भारतले नेपाललाई कहिल्यै सम्बृद्ध हुन नदिने र यहाँका प्रमुख राजनैतिक परिवर्तन आफ्नो अनुकूल बनाउने रणनीति अङ्गीकार गरेको छ । उसको अभिष्ट पुरा हुन नेपाल सधैं अस्थिर राजनीतिबाट गुज्रिनु पर्दछ । त्यसैले नेपालको प्रतिकूलता भारतको अनुकूलता हुनजान्छ । यस्तो खालको अस्थिरतालाई ‘नियन्त्रित अस्थिरता’ भन्नुहुन्छ संविधानविद् डा. भीमार्जुन आचार्य ।

प्राकृतिक वा अनियन्त्रित अस्थिरताले एकैपटक अभूतपूर्व क्षति पुर्याउँछ तर निश्चित समयपछि बिस्तारै मुलुकले तंग्रिने मौका पाउँछ । ठीक विपरित नियन्त्रित अस्थिरताले एकैपटक ठूलो क्षति त ल्याउँदैन तर पलपलमा स–साना क्षति व्यहोर्नुपर्छ । साथै देशले कहिल्यै तंग्रिन पाउदैन । भारतको चाहना पनि यहि हो । नेपाली जनताको अन्य विकसित राष्ट्रहरु जस्तै सम्बृद्ध हुने चाहना तवसम्म पुरा हुनेछैन जवसम्म हामी यो नियन्त्रणबाट मुक्त हुँदैनौ ।

सरकार जोसुकैको होस्, दशकौं देखिको आफूभन्दा धेरै ठूलो देशको नियन्त्रणबाट सरकार एक्लैले मात्र राष्ट्रलाई  मुक्तगर्न सक्दैन । जनताको भरपुर सहयोगको जरुरी हुन्छ । जसरी लिम्पियाधुरा, लिपुलेख लगाएत मुद्दामा नेपालमा अभूतपूर्व सहमती बन्यो, देश नै एकढिक्का भयो, हो त्यस्तै एकता सधैंका लागि जरुरी हुन्छ । राष्ट्रलाई एकजुट बनाउने जिम्मेवारी सरकारको पनि हो । भारतको दादागिरी बढ्नुमा नेपालका दशकौं देखिका सबै सरकारहरु भागिदार छन् । सरकारका गल्ती कमजोरीका चर्चा जँहापनि जहिले पनि भैरहेकै हुन्छन् । त्यसैले यस विश्लेषणमा जनताको गल्ती कमजोरी के हुन् त्यो चर्चामात्र गर्ने प्रयास गरिएको छ ।

भारतले नेपाललाई बोलीमा समान भाषा संस्कृतिको विशेष सम्बन्ध, रोटिबेटीको सम्बन्ध आदि नाम दिन्छ तर व्यवहार आफ्नो एउटा प्रान्तसँग गर्ने खालको हर्कत गर्दछ । अन्तर्राष्ट्रिय जगतमा नेपाल भारत संरक्षित देश हो, भारत विना नेपाल चल्न सक्दैन भन्नेखालका भ्रम भारत आफंैले फैलाउँछ । त्यो भ्रममा हामी जनताले पनि जानी नजानी सहयोग गरिरहेका छौ । कसरी ? आउनुहोस् केहि तथ्यहरुमा चर्चा गरौंः

एउटा विदेशीले नेपाल आउँदा के देख्छ ?

एउटा पर्यटक वा कुनै कामले नेपाल आएको बिदेशी हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलमा झरेर पहिलो पाइला ट्याक्सी, होटेल वा ट्राभलको गाडीमा टेक्नेबित्तिकै हिन्दी गीत बज्न थाल्छ । बेलुका होटेलमा लाइभ म्युजिक हेर्न जान्छ, गायक त नेपाली हुन्छन् तर गाउँछन् हिन्दी गीत । भोलि त्यो पर्यटक पोखरा जाला, पर्सी एबिसी ट्रेक जाला अर्थात् सगरमाथा वेसक्याम्प तर्फ नै जाला उसले नेपाली गीत भन्दा हिन्दी बढी सुन्छ । त्यसमा कुनै शंका छैन । उसले नेपाल र भारतमा कुनै अन्तर   पाउँदैन ।

हाम्रा सार्वजनिक स्थलहरुमा के देखिन्छन् ?

हाम्रो देशमा कुनै एक नेपालीले हिन्दी गीत सुन्दैन भनेर पनि छुट पाउँदैन । विद्यार्थीहरु स्कुल र क्याम्पस जान आउन तथा विभिन्न पेशाकर्मी, कर्मचारी कार्यालय जान आउन सार्वजनिक सवारीको प्रयोग गर्नुपर्छ । ती सवारीमध्ये कम्तिमा ८० प्रतिशतमा हिन्दी गीत बज्छ । लामो दूरीका बसमा मानौ दाङबाट काठमाडौँ आइपुग्दा हिन्दी गीत ९० पटक बज्छन् भने नेपाली बल्लतल्ल १० पटक बज्लान् । टेलिभिजन राखिएका बसहरुमा पनि हिन्दी फिल्म नै देखाइन्छ ।

फिल्म हलहरुमा नेपाली चलचित्र चलेका हल खाली हुन्छन् तर हिन्दी चलेका हाउसफुल हुन्छन् । त्यतिमात्र होइन हलवालाहरुनै नेपाली फिल्मको पैसा बिक्री भएको  टिकटअनुसार किस्ताबन्दीमा वर्षदिनसम्म झुलाएर तिर्दछन् तर हिन्दी फिल्म ठूलो जोखिम मोलेर एकमुष्ट २ देखि ५ करोड नगद तिरेर नेपाल ल्याउँछन् । अहिलेका टिनेजर युवाहरुलाई कुनै नेपाली फिल्म हेर्यौ भनेर सोध्यो भने “नेपाली फिल्म पनि कोही हेर्छ” भन्ने जवाफ आउँछ । हिन्दी, अंग्रेजी र कोरियन हेर्नु आफ्नो शान सम्झन्छन् उनीहरु । हाम्रा होटल, रेस्टुरेन्ट, पार्टीप्यालेस, डिस्को र क्लबहरुको कुरै छोडौं । त्यहाँ जाँदा आफू कुन देशमा छु भनेर अलमलिनुपर्ने अवस्था आउँछ । विभिन्न राष्ट्रवादी  मुद्दामा साहसिक र सकारात्मक देखिएका, दिनभर माईतीघरमा भारतविरुध्द चर्का नारा लाउने केही  नेपालीहरु समेत वेलुका घर पुगी टिकटक र फेसबुक जस्ता सामाजिक संजालमा हिन्दि गीतमै चटक देखाइरहेका भेटिन्छन् । मानौ नेपाली गीत नै छैनन् ।

हाम्रो घरभित्रको अवस्था के छ ? 

आजको समयमा २ वर्ष देखि १० वर्षसम्मका बच्चाहरु हिन्दी कार्टुन अत्यधिक मात्रामा हेर्दछन् । फलस्वरूप उनीहरु हिन्दी बोल्न पोख्त भैसकेका हुन्छन् तर नेपाली बोल्न जान्दैनन् । कतिपय सभ्य देखिने अभिभावकले पनि ‘अंग्रेजी बोले भैहाल्यो नि किन नेपाली जान्नुपर्यो’ भन्ने जवाफ दिन्छन् ।

त्यसैगरि नेपालमा ठूलो संख्याका गृहिणीहरु दिनभर हिन्दी सिरियल हेरेर समय विताउँछन् । उनीहरुलाई सिरियलको यति बिधि नशा लाग्छ कि एकजना मेरा सहकर्मीले आफ्नो श्रीमतीको बारेमा मलाई बताएका केहि कुराले त्यो नशाको गहिराही अनुमान लाउन सकिन्छ । उनी भन्छन् ‘बेलुका घरपुग्दा श्रीमतीको मुख हँसिलो छ भने उनको मनपर्ने सिरियलमा हिरो बाँच्यो भनेर बुझ्नुपर्दछ । उनको मुख अँध्यारो छ भने हिरो मरेछ भनेर बुझ्नु पर्दछ । एकपटक उनको मनपर्ने हिरो मर्दा करिव ३ हप्ता श्रीमतीको अनुहारमा मुस्कान देख्न नसकेको ती मित्र बताउँछन् । साथै पहिले जोसँग पनि मिल्ने असल स्वभावकी उनी हिन्दी सिरियल हेर्न थालेपछि परिवारमा षड्यन्त्र र झैंझगडा सुरु गरिन्, फलत हाल उनको परिवार आमाबुवा र दाजुभाईसँग छुट्टिएर एक्लै बस्न थालेको ती मित्रको गुनासो छ ।

बाबु कामको व्यस्ततामा, आमा सामाजिक संजाल र हिन्दी सिरियलको लतमा फस्दा छोराछोरी ड्रग्सको कुलतमा फसेको पत्तै नपाइएका घटनाहरु बढिरहेका  छन् ।

 युवाहरुको विदेशमोहले कस्तो प्रभाव पारेको छ ?

हाम्रा युवाहरु आफ्नो देशमा रोजगारी नभएको भन्दै खेतबारी बाँझो छोडेर काम गर्न भारत तथा खाडी मुलुक जान्छन् । कतिपय नेपाली उता पुगेर पनि काम भने खेतबारीकै गरिरहेका हुन्छन् । भारत जाने धेरै नेपाली घरमा खाना बनाउने, कपडा धुने, सरसफाई गर्ने र भाँडा मोल्ने काम गर्दछन् । धेरैले सुरक्षा गार्ड गरिरहेका भेटिन्छन् । सामान्य पारिश्रमिकमै जस्तो कामपनि गरिदिने कारण भारतीयहरु नेपालीलाई ‘बहादुर’, ‘चौकीदार’ आदि नामले बोलाउने र नेपालमा खानै नपाएर आयको जस्तो हेपाहा व्यवहार गर्ने गर्दछन्। 

 विभिन्न अध्ययनहरुले नेपालले वार्षिक सबै देशहरुबाट करिब ९ खर्व रकम रेमिट्यान्सको रुपमा भित्र्याउने र करिब ४ खर्व रकम रेमिट्यान्सको रुपमा भारत पठाउने गरेको तथ्य देखाएका छन् । जवकि भारतबाट नेपाल भित्रिने रेमिट्यान्स १ खर्व २५ अर्व मात्र छ । अब भारत नेपाललाई रोजगारी दिने मुलुक मानौ कि नेपाल भारतलाई रोजगारी दिने मुलुक ठानौ ? हामी आफैसँग रोजगारी रहेको कुरा तथ्यले देखाइसके । नेपाली युवाहरु भारत र वेलायती सेनामा भर्ती हुनजाने प्रवृतिको पनि अब वहस र पुनर्विचार गर्नुपर्ने भैसकेको छ । हामीसँग वास्तविक तथ्य एउटा छ तर यहाँ ‘भारतबिना नेपाल रहनै सक्दैन’ भन्ने खालका भ्रम छरिएका छन् । यी सबै कार्य भारतले नियोजित रुपमा नेपाली मानसिकता ‘भारत परस्त’ बनाउन अनवरत संचालन गर्दै आएको छ तर हामीलाई त्यसको हेक्का छैन ।

वौद्धिक व्यक्तिहरु के भन्छन् ?

नेपालमा भारतीय गीतसंगीत र कला हावीभएको प्रसङ्ग उठाउँदा धेरै वौद्धिक व्यक्तित्वहरुको समेत बनिबनाऊ  उत्तर हुन्छ ’कला र संगीतको कुनै देश हुँदैन ।’ ठीक छ उनीहरुको विचारलाई  सम्मान गर्नुपर्दछ । कला, साहित्य र संगीतलाई देश, भूगोल, जाती, वर्ग आदिको साँघुरो घेराभित्र राख्नु हुँदैन । यसको रोजाई नितान्त व्यक्तिगत हो र हुनुपर्दछ ।

त्यसका विपरित अर्को सत्य यो पनि हो कि आफ्नो देशको कलासंस्कृतिलाई सधैं ओझेलमा पार्न मिल्दैन । हामीले ओझेलमा पारेको कुरा, भोलिको पुस्ताले  देख्दै नदेख्ने हुँदा यो विस्तारै लोप भएर जान्छ । हामीले  बिदेशीको कला संस्कृतिको सिको गर्नु गर्वको विषय हुनै सक्दैन बरु एकजनामात्र विदेशीलाई आफ्नो कला संस्कृति सिकाउन सक्यौं भने त्यो गर्वको बिषय हो । अव पनि बुद्धिजीवीहरुले बनिबनाऊ उत्तर दिएर पुग्दैन, उहाँहरुले नयाँ उत्तर खोज्ने बेला आएको छ ।

अव त आँखा खोल्ने कि ?

यी तथ्यहरुबाट हामीले जानी नजानी गरेका गल्तीहरुलाई सुधार्न जरुरी छ । आफ्नो देशमा काम गर्न लाज लाग्ने तर त्यहि काम विदेशमा भए गर्न हुने हाम्रो पहिलो गल्ती हो । स्वाभिमानी नेपाली भन्ने शब्दलाई न्याय गर्न पनी अब युवाहरुले यो बानी त्याग्नुपर्छ । आफ्नै देशमा आफ्नै परिवारसँग आत्मसम्मानकासाथ कमाएको २५ हजार विदेशमा कमाएको ५० हजार भन्दा ठूलो हो, आफ्नो हो । युवाहरु स्वदेशमै काम गर्न थाले भने मात्र देश आत्मनिर्भर हुन्छ । देशमा कोरोना पनि भित्रिदैन, विभिन्न बिकृति पनि भित्रिदैन । यता बैदेशिक रोजगारीले बढ्दो सम्वन्ध विच्छेदका मुद्दाहरुको संख्यामा पनि कमि आउँछ । सबै भन्दा ठूलो कुरा त देश कम्तिमा कृषिजन्य पदार्थमा आत्मनिर्भर हुन्छ । भोलि भारतले नाकावन्दी लगाउँदा पनि कुनै फरक पर्दैन। 

हाम्रो कलासंस्कृति पछि पर्नुको कारण गुणस्तरमा कमि पनि हो भनेपनि त्यसको भागिदार हामी नै हौँ ।  हामी त अप्रत्यक्ष रुपमा बिदेशी कलासंगीतको संरक्षण र प्रवर्धन गरिरहेका छौं । अर्थशास्त्रको सोझो सिद्धान्त हो ‘जुन वस्तु तथा सेवाको प्रयोगकर्ता बढी हुन्छन् त्यसको बजार बलियो हुन्छ ।’ बजार बलियो भएपछि गुणस्तर पनि उच्च हुन्छ प्रवर्धन पनि पुग्दो स्तरमा गरिन्छ । नेपाली गीतसंगीत वा चलचित्रको गुणस्तर कमि हुनुमा हामी पनि नैतिक रुपले जिम्मेवार छौं । हामीले त्यागे कसले सम्हाल्ला यो प्यारो कला संस्कृति ? हामी गम्भीर हुनुपर्ने वेला आएको छ । 

कुनैपनि विदेशी कलासंस्कृति प्रयोग गर्दै नगरांै भन्नु आजको युगमा मुर्खता होला तर प्रथामिकतामा आफ्ना चिजहरु राख्नु एक जिम्मेवार नागरिकको कर्तव्य हो । संसार विश्वीकरण भैरहेको छ भन्दैमा हामी स्थानिय विषयलाई अलपत्र छोडेर विश्वीकृत हुनु मूर्खता हो । खोक्रो आधुनिकता हो । ठूला देशहरुले पहिले आफ्ना घरेलु मूल्य र मान्यतालाई बलियो बनाई त्यसैलाई विश्वीकृत गरिरहेका छन् । हामी भने आफ्नो बच्चा भुर्इँमा लडाएर विदेशीको हिस्सी परेको सफा बच्चो काखमा खेलाइरहेका छौं ।

हामीलाई अरुका कलासंस्कृति खोजेर, चोरेर, टालेर, गाँसेर प्रयोग गर्न जरुरी पनि छैन । यति सानो मुलुकमा एकसय भन्दा बढी जातजाती, भाषाभाषी, चाडपर्व र रहनसहन छन् । नेपाली भाषा, नेवारी भाषा, थारु भाषा, मैथली भाषा, गुरुङ भाषा , मगर भाषा आदी। तिनको भरपुर प्रयोग गरौँ । तिनको संरक्षण गरौँ । कम्तिमा सार्वजनिक स्थलहरु भारतमय होइन, नेपालमय देखिन जरुरी छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

विदुर-२, विदुर, नुवाकोट
फोन: ०१०५६००००
इमेल: mail@rajatimes.com
सुचना बिभाग दर्ता नं. ०००/०७७–७८

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल