काठमाडौं— प्रसिद्ध धार्मिकस्थल गोसाईंकुण्डमा प्रत्येक वर्ष जनैपूर्णिमाको अवसरमा मेला लागेर सकिएको छ । यहाँ स्वदेश र विदेशदेखि ्तीर्थयात्रीहरू गोसाईंकुण्डमा दान, स्थान र पूजा गर्न आएका थिए ।


बिहीबार जनै र रक्षाबन्धन (डोरो) बाँधे भने बौद्धमार्गी र धामीझाँक्रीहरू आफ्नो आराध्यदेवसँग वर माग्दै मन्त्र सिद्धिको कामना गरेका थिए । यहाँ स्नान, दान र पूजा गर्ना मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । गोसाईंकुण्डमा साउन शुक्ल एकादशीदेखि नै भीड लाग्ने गर्छ । मेला व्यवस्थापन गर्न गोसाईंकुण्ड क्षेत्र विकास समितिले तीर्थयात्रीलाई स्थानीय प्रशासनको समन्वयमा बास र खानाको मूल्य निर्धारण गरेको छ ।

यसैगरी तीर्थयात्रीको घट्टेखोला, देउराली, चन्दनवारी, चोलाङपाटी, लौरीविनायक, बुद्ध मन्दिर र गोसाईंकुण्डसम्म आवश्यक पर्ने स्वास्थ्य शिविर, बिरामी परेकालाई स्वास्थ्य संस्थासम्म ल्याएर उपचार गराउने सुरक्षाकर्मी, रेडक्रस, नेपाल स्काउट र स्वयंसेवक परिचालन भएका छन् । प्रत्येक वर्ष गोसाईंकुण्डमा गंगादशहरा र जनैपूर्णिमा मेला लाग्छ । गोसाईंकुण्ड समुद्री सतहबाट ४ हजार ३ सय ८० मिटरको उचाईमा अवस्थित छ । तीर्थयात्रीका लागि रसुवा र नुवाकोटका विभिन्न स्थानमा दर्जनौं अस्थायी बास (थर्पु) को व्यवस्था गरिएको थियो ।

गोसाईंकुण्ड जाने छोटो नयाँ रुट
गोसाईंकुण्ड जान अहिले नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ बाट नयाँ पदयात्रा (रुट) खुलेको छ । यहाँबाट दैनिक ५ सयभन्दा बढी तीर्थयात्रीहरू गोसाईंकुण्ड गइरहेको दुप्चेश्वर गाउँपालकाले जनाएको छ । यो रुटबाट एकै दिन गोसाईंकुण्ड पुग्न सकिने गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापाले बताए । यो रुट काठमाडौंबाट टोखा, छहरे÷गंगटे, ढिकुरे, समुद्रटार, दुप्चेश्वर, घ्याङफेदी, शिशिपु, तालु, थाईविमान दुर्घटनास्थल, फेदी, सूर्यकुण्ड हुँदै गोसाईंकुण्ड पुगिन्छ ।

काठमाडौदेखि शिशिपु ६८ किमी सडक बाटो छ भने त्यसपछि पैदल हिंड्नुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेश रिजालले बताए ।

त्यस्तै तीर्थयात्रीहरू पुरानो रुटमा काठमाडौं–धुन्चे हुँदै गोसाईंकुण्ड जाने र अर्को काठमाडौंको सुन्दरीजल, चिसापानी, पाटीभन्ज्याङ, गोल्फुभन्ज्याङ, कुटुङसाङ, सूर्यकुण्ड हुँदै गोसाईंकुण्ड जाने गर्छन् ।

गोसाईंकुण्डको उत्पत्ति
हिमवत खण्डमा उल्लेख भएअनुसार सत्ययुगमा देव र दानवले समुद्र मन्थन गर्दा निस्केको कालकुट विषले संसार भष्म गर्न लाग्दा महादेवले उक्त विष आफ्नो घाँटीमा राखेर जलन शान्त पार्नका लागि हिमालय पर्वतको उत्तराखण्डतर्फ लागेका थिए । रसुवाको पूर्वीभेग पहरामा आफ्नो त्रिशुलले भित्तामा हानेपछि निस्किएको गंगाजलले भगवान् शिवको घाँटीमा रहेको विषको डाह शान्त पारेको थियो । त्रिशुल रोपेको ठाउँबाट पानीका धारा बग्यो । त्यही बगेको पानी जमेर कुण्ड बन्यो । सोही कुण्डलाई गोसाईंकुण्ड भन्न थालियो । यहीँ भगवान् शिव विराजमान भएको किंवदन्ती पाइन्छ ।
साभारः कान्तिपुर

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल