काठमाडौँ– नागपञ्चमी श्रावण शुक्लपक्षको पञ्चमीका दिन हिन्दु धर्मावलम्वीहरुले मनाइरहेका छन् ।

नागको विशेष विधिपूर्वक दूध, दही, धूप, दीप, नैवेद्य चढाएर घरको दैलामा अष्ट नाग (अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख) साथै गँगटो, बिच्छी जस्ता विषालु जीवको मूर्ति अंकित तस्वीर विशेष पूजासहित टाँस्ने चलन छ । विधिपूर्वक नागपूजा गरेर घरको दैलोमा टाँस्दा सर्पले नडस्ने, घरमा आगो र चट्याङको डर नहुने जनविश्वास पनि रहँदै आएको छ । यस दिनदेखि वर्षायामको समाप्ति हुने जनविश्वास रहँदै आएको छ भने नागपञ्चमीको प्रचलन कहिलेबाट भयो भन्ने सम्बन्धमा विभिन्न खालका किंवदन्ती रहेको छ ।

महाभारतमा परीक्षित नामका राजालाई नागले डसेर मृत्यु भएपछि उनका छोरा जनमेजयले संंसारका सम्पूर्ण सर्प मार्न यज्ञ लगाएर यज्ञमा भष्म बनाउन खोजेको अवस्थामा इन्द्रसँगै आएका अस्तिकाले माफी मागेपछि यज्ञमा हवन हुन लागेका सम्पूर्ण सर्पहरू बाँचेकाले श्रावण शुक्लपक्षको पञ्चमीका दिन विशेष पूजापाठ गरिएको भन्ने विश्वास रहेको छ । वर्षाकालमा नाग, सर्पले दुःख दिने हुनाले तिनीहरूलाई खुशी पार्नको लागि वर्षाको समयमा श्रावण शुक्लपक्षको पञ्चमीका दिन नागहरुको पूजा गर्ने प्रचलन रहेको छ । नागलाई पानीसँग जोडेका समेत छन । नाग रिसाए भने पानीको अभाव हुने हुँदा सम्पूर्ण जीव, जगत अप्ठ्यारोमा परेको बेला नागले पानी पारेर सबैको रक्षा गरेको कुरा किंवदन्तीमा पाइन्छ ।

बहुमूल्य मणिलाई शिरमा धारण गरेको नागलाई शिव, विष्णु, गणेश, गोरखनाथ, कृष्ण मत्स्येन्द्रनाथका कथामा समेत प्रसंग जोडिएको कारण नाग र नागपञ्चमीको महत्व रहेको छ । काठमाडौं उपत्यकामा नाग रिसाए भने चोभारमा पहिरो जाने र पहिले जस्तै उपत्यकामा पानी जम्ने र समस्या आउन सक्छ भनेर नागलाई विधिपूर्वक पूजाआजा गर्ने गरेको किंवदन्ती छ ।

यस सम्बन्धमा कसै कसैले नागले यो धर्तीको बोझ बोकेकाले काँध फेर्दा पृथ्वी कम्पन हुने वा हल्लने अथवा भूकम्प जाने बताउँछन् । यिनै विश्वासले गर्दा घरको जग हाल्दा, घर निर्माण गर्दा पहिला नागलाई पूजा गर्ने र नागको शिरलाई ख्याल गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ । विष्णु, शिव र देवीदेवतासँग समेत नागको सम्बन्ध रहेको जनविश्वास छ त्यसैले नागलाई शक्ति र देवताको रुपमा लिने र पूजापाठ गर्ने गरेको पाइन्छ ।

नागपञ्चमीका सम्बन्धमा एउटा प्रचलित किंवदन्ती छ–एकजना किसानले खनजोत गर्ने क्रममा नागका बच्चा मरेको र आफ्ना बच्चा मरेको कारण पीडा र आक्रोशमा आएर नागिनले किसानका परिवारका दुई छोरा सहित डसेर मारेको र छोरीलाई डस्न जाँदा श्रद्धाले दूधको भाँडो नागको पूजा गरी अगाडि दूध पिउन थालेको नागको आक्रोश, पीडा मनबाट हटेपछि वरदान माग्न भनेपछि सबैलाई बिउँत्यादिएको दिन नागपञ्चमीको दिन परेको बताइन्छ ।
नागपञ्चमीका सम्बन्धमा विभिन्न जनविश्वास तथा किंवदन्तीहरू रहेता पनि हिन्दु धर्मावलम्बीले श्रावण शुक्लपक्षको पञ्चमीका दिन पूजाआजा सहित नागपञ्चमी पर्व विशेष महत्वका साथ मनाउने चलन छ ।
काठमाडौँको नक्सालमा अवस्थित नागपोखरीमा नागको पूजा गर्ने भक्तजनहरूको भीड लागेको छ । देशभर अन्य नागस्थानहरुमा पनि नागको पूजा गर्न भक्तजनहरू जम्मा भएका छन् ।
साभारः एजेन्सीहरु

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल