काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचनको घोषणा गरेकी छिन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन र आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचनको शुक्रबार राति घोषणा गरेकी हुन् । राष्ट्रपति कार्यालयले राति विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटन र मध्यवधि निर्वाचन दुई चरणमा तोकेको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (७) बमोजिम वर्तमान प्रतिनिधि सभा विघटन गर्न गरेकी छिन् भने अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन ०७८ साल मङ्सीर ३ गते शुक्रबार निर्वाचन सम्पन्न हुने गरी तोकिएको हो ।

शुक्रबार मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको निर्वाचन तोकिएको छ ।

सरकार गठन गर्न
राष्ट्रपति भण्डारीले शुक्रबार राति सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने निर्णय गरेकी थिइन् । राष्ट्रपतिको निर्णयपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्दै नया“ चुनावको मिति तोकेका हुन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको यो दोस्रो पटक हो । यसअघि गत पुस ५ गते ओलीले प्रतिनिधिसभा विघटन गर्दै चुनावको मिति तोकेका थिए ।
तर फागुन ११ गते सर्वोच्च अदालतले प्रम ओलीको कदम असंवैधानिक भएको ठहर गर्दै प्रतिनिधिसभा पुनःस्थापना गरिदिएको थियो ।

प्रम केपी शर्मा ओलीले बिहीबार मौजुदा सरकारलाई विश्वासको मत प्राप्त हुने दह्रो राजनीतिक आधार नदेखिएको जनाउ“दै सरकार निर्माणका लागि राष्ट्रपतिलाई धारा ७६ (५) अन्तर्गतको प्रक्रिया अघि बढाउन अनुरोध गरेका थिए । त्यसै अनुरोध बमोजिम राष्ट्रपति भण्डारीले दलहरुलाई सरकार गठनका लागि आव्हान गरेकी थिइन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, नेकपा एमाले माधव नेपाल समूहका २६, जसपा उपेन्द्र यादव र बाबुराम भट्टराई समूहका १२ र जनमोर्चाका १ गरी १४९ जना सांसदको समर्थन रहेको दाबी गरेका थिए ।
त्यसैगरी ओलीले पनि एमालेका १२१ र जसपाका ३२ सांसद गरी आफूलाई १५३ सांसदको समर्थन रहेको दाबी राष्ट्रपतिसमक्ष पेस गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल