काठमाडौं– नेपालअधिराज्यभर मकर संक्रान्ति पर्व मनाइदैं छ । शास्त्रीय कथन अनुसार सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिनलाई सङ्क्रान्ति अर्थात १ माघलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ ।
मकर स्नान
शनिबारबाटै उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले शनिबार देवघाट, त्रिशुली, वाग्मती, कालीगण्डकी, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लागेको छ ।
त्यसैगरी शनिबार काभ्रेको पुरानो सहर पनौतीमा १२ वर्षे मेला लागेको छ । कोरोनाका कारण स्थानीय प्रशासनले भेला र मेलालाई रोक लगाएपछि टाढाबाट पनौती मेला भर्न जानेहरु गएका छैनन् । त्यहा“ स्नान गरेर ईन्द्रेश्वर महादेवको पूजा गर्नाले जीवनमा गरेका पाप मुक्त भई पुष्य प्राप्ति हुने जनविश्वास रहिएको छ ।
तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । तराईमा थारु समुदायले नया“ वर्षको रुपमा यही माघे संक्रान्तिलाई माघी पर्व भव्यरुपमा मनाउँछन् ।
माघे संक्रान्तिमा स्नान गरी खाने चिज
बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी खाने, दान गर्ने, जलाशयमा गई स्नान गर्ने, व्यक्ति जीवनभर निरोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए । उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ ।
स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जन विश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो बचाउछ । यी खानाले त्रिदोष नाश हुने आयुर्वेदका चिकित्सकको भनाइ रहेको छ ।
तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने प्रचलन अद्यपी छ । यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानको रुपमा चल्दै आएको छ । माघे संक्रान्तिका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने जनविश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ ।
महाभारत युद्धमा मृत्यु शैयामा पुगेका भीष्मले ईच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए । शनिबारका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लागेको छ ।
माघ महिनामा माघमाहात्म्यको पनि ठूलो महत्व छ । स्कन्द पुराणको माघ माहात्म्य अन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि सुरु हुन्छ । यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ ।
यस वर्ष माघ ३ गतेदेखि श्री स्वस्थानी व्रतकथा सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यो व्रत गर्नेले चान्द्रमास अनुसार माघ महीनाभर स्नान गरी नित्य मध्याह्नकालमा श्रीमहादेवको पूजा आराधना गर्छन् ।
साभारः खुल्ला नेपाल
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !