काठमाडौँ — स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी माथि कुटपिट गर्नेलाई तीन वर्षसम्म कैद र तीन लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ ।

राष्ट्रपतिले आइतबार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संसोधन) अध्यादेश, २०७८ जनाइएको छ ।
अध्यादेश अनुसार स्वास्थ्य संस्थामा आगजनी गरेको खण्डमा भने ५ वर्ष कैद र ५ लाख रुपैयाँ वा दुवै हुन सक्ने छ । अब स्वास्थ्य संस्था घेराउ गरे पनि एक वर्षसम्म कैद वा एक लाख जरिवाना वा दुवै सजाय हुन सक्छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेको अध्यादेशमा अस्पतालका साथै संक्रामक रोगको निदान र उपचारका लागि सञ्चालित होल्डिङ सेन्टर, क्वारेन्टाइन, आइसोलेसनलाई समेत स्वास्थ्य संस्थामा राखिएको छ ।

पछिल्लो समय कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि देशका विभिन्न भागमा आक्रमणको घटना बढेको थियो । केही दिनअघि कोरोनाको दोस्रो लहरको क्षेत्र बनेको नेपालगञ्जको भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण भएलगत्तै सरकारलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न दबाब बढेको थियो ।
यो अध्यादेशअनुसार कसैले पनि स्वास्थ्य उपचारको विषयलाई लिएर स्वास्थ्य संस्थामा आगजनी÷तोडफोड गरे पुर्पक्षका लागि थुनामा समेत पठाउन सक्ने छ ।

अध्यादेशले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धमा समन्वयात्मक रुपले काम गर्न स्वास्थ्य मन्त्रालयका बाह्रौं तहका कर्मचारीको अध्यक्षतामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति गठन गर्ने व्यवस्था गरेको छ । समितिमा गृह मन्त्रालय, नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ परिषद्, नेपाल चिकित्सक संघ, नेपाल स्वास्थ्य प्राविधिक संघ, नेपाल आयुर्वेद चिकित्सक संघ, नेपाल नर्सिङ संघका साथै निजी अस्पतालहरुको छाता संगठन अफिनका प्रतिनिधि सदस्य रहनेछन् ।

अध्यादेशको नेपाल चिकित्सक संघले स्वागत गरेको छ । संघले यसको कार्यान्वयन र यसमा रहेका कमिकमजोरीलाई परिमार्जन गर्दै संसदबाट मूल ऐन बनाउने अभियानमा सबैको सहयोगको अपेक्षा राखेको छ । पछिल्लोपटक चिकित्सक संघले सरकारलाई कानुन संसोधन गर्न सात दिने अल्टिमेटम दिएको थियो । संघले यसलाई सम्पूर्ण चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धिका रुपमा लिएको बताएको छ ।
साभारः कान्तिपुरबाट

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल