काठमाडौँ–लगातारको वर्षाका कारण काठमाडौं उपत्यका भएर बग्ने नदीमा जल सतहले खतराको तह नाघ्दा तटीय क्षेत्रहरु डुबानमा परेका छन् ।

मंगलबार वाग्मती, मनोहरा, धोबीखोला, विष्णुमती लगायतका नदीले खतराको जल सतह नाघ्दा उपत्यकाका विभिन्न स्थान डुबानमा परेका हुन् ।

काठमाडौं उपत्यकाका आसापासका क्षेत्रहरूमा भारी वर्षा हुँदा यहाँबाट बग्ने खोलाहरुमा खतराको तह नाघेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार सोमबार रातिदेखि नदीमा खतराको तह नाघेको बताए ।

हरेक वर्षजसो काठमाडौंलगायत देशका अधिकांश सहरी क्षेत्र वर्षायाममा डुबानमा पर्ने गरेका छन् । पानी बग्ने खोल्सा, सार्वजनिक कुलोको मर्मत नहुँदा र निकास हुने स्थानमा फोहोरवस्तुले निकास कम भई पानी वस्तीमा छिर्ने गरेको छ ।

विभागले सोमबार रातिदेखि नै नगरकोट, बुढानीलकण्ठ क्षेत्रमा भारी वर्षा भएको जनाएको छ । स्वचालित मौसम मापन केन्द्रको तथ्यांक अनुसार बुढानीलकण्ठको केन्द्रमा ८४ दशमलव ६ मिलिमिटर, सुन्दरीजलमा ९२ दशमलव २ मिमी, कीर्तिपुरमा ४७ दशमलव ६, नगरकोटमा ९८दशमलव ६, ललितपुरको लेलेमा ६९ दशमलव ८, गोदावारीमा ४७, पनौतीमा ५८ दशमलव ४, पाँचखालमा ४४ दशमलव ८, धुनिबेंसीमा ४८ र नुवाकोटको ककनीमा ७१ दशमलव ४ मिमी वर्षा मापन गरिएको थियो ।

जल तथा मौसम विज्ञान विभागले वर्षाको मापनको आधारमा १० मिमीभन्दा कम वर्षा हुँदा हल्का, १० देखि ५० मिमीभन्दा कम वर्षा हुँदा मध्यम वर्षा, ५० देखि सयभन्दा कम वर्षा हुँदा भारी वर्षा, सयदेखि २ सय मिमीभन्दा कम वर्षा हुँदा धेरै भारी वर्षा र २ सयन्दा बढी वर्षा हुँदा अति भारी वर्षाको भनेर व्याख्या गरेको छ ।

काठमाडौंलगायतका सहरी क्षेत्रमा एक घन्टामा ३० मिलिमिटर वर्षाले मात्र पनि जलमग्न भएपछि २४ घन्टामा धेरै वर्षा भएकाले धेरैक्षेत्र डुबानमा परेका हुन् । सहरी क्षेत्रका सतह कंक्रिटका संरचना, ढलान र पिच भएकाले वर्षा भएको पानी जमिनमुनि सोस्न नसकेपछि डुबानको समस्या हुने गरेको छ ।बाढीका कारण तीन स्थानमा सडक अवरुद्ध भएको छ भने भक्तपुरमा भेलले गर्दा ४ जना स्थानीयलाई उद्धार गरिएको छ । अव्यवस्थित सहरीकरणले पनि डुवान परेको विज्ञले जनाएका छन् ।
विभागले तल्लो तटीय क्षेत्रका स्थानीयलाई उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल