काठमाडौं– दोलखाका रत्नबहादुर जिम्बा ७४ वर्षका भए । उनलाई सानामा तामाकोसी नदी तरेर लुगाफाटो किन्न गएको सम्झना ताजै छ । उनी २०१९ सालमा १३ वर्षका थिए । त्यतिबेला उनी लुगा किन्न पहिलोपटक काठमाडौं जाँदा उनले दोलखाको बिगु गाउँपालिका वडा–३ र गौरीशंकर गाउँपालिका वडा –८ जोड्ने तामाकोसी नदीमा बनेको झोलुंगे पुल तरेका थिए ।
स्थानीयमा फलामे साँघुले चिनिने ती पुल तामाकोसी नदी तर्न ठाउँठाउँ हालिएका थिए । त्यतिबेला सरकारले नभई स्थानीयले आफ्नै रैथाने सीप र देशभित्रकै फलाम खानीबाट काँचो फलाम निकालेर झोलुगें पुल बनाएका थिए ।
रत्नलाई अझै ताजै छ, छिमेकी रामेछापको ठोसे मेक्चनमा रहेको फलाम खानीबाट काँचो फलाम बोकेर हप्तौं लगाएर फलाम ल्याएको, साँघु हाल्नेस्थलमा आरन राखेर कालीगढले साङलाको आकार दिएर बनाएका थिए । ‘साँघु बनाउन कम्तीमा ६ महिना लाग्थ्यो,’ उनलेभने ।
काँचो फलाम निर्माणस्थलमा ल्याइएर भारीका भारी दाउरा प्रयोग गरेर आगो बालेर फलाम गालिन्थ्यो । साङ्ला बनाइन्थ्यो । त्यसपछि ढुंगामा गहिरो प्वाल खोपेर फलामका ठेंडी गाडिन्थ्यो । उक्त ठेंडीमा अंकुश बनाएर साङ्ला तन्काएर साँघु हालिन्थ्यो । टुनी काठको फल्याक हालिन्थ्यो । साँघु तर्दा हल्लिन्थ्यो पनि साङ्ला मजबुत हुने भएकाले चुँडिने डर थिएन् । यस्ता फलामे साङ्लामा खिया लाग्छ भनेर वर्षमा एकपल्ट तेल दल्ने चलन थियो ।
लिखित दस्ताबेज नभेटिए पनि तामाकोसीमा हातैबाट निर्मित फलामे साँघु दशकौं पुरानो रहेको बुझ्न सकिन्छ । यस्ता साँघुमध्ये तत्कालीन बुलङ र खारे जोडने फलामे साँघु प्रयागराज पण्डितले आफ्नै खर्चमा बनाएको इतिहास भेटिन्छ । ७७ वर्षीय बलबहादुर खड्काले २००३ सालमा उक्त साँघुमा दोस्रो साङ्लो थपिएको आफूले सुनेको बताउँछन् । उनलाई प्रयागराजले साँघु रेखदेखका लागि गुठीको जग्गा दिएर ल्याएका थिए । उनका अनुसार प्रयागराजले साँघु मात्रै बनाएनन् ।
साँघु रेखदेखका लागि आफ्नो निजी जग्गा गुठी बनाएर तेल दल्ने काम पनि गरे । उक्त गुठीको जग्गा दिएर २५ वर्षको उमेरमा बलबहादुरलाई साँघु रेखदेखका जिम्मा दिइएको थियो । २०२८ सालमा प्रयागराजको निधनपछि उक्त साँघुमा तेल दल्न छाडिएको बलबहादुरले बताए । ‘घामपानीले फलामका साङ्लामा खिया लाग्ने र चुँडिने हुँदा प्रत्येक वर्ष साँघुका साङ्लामा विशेष तरिकाले तेल दलिन्थ्यो,’ उनले भने, २०२८ सालपछि साँघुमा तेल दल्न बन्द भयो ।’ बलबहादुरका अनुसार २०४४ सालमा तत्कालीन सरकारले साँघु मर्मत गरिदिएको थियो । त्यसयता पुल मर्मत भएको छैन ।
तामाकोसी नदी वारपार गर्न लामाबगर, साँघुरे, सुरीदोभान, भोर्ले, सिंगटी, पिखुती, नागदहलगायतका स्थानमा यस्ता साँघु बनेका थिए । ती सबै व्यक्तिले आफनै खर्चमा बनाइएको बताइन्छ । दसकौंअघि निर्मित धेरै साँघु मासिएका छन् । जामुनेमा रहेको साँघु भने नदीमा खस्ने अवस्थामा छ । ‘तत्कालीन समयमा पुर्खाले बनाएका यस्ता साँघु संरक्षण भएको भए राम्रो हुन्थ्यो,’ उनले भने, संरक्षण गर्ने भन्छन् तर साङ्लाले ठाउँ छाड्न थालिसके, तामाकोसी नदीमा भएको यो अन्तिम साँघु हो ।’
८३ वर्षीय अच्युतप्रसाद आर्चायले २०४५÷४६ सालमा सुरीदोभानमा झोलुङ्गे पुल बनेपछि अलपत्र अवस्थामा रहेको साङ्ला बोकर ल्याई जामुनेमा साँघु सारेका थिए । उनले सोही वर्ष उक्त फलामे साँघुमा तेल दलेको बताए । तर उक्त पहिरोले क्षति गरेपछि त्यसका साङ्ला अलपत्र थिए । उनले भने, ‘म जन्मनुभन्दा अघिका साँघु हुन् यी, कम्तीमा पनि डेढ सय वर्ष पुराना फलामका यस्ता साँघु अहिले हराए ।’ यस्ता फलामे साँघु सिन्धुपाल्चोकमा थिए । त्यहा पनि लोप भैसकेका छन् ।
साभारः कान्तिपुर
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !