काठमाडौं — टर्की र सिरियाको सिमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ ।

उक्त जानकारी ती दुबै देशका सरकारी संचारमाध्यम, र त्यहाँ कार्यरत् उद्धारकर्मीले बुधबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भूकम्पबाट प्रभावित क्षेत्रको भ्रमण गरेका छन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार टर्कीमा भूकम्पमा परी ८ हजार ५ सय ७४ जनाको मृत्यु भएको र टर्कीको विपद् व्यवस्थापन निकायले ४० हजारभन्दा बढी मानिस घाइते भएको जनाएको थियो । त्यसैगरी, सिरियामा १ हजार २ सय ८० जनाको मृत्यु हुनुका साथै २ हजार ५४ जना घाइते भएको सिरियाली स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।

टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४ बजेर १७ मिनेट ७ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटमा दक्षिणी प्रान्त गाजियान्टेपमा ६ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यस्तै सोही दिन दिउँसो १ बजेर २४ मा ७ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

भूकम्पको केन्द्रविन्दु रहेको कहरमानमारासमा खोज तथा उद्धारकर्ताहरु जीवित व्यक्तिहरूको खोजी गर्दा कठ्यांग्रिँदो जाडोको सामना गरिरहेका छन् । विभिन्न देशहरुले भूकम्पग्रस्त टर्की र सिरियाको प्रभावित क्षेत्रहरूमा उद्धार टोली र राहत सामग्रीहरू प्रदान गरिरहेका छन् ।

चिनियाँ उद्धार टोली चार्टर्ड विमानबाट टर्कीको भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा सहयोग गर्न बुधबार अदाना विमानस्थलमा पुगेको छ । चिनियाँ उद्धार टोलीमा अडियो र भिडियो लाइफ डिटेक्टर, मेडिकल सामग्री र तालिम प्राप्त कुकुरलाई सहित विपद् क्षेत्रमा खोजी तथा उद्धार कार्य सुरु गर्ने बताइएको छ ।


नेपालले टर्कीमा मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने तयारी

टर्कीमा गएको विनासकारी भूकम्पपीडितका लागि राहत र पुनर्स्थापनाका लागि नेपाल सरकारले मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने भएको छ ।

बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल