काठमाडौ–गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य कृष्णचन्द्र पोखरेल नेपाली गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भई शपथ ग्रहण गरेका छन् । सरकारी निवासमा आयोजित समारोहमा नेपालीलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गराइन् ।
प्रदेश प्रमुख पौडेलले शनिबार नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्।

मुख्यमन्त्रीसँगै नेपाली कांग्रेसका कुमार खड्का, नेकपा (माओवादी केन्द्र)की मधुमाया अधिकारी, जनता समाजवादी पार्टी नेपालका हरिशरण आचार्य र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गे) ले विना विभागीय मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।

काे हुन् मुख्यमन्त्री पाेखरेल

गण्डकी प्रदेशसभामा नेपाली काँग्रेसको संसदीय दलका नेता हुन् । उनी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको २०७४ सालमा भएको ऐतिहासिक पहिलो प्रदेशसभा निर्वाचनमा गण्डकी प्रदेश अन्तरगतको नवलपरासी पूर्व १ (क) बाट निर्वाचित भएका थिए ।
७१ वर्षीय नेता पोखरेलको राजनीतिक पृष्ठभूमिकै परिवारमा जन्म र हुर्किएका थिए । उनका बुवा प्रजातन्त्र सेनानी गोवर्द्धन शर्मा हुन् । गोवर्द्धन शर्मा नेपाली काँग्रेसको केन्द्रीय सदस्य पनि थिए । पोखरेल २००६ साल मंसिर १३ गते तनहुँको तनहुँसुरमा जन्मेका हुन् ।

उनको विद्यार्थी राजनीति तनहुँबाटै सुरु भएको हो । प्रजातान्त्रिक समाजवादलाई शिरमा राखेर जनपक्षीय राजनीतिमा क्रियाशील उनी निष्ठा र त्यागी नेताको रुपमा चिनिन्छन् । २०२८ सालमा नेपाली काँग्रेसको जिल्ला सदस्य बनेका कृष्णचन्द्र नेपाली पोखरेल आन्दोलनकै क्रममा ६ पटकभन्दा बढी जेल परेका छन् । नेपाली कांग्रेस तनहुँ जिल्ला सदस्य समेत बनेका पोखरेल २ विषयका स्नातक हुन् । उनले भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका छन् ।

प्रारम्भिक शिक्षा तनहुँको धरमपानीको स्थानीय विद्यालयबाट पूरा गरेका उनी माध्यमिक शिक्षा पढ्न भारत पुगेका थिए । उनले माध्यमिक शिक्षा विहारको नरकटियागन्जबाट पूरा गरेका थिए । दरभंगाबाट मानविकीमा स्नातक गरेर नेपाल फर्किएका थिए । पछि कानुनमा त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका हुन् ।

२०२२ देखि २०२८ सालसम्म उनले पिता स्वयं. गोवर्द्धन शर्माका साथ भारतमा निर्वासित जीवन बिताएका थिए । राजनीतिक जीवन सँगसँगै उनले लामो समय काभ्रेको फलानटे, तनहुँको दमौली र तनहुँको थर्पुका हाइस्कुलमा राजनीतिशास्त्र, भूगोल, इतिहास पढाएका थिए ।

२०३६ सालको जनमतसंग्रहमा बहुदलको प्रचारमा सक्रिय भई नेपाली काँग्रेसलाई विजयी गराएको आरोपमा मन्त्रिपरिषद्को निर्णयले उनलाई जुम्ला सरुवा गर्ने निर्णय गरेको थियो । २०३६ सालमा पञ्चायती दमन र शारीरिक यातनापछि बाध्य भएर उनले शिक्षण पेसा परित्याग गरेका थिए ।

२०३५ सालको विद्यार्थी आन्दोलनमा उनी कास्की कारागारमा दुईपटक गरेर ५ महिना जेलजीवन बिताएका थिए । त्यसअघि २०३७ सालको जनमतसंग्रहको क्रममा ८ महिना उनी कास्की कारागारमै बसेका थिए । २०३८ सालको निर्वाचनको क्रममा प्रहरीबाट यातनासँगै २ महिना जेल चलान भए ।

देशमा बहुदलीय व्यवस्था माग्दै २०४२ सालमा नेपाली कांग्रेसले आयोजना गरेको सत्याग्रहमा नेता पोखरेल नवलपुरबाट सत्याग्रहमा सक्रिय भएका थिए । सत्याग्रहमा सरिक भएको आरोप उनी कपिलवस्तु कारागारमा १ वर्ष जेल चलान भएका थिए ।

नेता पोखरेल २०४६ सालको जनआन्दोलनमा ९ महिना पाल्पा जेल बसेका थिए । २०४८ को अधिवेशनपछि उनी लगातार ४ कार्यकाल कांग्रेस नवलपरासीको सभापति बनेका थिए।

२०४८ सालको आम निर्वाचनमा उनी नवलपरासी क्षेत्र नम्बर ३ बाट उम्मेदवार थिए । २०६२÷६३ सालको जनआन्दोलनमा उनले नवलपुरको नेतृत्व गरे । त्यो बेला पनि परासी कारागार चलान भए । काँग्रेसको १२ औँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बने ।

२०७० सालको संविधानसभा चुनावमा ३ सय २५ मतले पराजित भए । उनले त्यतिबेला नवलपरासी क्षेत्र नम्बर ३ बाट चुनाव लडेका थिए । संघीयता कार्यान्वयनपछिको पहिलो चुनाव (२०७४) मा उनी प्रदेश सभा सदस्यका लागि पूर्वी नवलपरासी १ (क) बाट निर्वाचनमा होमिएका थिए । निर्वाचनमा एमाले माओवादी गठबन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित गरी पोखरेल गण्डकी प्रदेशसभा सदस्य बन्न सफल भएका थिए ।

प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी काँग्रेसका १५ सांसद छन् । एमाले माओवादी गठवन्धनको बहुमत आएसँगै कांग्रेस संख्याका आधारमा प्रमुख प्रतिपक्षी दल बनेको थियो । उनी प्रमुख प्रतिपक्षी संसदीय दलको नेतामा चुनिएका थिए ।

नेता पोखरेल नेपाल बार एशोसिएसनका सदस्य समेत रहेका छन् । जनपक्षीय कानुनी सेवामा समर्पित उनको प्रयासबाट धेरै प्रजातन्त्रवादी राजबन्दीहरू जेलबाट छुटेका थिए ।
साभारः रातोपाटी

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल