोबस: बेत्रावती (रसुवा जिल्लाको उत्तरगया गाउँपालिका)
अध्ययन: आइ ए. उतिर्ण, नुवाकोट आदर्श बहुमुखी क्याम्पस
मुख्य पेशा: चित्रकारिता (आर्ट पसल)
व्यवसायिक सुरुवात: २०४९ साल देखि
रुचि: समाजसेवा, भ्रमण, गीत सङ्गीत सुन्ने
विदेश भ्रमण: भारत, पाकिस्तान र युएई
व्यवसायिक कलाको बजार: नेपाल, अमेरिका, अष्ट्रेलिया, जापान, युएई, बेल्जियम, बेलायत, क्यानाडा, इटाली र स्लोभेनिया
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !