काठमाडौं —इतिहासकै ठूलो वित्तीय संकटमा दक्षिण एसियाली मुलुक श्रीलंका फसेको छ ।

कोरोनाको महामारीले उसको अर्थतन्त्र गहिरो संकटमा फसेको हो ।

अहिले श्रीलंकामा वार्षिक परीक्षा संचालन गर्नका लागि प्रश्न प्रत्र छाप्ने कागजन आयात गर्न सकेको छैन । यसले गर्दा श्रीलंकाका ४५ लाख विद्यार्थीको भविष्य अन्योलमा परेको छ । अर्थतन्त्र सुधारको मागको गर्दै राजधानी कोलम्बोमा सरकारविरोधी प्रदर्शन भैरहेका छन् । कागज खरिद गर्न नसक्दा सोमबारदेखि सुरु हुने परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको छ । कागज तथा मसी किन्नका लागि विदेशी मुद्रा नहुँदा विद्यालयले परीक्षा लिन असमर्थ भएको पश्चिमी प्रान्तको शिक्षा विभागले जनाएको छ ।

त्यसैगरी विदेशी मुद्राको अभावका कारण खाद्यान्न, इन्धन र औषधिको चरम अभाव भएको छ । जसका कारण २ करोड २० लाख वासिन्दाको जीवनस्तर दिनानुदिन निकै कष्टकर बन्दै गएको छ । दैनिक उपभोग्य सामान किन्न मानिसहरू घण्टौं लामबद्ध हुनु परेको छ । एकमहिना यता इन्धन किन्न स्थानीयवासिन्दा घंटौ लाइनमा बस्न बाध्य छन् ।

आइतबार इन्धनका लागि पालो पर्खिरहेका २ जनाको अचानक ढलेर मृत्यु भएको श्रीलंकाका अधिकारीहरुले जनाएका छन् । मृतकमध्ये एक जना मधुमेह र मुटुका रोगी थिए । उनी ४ घण्टाभन्दा लामो समय लाममा बस्न बाध्य भएका थिए । सामग्रीको अभाव भएपछि सरकारले कोटा निर्धारण गरेको बताइएको छ ।

किन गहिरियो संकट ?
श्रीलंकाको मुख्य स्रोत पर्यटन हो । सन् २०१९ मा भएको आतंकवादी आक्रमणका कारण पर्यटन उद्योग केही सुस्तायो । सोही वर्षको अन्त्यबाट विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को संक्रमण रोक्न लगाइएको प्रतिबन्धले पर्यटन क्षेत्र थला प¥यो । देशको कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशतभन्दा बढी योगदान पु¥याउने पर्यटन क्षेत्र ठप्पप्रायः भयो । त्यसमा काम गरिरहेका २ लाख ५० हजार जनाले रोजगारी गुमाए ।


श्रीलंकालाई ठूलो विदेशी ऋण भार÷युक्रेन रुस युद्धको प्रभाव
श्रीलंकाको अर्थतन्त्रका लागि सबैभन्दा ठूलो समस्या विदेशी ऋणको भार हो । चीनलगायत देशबाट ऋण लिएर विभिन्न परियोजना निर्माण गरेको श्रीलंकाको अर्थतन्त्र आतंकवादी हमला र कोभिड–१९ को महामारीसँगै संकटमा प¥यो । यसअघि राष्ट्रपति गोटावया राजापाक्षले गत जनवरीमा चीनलाई तिर्नुपर्ने १ करोड डलर ऋणको समयसीमा बढाइदिन आग्रह गरेका थिए । तर त्यसबारे चिनियाँ पक्षले भने कुनै जवाफ दिइसकेको छैन । विदेशी मुद्रा सञ्चितिमा परेको दबाब घटाउन केही महिनाअघि सरकारले गाडी र मलको आयातमा रोक लगाएको थियो । जसका कारण चियालगायत अन्य उत्पादनमा नकारात्मक प्रभाव प¥यो ।

पछिल्लो समय रुसले युक्रेनमाथि गरेको आक्रमणले पनि श्रीलंकाको अर्थतन्त्रमाथि थप समस्या ल्यायो । रुसी आक्रमणसँगै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अकासिएको छ । ऊर्जाका लागि जलविद्युत्सँगै कोइला र डिजेल प्लान्टमा निर्भर श्रीलंकामा यसवर्ष वर्षा कम भयो । जसका कारण विद्युतको उत्पादन घटेपछि कोइला र डिजेलको आयात बढ्यो । तर पछिल्ला दिनमा डिजेल तथा कोइला किन्न नसकेर प्लान्ट बन्द भएपछि लोडसेडिङका कारण उद्योग व्यवसाय प्रभावित भएका छन् ।

श्रीलंकाको पर्यटन तथा उत्पादनमूलक क्षेत्र धराशायी भएपछि कतिपय परियोजना बनाउन लिएको ऋणको वार्षिक किस्ता तिर्न मुस्किल भयो ।

श्रीलंकामाथि चीनको मात्रै ५ अर्ब डलरभन्दा बढी ऋण छ । आर्थिक संकट गहिरिन थालेपछि गतवर्ष श्रीलंकाले चीनसँग थप १ अर्ब डलर ऋण लिएको थियो । यस वर्षभित्र श्रीलंकाले ६ अर्ब ९ करोड डलर घरेलु तथा विदेशी ऋण भुक्तान गर्नुपर्नेछ । एकतिहाइभन्दा बढी ऋण निजी कम्पनीहरूको छ । चीन र जापानको भने करिब २२ प्रतिशत ऋण रहेको जनाइएको छ । तर श्रीलंकासँग हाल २ अर्ब ३ करोड डलरमात्र सञ्चित छ । अर्थतन्त्र ओरालो लाग्दै गए पनि श्रीलंकाले आफ्नो मुद्रालाई अमेरिकी डलरको तुलनामा १५ प्रतिशत अवमूल्यन ग¥यो । मुद्रा अवमूल्यन भएपछि आयातित वस्तुको भाउ निकै महँगिएको छ ।

राजधानी कोलम्बोलगायत मुख्य सहरमा राजनीतिक दल र नागरिक समूहहरूले सरकारविरोधी प्रदर्शनहरू चर्काएका छन् । देशमा आर्थिक संकटकालका लागि जिम्मेवार भन्दै सरकारको राजीनामा माग गरेका छन् । कुनै उपाय नलागेपछि राजापाक्ष सरकारले दुई दिनअघि अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) सँग सहयोगका लागि आग्रह गरेको छ । अब आईएमएफले आवश्यक प्रक्रिया पूरा गरेर श्रीलंकाली अर्थतन्त्र सुधार्न सहयोग गर्ने भए पनि त्यो निकै ढिला भइसकेकाले लामो समयसम्म जनताको जनजीवन निकै कठिन बन्न सक्ने देखिएको छ ।

साभारः एजेन्सीहरु

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल