काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले नवर्निर्मित धरहराको उद्घाटन गरेका छन् । शनिबार एक समारोहका बीच नवर्निर्मित धरहराको प्रवेशद्वारमा राखिएको शिलालेखको अनावरण गरेर प्रधानमन्त्रीले धरहराको उद्घाटन गरेका हुन् । त्यसपछि प्रधानमन्त्रीले लिफ्टबाट धरहराको २० औं तलामा पुगेर पुष्पवृष्टि गरेका थिए ।
२०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त भएको धरहरा निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ फागुन ४ गते ’मेरो धरहरा मै बनाउँछु’ अभियानको घोषणा गरेका थिए । २०७५ साल पुस ५ गते प्रधानमन्त्री ओलीबाट नै शिलान्यास गरिएको नवर्निर्मित धरहराको प्रधानमन्त्री ओलीबाट नै उद्घाटन भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा नवनिर्मित धरहराका लागि ३ अर्ब ४८ करोड रुपैयाँमा ठेक्का दिइएको थियो । धरहराको २२ औं तलामा पुरानो धरहराबाट निकालिएको पुरानो शिवलिंग राखिएको छ ।
१९९० सालको भूकम्पले क्षति पुर्याएपछि ११ तल्ले धरहरा ९ तलामा सिमिति भएको थियो । त्यसपछि राणा प्रधानमन्त्री जुद्धशमसेरको पालामा ९ तल्लामा नै सिमिति राखेर पुनर्निर्माण गरिएको थियो । तर अहिलेको धरहरा बाहिरबाट देखिंदा ११ तले रहेपनि भित्र २२ तला रहेको छ । त्यसमा २ वटा लिफ्ट राखिएको छ । जमिनमुनि २ तला बनाइएको छ । ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहराको वरपर विश्रामस्थल सहितको बगैंचाको हुनेछ भने संक्षित ऐतिहासिक सुन्धारामा २४ सै घण्टा पानी आउने व्यवस्था मिलाइएको छ । त्यसैगरी ४ सय गाडी र ७ सय मोटरसाइकल पार्किङको व्यवस्था गरिने छ ।अहिले निर्मित धरहरामा पुरानो मौलिकता हटाइएको स्थानीय बुढापाकाको भनाई छ ।

धरहराको इतिहास
१८८१ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले लगनटोलमा आफ्नो नाममा धरहरा निर्माण गराएका थिए । जसको नाम भिमसेन स्तम्भ रहेको थियो । १८८२ सालमा महारानी ललिता त्रिपुरासुन्दरीको आदेशमा भीमसेन थापाले सुन्धारामा अर्को ६१ दशमलव ८८ मिटर अग्लो ११ तले धरहरा बनाउन लगाए । जुन धरहरा १८९० सालमा भत्किएपछि लगनटोलको धरहराको जीर्णोद्वार भयो ।
१९१३ सालमा चट्याङ परेर भत्केपछि १९२३ सालमा पुनः जीर्णोद्वार गरिएको थियो । त्यसपछि १९९० माघ २ आएको महाभूकम्पले धरहरा भत्किएपछि तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेर राणाले पुनर्निर्माण गराएका थिए ।धरहरा त्यतिबेला जनतालाई विभिन्न सूचना दिन बनाइएको इतिहासमा उल्लेख छ ।
२०७२ बैशाख १२ गतेको महाभूकम्पबाट धरहरा पूर्णरुपमा क्षति भएको थियो । जुन भत्किएको धरहराको फेदलाई अहिले जस्ता पाता ओढाएर संरक्षण गरेर राखिएको छ ।
२०७२ सालको भूकम्पमा धरहरा चढेका र धरहराको छेउबाट यात्रा गरिरहेका ६० जनाले अकालमा मृत्यु भएको थियो । धरहरा भत्कँदा अन्य कैयौ घाइते तथा अंगभंग भएका थिए ।

साभारःविभिन्न पत्रपत्रिकाबाट

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल