काठमाडौं–रुसले युक्रेनका विभिन्न सहरमा आक्रमण सुरु गरेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको तीनवटै सेनाका निकायलाई आक्रमण गर्न आदेश दिएका हुन् । रुसी सेनाले आदेशसँगै जल, स्थल र हवाई आक्रमण थालेका छन् ।

आक्रमणबाट ज्यान जोगाउन हजारौं स्थानीयले थातथलो छाडेका छन् । कतिपय रेलको मेट्रो स्टेसनमा बास बसिरहेका छन् । युक्रेनले अमेरिकी नेतृत्वमा रहेको नाटोको सदस्यता लिने तयारी गरेपछि रिसाएको रुसले सोमबार राति पूर्वी युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएको थियो । लगत्तै पुटिनले ‘शान्ति स्थापनाका लागि’ भन्दै ती क्षेत्रमा सेना खटाएका थिए । बीबीसीका अनुसार रुसी सेनाले युक्रेनका पूर्व, उत्तर र दक्षिणतर्फबाट आक्रमण सुरु गरेको हो । हवाई सेनाले क्षेप्यास्त्र तथा बम प्रहार गरिरहेको छ ।

युक्रेनको राजधानी किभसहित १२ स्थानलाई लक्षित गर्दै रुसी सेनाले आक्रमण तीव्र पारेको छ । पूर्वी क्षेत्रमा क्षेप्यास्त्र र बम प्रहार गर्दै रुसी हवाई सेना प्यारासुटबाट ओर्लेका थिए । त्यसैगरी बेलारुस र क्रिमियाबाट पनि दर्जनौं ट्यांकसहित रुसी सैनिक युक्रेनी क्षेत्रमा प्रवेश गरेका छन् । रुसी फौजले युक्रेनका पूर्वी क्षेत्र लुहान्स्क, सुकी र चेर्निहिभलाई केन्द्रित गरी आक्रमण गरेको विभिन्न संचारमाध्यमले जनाइएका छन् ।

रुसी आक्रमणबाट बिहीबार साँझसम्म तीन दर्जन सर्वसाधारणको ज्यान गएको बताइएको छ । त्यसमध्ये ६ जनाको राजधानी किभनजिकै ब्रोभारीमा गरिएको हवाई आक्रमणमा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणमा सयौं युक्रेनी सैनिक हताहत भएको बताइएको छ । युक्रेनी अधिकारीले भने आफ्नो ४० सैनिक मारिएको र एक दर्जन घाइते भएको जनाएका छन् । युक्रेनी सेनाले जवाफी कारबाहीमा रुसी सेनातर्फ ठूलो क्षति पुगेको दाबी गरेको छ । युक्रेनले रुसका ५० सैनिक मारिएको दावी गरेको छ । रुसी सेनाका ६ जहाज र एउटा हेलिकोप्टर दनबास क्षेत्रमा खसालेको युक्रेनको दाबी छ । रुसको रक्षा मन्त्रालयले विमान र हेलिकोप्टर खसालिएको दाबीलाई खण्डन गरेको छ । त्यसैगरी पोल्यान्डसँग सीमा जोडिएको पश्चिमी क्षेत्रमा पनि बम प्रहार गरिएको छ । युक्रेनको राजधानी किभका स्थानीय आपत्कालीन संकेत पाएपछि सहर छाडेर बाहिरिन थालेका छन् । उनीहरु मोल्दोभाको सीमा क्षेत्रमा सयौं सवारीसाधन जम्मा भएका छन् । पोल्यान्डले घाइतेको उपचारका लागि बन्दोबस्त गरेको जनाएको छ । उता हंगेरी र स्लोभाकियाले शरणार्थीका लागि खाने, बस्ने प्रबन्ध मिलाएका छन् ।
आक्रमणले कच्चातेल र सुनको मूल्य वृद्धि र सेयर घट्दो
रुसको आक्रमणसँगै तेलको मूल्यमा भारी वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल एक सय डलर पुगेको छ । यो सन् २०१४ यताकै बढी हो । तनावको असरका कारण एसियाली सेयर बजारमा २ देखि ३ प्रतिशतले गिरावट आएको छ । त्यस्तै, सुनको भाउ एक वर्षयताकै उच्च बिन्दुमा पुगेको छ भने अमेरिकी डलर र जापानी येन बलियो देखिएका छन् ।

अमेरिका र अन्य राष्ट्रहरुले आक्रमणको निन्दा

युक्रेनमा रुसले गरेको आक्रमणको अन्तर्राष्ट्रिय समुदायबाट कडा आलोचना एवं निन्दा भइरहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी कदमका लागि विश्वले रुसलाई ‘उत्तरदायी बनाउने’ जनाएका छन् । अमेरिका र साझेदार मुलुकले रुसमाथि कडा प्रतिबन्ध लगाउने बाइडेनले चेतावनी दिएका छन् । त्यसैगरी बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पुटिनले रक्तपात र विध्वंसको बाटो रोजेको प्रतिक्रिया दिएका छन् । रुसी हस्तक्षेप युरोपकै लागि महाविपत्ति भएको उनको भनाइ छ । उनले रुसका प्रमुख बैंक तथा एक सय व्यक्तिहरूमाथि प्रतिबन्धको घोषणा गरेका छन् । राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले लडाइँ रोक्न रुसी राष्ट्रपति पुटिनलाई आग्रह गरेका छन् । युरोपेली संघले रुसमाथि प्रतिबन्ध लगाउने जनाएको छ । उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) का महासचिव जेन्स स्टोल्टनबेर्गले रुसले ‘गैरजिम्मेवार आक्रमण गरेको’ भन्दै निन्दा गरेका छन् । यो अन्तर्राष्ट्रिय कानुनको चरम उल्लंघन हो र युरो–एट्लान्टिक सुरक्षामाथि गम्भीर खतरा रहेको उनले ट्वीटरमा लेखेका छन् । युक्रेन मामिलाबारे चीन तटस्थ देखिएको छ ।

स्रोतः एजेन्सीहरू

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल