काठमाडौँ– नयाँ बसपार्क क्षेत्रमा आन्दोलनरत यातायात मजदुरका प्रतिनिधिहरूले प्रशासनले बोलाएको वार्तामा आएका छैनन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मजदुरका मागलाई सम्बोधन गर्न वार्तामा बोलाए मजदुर नेताहरू सम्पर्कमा आएका छैनन् । काठमाडौं प्रशासनका अधिकारीले यातायात मजदुर, यातायात व्यवसायी महासंघ, यातायात व्यवस्था विभाग र प्रशासनको टोली बसेर विवाद समाधान गर्न बैठक बोलाइए पनि आन्दोलनमा उत्रिएका मजदुरका प्रतिनिधि सम्पर्कमा नआएको बताए ।

आन्दोलनरत पक्षका प्रतिनिधि छलफलमा नआएपछि प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महासंघका अध्यक्ष विजय स्वाँर, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला र विभागका महानिर्देशक तुलसीनाथ गौतम जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट राति पौने ९ बजेतिर बाहिरिएका थिए ।

छलफलका लागि एमाले र माओवादीनिकट मजदुर संगठनका प्रतिनिधिलाई बोलाइए पनि उनीहरू नआएपछि विवाद समाधान प्रयास सफल नभएको हो । मंगलबार फेरि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरोकारवाला पक्ष बसेर आन्दोलनरत पक्षका माग सम्बोधनका लागि पहल गरिने भएको छ ।

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले बिहान साढे आठ बजे यातायात व्यावसायी र मजदुर प्रतिनिधिलाई वार्ताका लागि बोलाएकाछन् । प्रजिअ उपाध्यायले पनि आन्दोलनरत पक्षका माग सम्बोधन गर्न पहल भइरहेको तर मजदुर प्रतिनिधि सम्पर्कमा नआउँदा ठोस निर्णय नभएको बताए ।

आन्दोलनरत पक्षले बसपार्क क्षेत्रमा तोडफोड, आगजनी तथा सुरक्षाकर्मीमाथि आक्रमण गरेका छन् । केही सुरक्षाकर्मी घाइते भएका छन् । घटनालाई नियन्त्रणबाहिर जान नदिन प्रहरी र सशस्त्र प्रहरीलाई बाक्लो रूपमा परिचालन गरिएको उनले बताए । घटनाअघि सोमबार बिहान ल्होत्से भवन रहेको नयाँ बसपार्क परिसरमा मजदुरहरूले विरोधका कार्यक्रम तय गरेका थिए ।

तर ल्होत्से बहुउद्देश्यीय प्रालि प्रशासनले आफूनिकटका मजदुर र कर्मचारीलाई परिचालन गरी विरोधमा उत्रिएका मजदुरमाथि आक्रमण गरेका थिए । त्यसपछि भड्किएको स्थिति नियन्त्रणबाहिर जाँदा सुरक्षा निकायका गाडी, सर्वसाधारणका पसललगायतमा आगजनी र तोडफोड भएको थियो । परिस्थिति थप भड्किन नदिन सशस्त्र प्रहरीको नीलवाराही गणबाट प्रशासनले थप सुरक्षाकर्मी बसपार्क क्षेत्रमा परिचालन गरेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले समेत सुरक्षाका लागि मातहतका युनिटहरूबाट रिजर्भ फोर्सका रूपमा सुरक्षाकर्मी खटाएको छ ।


व्यवसायीहरूले मंगलबारदेखि काठमाडौंमा सार्वजनिक यातायात नचलाउने

यातायात व्यवसायी तथा मजदुरहरूले मंगलबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द गराउने घोषणा गरेका छन् ।

सरकारले विगतमा गरेका सहमतिहरू पालना नगरेको भन्दै विरोधको रुपमा उनीहरूले यातायात नचलाउने घोषणा गरेका हुन् ।

सोमबार सवारी चालकहरूले ५ पटकसम्म चिट काटेपछि ६ महिनासम्म सवारी चलाउन नपाउने नियमविरुद्ध सडकमा प्रदर्शन गरेका थिए । उनीहरूले नयाँ बसपार्क क्षेत्रमा सडकमा नै सवारीसाधन तेर्स्याएर सडक अवरुद्धसमेत गरेका थिए । कम्पनीका कर्मचारीले मजदुरमाथि गुण्डागर्दी शैलीमा हातपात गरेको पछि चक्काजाम गरिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए ।

गत सोमबार नयाँ बसपार्क क्षेत्रमा श्रमिकहरूमाथि नयाँ बसपार्कको ठेकेदार कम्पनी लोत्से बहुउद्देश्यीय कम्पनीसँग सम्बद्ध व्यक्तिहरूको समूहले आक्रमण गरेको आरोप छ । आक्रमणमा संलग्न व्यक्तिहरूलाई कारबाही नगरिएकोमा मजदुरहरुले आपत्ति जनाउदै आएका छन् ।

सोमबार नै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

साभारः अनलाइनहरूबाट

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल