काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकमा देउवाले राखेको विश्वासको मतको पक्षमा बहुमत परेको सभामुख अग्नी सापकोटाले घोषणा गरेका हुन् ।

देउवाको पक्षमा १६५ मत र विपक्षमा ८३ मत परेको छ । १ मत तटस्थ रहेको छ । प्रधानमन्त्री देउवालाई १३६ विश्वासको मत चाहिनेमा २९ मत बढी पाएका थिए । संसदमा २७१ सांसद छन् । आइतबार २४९ खसेको थियो । २१ सांसद अनुपस्थित रहे । प्रधानमन्त्री देउवालाई कांग्रेस, माओवादी केन्द्र, जसपा, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र जनमोर्चाका सांसदहरुले मत दिएका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका केही सांसदले समेत देउवालाई मत दिएका थिए ।
विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना भएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । देउवा २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र संसद्मा विश्वासको मत लिनुपर्ने प्रावधान छ । सोही प्रावधानअनुसार देउवाले आइतबार विश्वासको मत लिएका हुन् ।

ठाकुर–यादव दुवै पक्षले देउवालाई मत दिएका थिए ।
देउवाको पक्षमा रिट निवेदनमा जसपाका यादव पक्षका १२ जना सांसदले हस्ताक्षर गरेका थिए ।
यसअघि महन्थ ठाकुर पक्ष केपी ओलीको सरकारलाई साथ दिँदै सरकारमा सहभागी भएको थियो।
देउवाले नेता ठाकुरलाई पत्र पठाउँदै विश्वासको मत दिन आग्रह गरेपछि ठाकुर पक्षले मत दिने सहमत भएको थियो ।

विश्वासको मत सम्बन्धमा भएको छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन नगरी प्रदीप ज्ञवालीलाई आफ्नो धारणा राख्न लगाएका थिए ।
मतदान प्रक्रियाका सुरु हुने बेलामा ओली संसद् भवन प्रवेश गरेका थिए ।
ओलीले सम्बोधन नगरेकोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले असन्तुष्टि जनाएका थिए ।

भारतीय प्रधानमन्त्री मोदीले दिए देउवालाई बधाई
प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत हासिल गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । प्रधानमन्त्री देउवालाई बधाई दिँदै कार्यकालका लागि शुभकामना दिएका छन्।

उनले नेपाल र भारतबीचका सबै क्षेत्रमा अद्वितीय साझेदारी बृद्धि गर्न र जनताबीचको गहिरो सम्बन्ध सुदृढ गर्न देउवासँग काम गर्न चाहेको उल्लेख गरेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल