काठमाडौँ– अविरल वर्षासंगै शनिबार राति आएको बाढीले संखुवासभा, पाँचथर र ताप्लेजुङमा गरी एकजनाको ज्यान गएको छ भने ३१ जना बेपत्ता छन् ।


संखुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बाढीले बगाउँदा पाँचखपन–९ का सन्तोष राईको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन् । बाढीले चैनपुर ४ मा निर्माणाधीन सुपर होवा हाइड्रोपावरका १८ जना सम्पर्कबाहिर छन् । सभापोखरीमा २ र नुनढाकीमा १ जना बेपत्ता भएको त्यहाँका प्रहरी अधिकारीले जनाएका छन् । चैनपुर नगरपालिका ४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा क्षति भएको छ ।


पाँचथरमा बाढीले ६ जना बेपत्ता छन् । हेवा खोलामा आएको बाढीमा पर्दा फिदिम र फालेलुङमा ६ जना बेपत्ता भएका छन् । हेवा खोलामा आएको बाढीले हेवा ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा बेपत्ता छन् । फिदिम–४ हेवाखोलामा गिटी कुटेर गुजारा चलाँउदै आएका एक जना, फालेलुङ–३ मा १ जना र फिदिम–४ माझीटारमा २ जना बेपत्ता भएको त्यहाँका प्रहरी अधिकारीले जनाएका छन् ।
बाढीले मेची राजमार्गअन्तर्गत पाँचथर र ताप्लेजुङ जाने बाटोमा पर्ने हेवा खोला पुल बगाएको छ । त्यसैगरी फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुईवटा मोटरेबल र एउटा झोलुंगे पुल बगाएको छ । त्यसैगरी याङवरक गाउँपालिका ३ र २ मा घर र पशुचौपाय क्षति पुगेको बताइएको छ

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा पहिरोले घर बगाउँदा चार जना बेपत्ता भएका छन् । गाउँपालिका दिएको जानकारी अनुसार यादव बुढाक्षेत्रीको तीन जनाको परिवार र छिमेकी गणेश तामाङ सम्पर्कविहीन भएका छन् । यादव काम विशेषले बाहिर गएका र घरमा उनको आमा श्रीमती र छोरी थिए । दुई खोलाको बीचमा घर भएका गणेशले पानी पर्न थालेपछि बाबुआमालाई खोलो तारेर सुरक्षित ठाउँमा पठाएका थिए । तर उनी भने सम्पर्कविहिन छन् । सोही पालिकाको वडा–३ आङखोपमा प्रेम सेलिङलगायतको तीन घर बगाएको बताइएको छ ।
ताप्लेजुङबाट बाहिर जाने सडक अवरुद्ध भएकाले लामो तथा छोटो दूरीका यातायात चलेका छैनन् । कावेली नदीमा आएको बाढीले सिरिजंगा गाउँपालिका–८ याम्फुदिनका पाँच सरकारी कार्यालयसहित १५ परिवार विस्थापित छन् ।


बाढीपहिरो बारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको भनाई
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पूर्वी पहाडी जिल्लामा गएको बाढी पहिराले सडक र पुल गरी ५० करोड रुपैयाँभन्दा बढीको क्षति पुर्याएको बताएका छन् । प्रतिनिधिसभाको आइतबार बैठकमा आकस्मिक र शून्य समयमा सांसदहरूले गरेको प्रश्नको जवाफ दिंदै मन्त्री ज्वालाले ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुमलगायतका जिल्लामा बाढीले पु¥याएको क्षतिबारे जानकारी दिंदै भौतिक मन्त्रालय अन्तर्गत पुल र सडकको मात्रै ५० करोड रुपैयाँ बढीको क्षति भएको बताए । सरकारले बेपत्ता नागरिकको उद्धार र पीडितको राहातका लागि काम गरिरहेको र त्यसको लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी खोज तथा उद्धारमा खटिएका छन् । उनले ताप्लेजुङ र पाँचथर जोड्ने मेची राजमार्गको ४६ मिटर लामो हेवा खोला पुल भत्किएपछि ताप्लेजुङ यातायातको सम्पर्कबाट पूर्णरुपमा विच्छेद भएको बताए । अरुण कोरिडोरमा ५ सय मिटर सडक बगेको, पांग्रेभिरको सडक खुलाउने प्रयास भैसकेको, फालेलुङको पुल बगेको, फिदिम यासोक सडक अवरुद्ध भएको, कान्छी दोकान अवरुद्ध भएको, चिवाभन्ज्याङको फलौचा बजारको मेवा खोला पुल भत्किएको जानकारी गराए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल