काठमाडौं–चन्द्रमासका अनुसार साउन २ गतेबाट महिनाको अधिकमास सुुरू भएको छ । जसको अर्थ साउन महिना दुइवटा हुने भयो । यस वर्ष साउन २ गतेदेखि ३१ गतेसम्म अधिकमास परेको छ । चन्द्रमासका अनुसार यस वर्ष १३ महिना अर्थात ३८३ दिनको वर्ष हुने भयो । अधिकमासलाई मलमास तथा पुरूषोत्तम मास पनि भन्ने गरिन्छ ।

कसरी हुन आँउछ अधिकमास
सूर्यवर्षका अनुसार एक वर्षमा ३६५ दिन, ६ घण्टा, ४८ मिनेट तथा २४ सेकेण्ड हुने गर्दछ । तर चन्द्र वर्षमा भने ३५४ दिन ८ घण्टा, ५२ मिनेट, ४८ सेकेण्ड हुन्छ । यसरी दुइ प्रकारका वर्षका बिच १० दिन २१ घण्टा, ५५ मिनेट, ३६ सेकेण्डको फरक पर्दछ । ज्योतिष शास्त्रले यी दुइ अन्तरलाई समायोजन गर्नका लागि प्रत्येक तीन वर्ष अर्थात ३२ महिना १६ दिन १ घण्टा, ३६ मिनेटमा नयाँ एक महिना चन्द्र वर्षमा थप गर्ने गर्दछ । बाह्र महिनाको आ–आफ्नै स्वामी राशी हुने भए तापनि यसरी थपिएको महिनाको भने कुनै स्वामी राशि हुने गर्दैन । जसले गर्दा स्वामी नभएको महिनामा पूण्यकार्य गर्न वर्जित गरिएको छ । तर अघिल्लो महिनाको राशिलाई नै अधिकमासमा पनि स्विकार गर्ने गरिन्छ । यस वर्ष अधिकमासमा कर्कट राशि नै रहने छ ।

अधिकमास रहेको समयमा बिशेष पूजाहरू सप्ताह, होम, लाखबत्ती तथा गृहप्रवेश र गृहआरम्भ पनि गर्नु हुँदैन भनिन्छ । साथै विवाह, ब्रतवन्ध जस्ता पूण्यकार्य गर्न पनि वर्जित गरिएको छ ।
१९ वर्ष पछि यस वर्ष साउन महिनामा अधिकमास पर्न गएको हुँदा साउनको ब्रत बस्नेहरूका लागि भने अन्यौल रहन गएको छ । सूर्यमास अनुसार नै साउनमा परेको पाँचवटा सोमवारमा ब्रत बस्ने वा चन्द्रमासका अनुसार असार २५ मा परेको सोमवार तथा साउन १ को सोमवार र भदौ ५ र १२ गते परेको सोमवारलाई स्विकार गर्ने भन्नेमा अन्योल रहेको छ ।

हिन्दू आख्यानका अनुसार अधिकमास स्वामी राशि बिहिन भएर चिन्तित भए पछि भगवान श्री कृष्णले तिम्रो स्वामी म भए भनी पठाएपछि मलमासलाई पुरूषोत्तम मासका रूपमा स्वीकारिएको थियो । मलमासमा कृष्णको श्रीमदभागवतगीता वाचन गर्नु तथा पुस्तक दान गर्नु पनि पुण्य मिल्ने कथन छ ।

अधिकमासले गर्दा यस वर्षको दशै, तिहार लगायत साउन महिना पछिका चाडहरू कम्तिमा १५ दिन पछाडि धकेलिएको छ । यस वर्षको हरितालिका तीज असोजको १ गते पर्न गएको छ भने दशैको टीका कार्तिक ७ गते पुगेको छ । साथै भाइटीका कार्तिक २९ गते पर्न गएको छ । साथै यमरी पुन्ही पुसको १० गते पर्न गएको छ ।

अरू थप

अधिक मास प्रत्येक तीन वर्षमा एकपटक आउँछ । यो फागुनदेखि कात्तिकको बीचमा पर्ने गर्छ । जुन वर्ष अधिक मास पर्छ त्यो वर्ष १२ को स्थानमा १३ महिना हुन्छ । अधिका मासको निर्णय सूर्य सङ्क्रान्तिको आधारमा गरिन्छ । जुन महिनामा सूर्य सङ्क्रान्ति हुँदैन त्यसलाई अधिक मास भनिन्छ ।

पौराणिक कथन
प्रत्येक राशि, नक्षत्र, करण, महिना आदिका स्वामी छन् तर अधिक मास अर्थात् मल मासको स्वामी छैनन् । यसकारण अधिक मासमा सम्पूर्ण शुभ कार्य, देव कार्य एवं पितृ कार्य वर्जित मानिएको छ । यद्यपि, पुराणमा अधिक मास पुरुषोत्तम मास ब कसरी बन्न पुग्यो भन्ने रोचक कथा दिइएको छ ।
कथाअनुसार स्वामी अर्थात् मालिक नभएका कारण अधिक मासलाई सबैले मल मास भन्न थाले । यसबाट मल मासको निन्दा हुन थाल्यो । यो कुराबाट दुःखी भएको मल मास भगवान् विष्णुकहाँ पुग्यो र आफ्नो दुःख बिसायो ।

भक्तवत्सल श्रीविष्णुले उसलाई गोलोक लिएर गए । गोलोकमा भगवान् कृष्ण विराजमान थिए । दयासागर श्रीकृष्णले मलमासको व्यथा बुझेर उसलाई सान्त्वना दिँदै भने– ‘अबदेखि म तिम्रो स्वामी भएँ । यसबाट मेरा सबै दिव्य गुण तिमीमा समाविष्ट हुनेछन् । म ब्रह्माण्डमा पुरुषेत्तमका नामले प्रसिद्ध छु तसर्थ आजदेखि तिम्रो नाम पनि पुरुषोत्तम हुनेछ । आजदेखि तिमी मल मास नभएर पुरुषोत्तम मासका नामले चिनिनेछौ । यसका साथै तीन तीन वर्षमा हुने तिम्रो आगमनमा जसले श्रद्धाभक्तिपूर्वक राम्रा काम गर्छन् ती व्यक्तिलाई अन्य समयमा गरेको उति नै अनुपातको कर्मबाट भन्दा बढी पुण्य प्राप्त हुनेछ । यसरी भगवानले अधिक वा मल मासलाई पुरुषोत्तम मास बनाएर धर्मकर्मका लागि उपयोगी बनाइदिए । यो दुर्लभ महिनामा जसले स्नान, पूजाआराधना, यज्ञअनुष्ठान एवं दानधर्म गर्छ उसले अत्यधिक पुण्य प्राप्त गर्दछ ।
यसकारण हिन्दू धर्मशास्त्रहरूमा अधिक मासलाई निकै पवित्र मानिएको छ । भगवान् कृष्ण अर्थात् विष्णुको महिना भएकाले यो महिनामा गरिने व्रत पारायण, पवित्र नदीस्नान एवं तीर्थयात्राबाट सा¥है ठूलो पुण्य प्राप्त हुने कुरा शास्त्रहरूमा बताइएको छ । हामीकहाँ लौकिक रूपमा नव विवाहित दम्पतीले मलमास छल्नुपर्ने भएकाले दुलही माइत गएर बस्ने प्रचलन छ । विशेष गरी यो महिनामा यौनसम्पर्क राख्नु वर्जित मानिएकाले यस्तो नियम लगाइएको हुनसक्छ ।

मलमासमा गर्न नहुने भनिएका थुप्रै कुरा छन्, तीमध्ये केही निम्नानुसार छन्
–अधिकमास लाग्नुअघि नगएका तीर्थमा यस महिनामा पहिलो पटक जान र दर्शन नगरेका देवताको दर्शन गर्नु शुभ मानिँदैन ।
–मलमासमा मन्दिर निर्माण गर्न तथा कुनै देवीदेवताको प्राणप्रतिष्ठा गर्न पनि शास्त्रीय निषेध छ ।
–विशेष कामनाले गरिने एकाह, सप्ताह, नवाह, लक्षहोम, कोटिहोम, श्रौतयाग, स्मार्तयागजस्ता कर्म अधिकमासमा गर्नु हुँदैन भनिएको छ । यद्यपि पुरुषोत्तम महात्म्य लगाउने भनेकै यही महिनामा हो र यसबाट मोक्षसम्म मिल्नसक्ने बताइएको छ ।
–गृहारम्भ, गृहप्रवेश, लाखबत्ती प्रज्वलन, पुराण श्रवणलगायत कुनै कामना राखेर गरिने काम गर्नु हुँदैन । यद्यपि निष्काम भावले गरिने यस्ता कर्म गर्न कुनै बाधा छैन । यसबाट झन् ठूलो पुण्य आर्जन हुने कुरा बताइएको छ ।
नव दम्पतीले के गर्नु हुँदैन मल मासमा ?
–विवाह गरेको एक वर्ष पूरा नभएका पतिपत्नीबीच यौनसम्पर्क भए पतिको आयु क्षीण हुन्छ । यसको अर्थ पुराना दमपतीलाई चाहिँ छुट छ भनिएको होइन ।
–यो अवस्थामा समागम भएर गर्भ रहे सन्तान स्वस्थ जन्मँदैन । गर्भ रहेर बच्चा जन्मिए पनि आयु थोरै हुन्छ ।
–नयाँ जोडी मलमासभर एउटै घरमा बस्न नहुने र एउटै धाराको पानी पिउन नहुने शास्त्रीय मान्यता छ ।
साभारःसुनील उलक तथा अनलाइन खबर

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल