काठमाडौं– प्रदेश २ को महोत्तरी जिल्लामा सरोकारवाला निकायको बेवास्ताका कारण महोत्तरी जिल्लाको एक विद्यालय विगत ३४ वर्षदेखि एउटै शिक्षकका भरमा संचालन हुदै आएके छ । गरिब, विपन्न र दलित विद्यार्थी मात्रै पढ्ने जिल्लाको मनरासिस्वा नगरपालिका वडा नम्बर ९ मधवा गाउँस्थित हनुमानदत्त विश्वनाथ जनता प्राथमिक विद्यालय सम्बन्धित निकायको उदासिनताका कारण विगत ३४ वर्षदेखि एउटै शिक्षकका भरमा हुँदै आएको हो।
यो विद्यालय महोत्तरी जिल्लाको केन्द्रविन्दु मानिएको निर्वाचन क्षेत्र नं ३ मा अवस्थित छ। यहाँबाट सङ्घीय सांसदमा र प्रदेश सभासदस्यमा निर्वाचित भएका नेताको दृष्टि पनि अहिलेसम्म त्यस स्कुलमा पुग्न सकेको छैन। नेपाल भारतको दशगजा क्षेत्रको १० मिटर मात्रै उत्तर किनारामा मुसहर बस्तीको छेउमै अवस्थित सो विद्यालयमा अहिले पनि बाल कक्षादेखि ५ कक्षासम्म एउटै शिक्षकले धानिरहेका छन्। आफै प्रधानाध्यापक, आफै कक्षा शिक्षक र आफै कार्यालय सहयोगीसमेत भएर २०४४ सालदेखि नै सो विद्यालयमा बालबालिकालाई आफूले पढाउँदै आएको प्रधानाध्यापक रामयाद राउतले बताए ।
विसं २०१० मा स्थापित त्यस क्षेत्रकै पहिलो विद्यालय अहिले देशमा तीन तहको सरकार भएपनि कसैको नजरमा पर्न सकेको छैन। सरकारी निकाय वा पादाधिकारीको उदासिनता र बेवास्ताका कारण अहिले भौतिकरुपमा पनि विद्यालय जीर्ण भइसकेको छ।
भवन, कक्षाकोठा, शौचालय र खानेपानीको अभावमा खुला आकाशमुनि वर्षौंदेखि ससाना बालबालिका अध्ययन गर्न बाध्य छन्। प्रअ राउतले यस्तै परिस्थितिमा पनि पठनपाठन गराउन आफू विवश रहेको दुखेसो व्यक्त गरे।
विद्यालयको बाल कक्षामा २०, १ मा ६१, २ मा ७४, ३ मा ५३, ४ मा ५५ र ५ कक्षामा ६९ गरी जम्मा ३३३ छात्रछात्रा अध्ययनरत छन्। देशमा राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि तीन तहको सरकार स्थापना भएको छ भने गाउँपालिका, नगरपालिका क्षेत्रभित्र रहेका विद्यालय स्थानीय तहको मातहतमा आएको अवस्था छ तर यस विद्यालयको दुःख पीडा बुझ्ने र जीर्णोद्धार वा पुनःनिर्माणका लागि हिजो पनि कोही थिएन र आज पनि कोही नभएको उनको गुनासो थियो।

विद्यालयमा स्थापनाकालमै निर्मित पुरानो जीर्ण तीन वटा कोठा मात्रै रहेको ती कोठामा प्रअ राउतले कक्षा र कार्यालय सञ्चालन गर्नाका साथै अहिले सरकारले बालबालिकाका लागि व्यवस्था गरेको खाजा पकाउने काम समेत हुँदै आएको छ।

विद्यार्थीको चापले गर्दा पठनपाठनमा व्यवधान, कार्यालय सञ्चालनमा समस्या र खाजा पकाउने काममा समेत बाधा हुने भएपछि त्यहाँ अध्ययनरत ७० प्रतिशत विद्यार्थीलाई कोठा बाहिर बनाइएको चिसो बरण्डामा बसाएर पढाउनुपर्ने बाध्यता छ। करिब पाँच कठ्ठा क्षेत्रफल रहेको उक्त विद्यालयमा आवश्यक कक्षाकोठा र शौचालय बनाउन र खानेपानीलगायत सबै सुविधा उपलब्ध गराउन पर्याप्त जमिन रहे पनि कसैले चासो नदेखाउँदा विद्यालय टुहुरोजस्तो बनेको स्थानीय बृद्ध बुधवा सदाले बताए।

भौतिक पूर्वाधार र शिक्षकको अभावमा ससाना बालबालिकाको उज्ज्वलका लागि तल्लिन प्रअ राउतले विद्यालयमा तत्काल छ वटा कक्षाकोठा, एउटा कार्यालय र एउटा खाजा बनाउने कोठाका साथै बालमैत्री शौचालय र खानेपानीको आवश्यकता रहेको औँल्याए। उनले आफूले विद्यालयमा तत्काल अतिआवश्यक पूर्वाधार र कक्षानुसारको जनशक्ति उपलब्ध गराइदिन जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित शिक्षा समन्वय इकाइ र नगरपालिकामा समेतमा पटक पटक लिखित र मौखिक आग्रह अनुरोध गरे पनि कतैबाट कुनै सहयोग प्राप्त नभएको सुनाए।

उक्त विद्यालयमा आसमान नेपाल नामक गैरसरकारी संस्थाले दुई कोठे भवन बनाउन लगाएर अधुरै छाडेर भागेको अवस्था छ। पहिलो पटक त्यस क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित रानीकुमारी तिवारीको संसदीय कोषबाट सोही विद्यालयमा निर्माण गर्न लागिएको सो दुई कोठे भवन पनि अधुरै छ।
आफ्ना बालबालिकालाई ठूलठूला र महँगा निजी विद्यालयमा पठाउने जनप्रतिनिधिले गरिब, विपन्न र दलितका छोराछोरी पढ्ने यस विद्यालयमा लगानी नगरेर बढीभन्दा बढी कमिशनको पाउने लोभमा मठ, मन्दिर, मस्जिद, सामुदायिक भवन र पोखरीको सौन्दर्यजस्ता भोट आउने क्षेत्र तथा कार्यकर्ता पाल्ने योजनामा मात्रै लगानी गर्ने गरेकाले विद्यालयको यो अवस्था भएको स्थानीय अभिभावकको आरोप छ।

विद्यालयलको दुरावस्थाबारे नगरपालिकाका उपप्रमुख रमिता प्रधानले आफूहरुलाई पहिले सो विद्यालयबारे केही थाहा नभएको र अहिले योजनासमेत बाँडिसकेको हुँदा तत्काल केही गर्न नसक्ने बताइन्। उनले यस्ता कार्यक्रमका लागि प्रदेश र सङ्घको आर्थिक सहयोगको आवश्यकता भएको उल्लेख गरिन्।

साभारःरासस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

विदुर-२, विदुर, नुवाकोट
फोन: ०१०५६००००
इमेल: mail@rajatimes.com
सुचना बिभाग दर्ता नं. ०००/०७७–७८

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल