काठमाडौ – एकमहिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु हुने गरी भड्किएको लेटाङस्थित शिक्षा विकास माध्यमिक विद्यालय विस्तारै लयमा फर्कन थालेको छ ।

गएको चैत ६ गते आइतबार दिउँसो विद्यालय परिसरमा भएको हिंसात्मक घटनापछि बन्द रहेको विद्यालय आइतबारबाट पूर्ण कक्षासहित खुलेको लेटाङ नगरपालिकाका मेयर शंकर राईले जानकारी दिए । कक्षा ८ र १० भने चैत १६ गतेबाटै सञ्चालनमा आएको उनले बताए ।
विद्यालयका शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत छात्रालाई दुव्र्यवहार गरेको आरोपमा हिंसा भड्किएको थियो । विद्यार्थीलाई भयरहित बनाउनेतर्फ नगरपालिका, शिक्षा शाखा, विद्यालय प्रयासरत रहेको बताइएको छ ।


हाल विद्यालयमा विद्यार्थी आउने संख्या केही कम देखिए पनि नगरपालिकाले विद्यार्थी तथा शिक्षकका लागि मनोपरामर्श र ५ जनाको एउटा समिति बनाएर तोडफोड र क्षतिपूर्तिबारे छानबिन भएको छ । सार्वजनिकतर्फ विद्यालयको डेस्कबेन्च, शौचालय, कम्प्युटरलगायतमा क्षति पुगेको र निजीतर्फ मोटरसाइकल र एम्बुलेन्समा क्षति पुगेको छ । तोडफोड गरिएका संरचना पुनर्निर्माणदेखि क्षतिपूर्तिमा नगरपालिकाले सहयोग जनाएको छ । नगरपालिकाले प्रारम्भिक चरणमा ३ लाख रुपैयाँ उपलब्ध गराएर विद्यालयको शौचालय, खानेपानीको ट्यांकी, तोडफोड गरिएका झ्याल, डेस्कबेन्च निर्माण गरिएको छ । घटनापछि केही विद्यार्थीमा डर त्रासको अवस्था देखिएकीकक्षा १० मा अध्ययनरत सोनी लिम्बूलाई अस्पताल नै भर्ना गर्नुपरेको र उनलाई सुधार आइसकेको बताइएको छ ।
प्रधानाध्यपक लक्ष्मीप्रसाद मिश्रले आइतबार ६० प्रतिशत विद्यार्थी कक्षामा उपस्थित भएको जानकारी दिए । ७ सय ४१ जना विद्यार्थी रहेको विद्यालयमा अब विस्तारै विद्यालय र विद्यार्थीले अध्ययनमा गति लिन थालेका छन् ।
त्यसैगरी, लेटाङ नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्णराज राईले विद्यालयमा तोडफोड गरिँदा ११ लाख ६७ हजार ५ सय रुपैयाँ बराबरको सार्वजनिक सम्पत्तिमा क्षति पुगेको बताए । २ लाख २२ हजार रुपैयाँ बराबरको निजी सम्पत्तिमा क्षति पुगेको छ । घटनामा साइनबोर्ड, पानी ट्यांकी, फर्निचर, प्रधानाध्यापकको कार्यकक्ष, सभाहल, झ्याल, ढोका, कम्प्युटर, प्रिन्टर, सीसी क्यामेरा, चारवटा मोटरसाइकल र एउटा एम्बुलेन्समा क्षति पुगेको छ ।


कक्षा ७ मा अध्ययनरत छात्रालाई शिक्षक पौडेलले चैत ४ गते दुव्र्यवहार गरेको घटना बाहिरिएपछि सुरु भएको आन्दोलन हिंसामा परिणत हुँदा चैत ६ गते प्रहरी जवान २६ वर्षीया उर्मिला श्रेष्ठको हत्या भएको थियो। सो क्रममा भड्किएको अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले ५ राउन्ड हवाई फायर र दर्जनभन्दा बढी अश्रु ग्यास प्रहार गरेको थियो। घटनामा गोली लागेर लेटाङ–८ का २० वर्षीय मिलन खड्का घाइते भएका थिए। हाल खड्काको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ। त्यसैगरी, झडपमा २९ प्रहरी र केही शिक्षक घाइते भएका थिए।

यस क्रममा प्रहरीले घटनामा संलग्न भएको आरोपमा ५७ जनालाई पक्राउ गरिसकेको छ । २० जनाविरुद्ध कर्तव्य ज्यान र ३७ जनाविरुद्ध अभद्र व्यवहारको मुद्दामा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। छात्रा दुव्र्यवहारको आरोप लागेका शिक्षक पौडेलविरुद्ध जबर्जस्ती करणी उद्योगको मुद्दामा अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्ष दीपक श्रेष्ठले बताए ।
साभारः देशसञ्चारबाट

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल