काठमाडौं– राष्ट्र,राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आव्हान गरेको बिहिबारको आन्दोलनमा हजारौंको संख्यामा सर्वसाधारण उपस्थित भए ।


अभियानकर्मी तथा व्यवसायी दुर्गा प्रसाईँले थालेको आन्दोलन बल्खु क्षेत्रमा ठूलो संख्यामा सर्वसाधारणहरु नेपाली झन्डा लिएर उपस्थित भएका थिए भने कलंकीदेखि सानेपासम्म रिङरोडको सडक ठप्प पारिएको थियो।

आन्दोलनको समापन गर्दै बल्खुमा आयोजित कोणसभामा दुर्गा प्रसाईँले शुक्रबारदेखि आन्दोलन झन् चर्काउने चेतावनी दिए । प्रसाईँले भोलि(शुक्रबार) को आन्दोलन काठमाडौं तीनकुनेबाट सुरु हुने र सिंहदरबार घेर्ने चेतावनीसमेत दिए । उनले यो व्यवस्था परिवर्तन गरिछाड्ने चेतावनी पनि दिएका छन् ।

‘सबै मिसन ८४ भनेर लागेका छन्,’ उनलेभने,‘तर हामी मिसन ८४ होइन हामी मिसन टुडेमा छौँ र हामीले यो ब्यबस्था परिवर्तन गरिछाड्ने छौँ।’

उनले बिहीबारको आन्दोलनका क्रममा प्रहरीतर्फबाट झडप भएको र आफ्नो समूहका २६ जना व्यक्ति घाइते भएको समेत बताए । उता प्रहरीतर्फ ५ जना घाइते भएका छन

उनले काठमाडौँलाई स्वस्फुर्त रुपमा बन्द गर्न आग्रह गर्दै पसलहरु बन्द गरेर अभियानलाई सघाउन आह्वान पनि गरेका थिए । उनले भने– ‘म काठमाडौँबासीलाई सटर बन्द गरेर आन्दोलनमा सहभागी हुन आह्वान गर्छु ।’

समापनका क्रममा आयोजित कोणसभामा अभियानकर्मी व्यवसायी दुर्गा प्रसाईँले आफू नेतृत्वको आन्दोलनलाई जनविद्रोहको संज्ञा दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाललाई जनतासमक्ष आत्मसमर्पण गर्न चेतावनी दिए ।
उनले कोणसभालाई सम्बोधन गर्दै जनतासमक्ष आत्मसमर्पण गरेर आफ्नो राजनीति सुरक्षित राख्न प्रधानमन्त्री दाहालसँग आग्रह गरेका छन् ।

उनले सम्बोधनका क्रममा ट्याक्सी र टिपरवालाई पनि आह्वान गर्दै भोलिदेखिको आन्दोलनमा सडकमा ट्याक्सी र टिपर तेर्स्याउन पनि भनेका छन् ।

अभियानकर्मी तथा व्यवसायी दुर्गा प्रसाईँले आह्वान गरेको बिहीबारको जनविद्रोहका क्रममा राजधानीका विभिन्न स्थानबाट आएका सर्वसाधारणहरु बल्खुमा भेला भएका थिए। प्रदर्शनकारीहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ लगायत नाराहरु लगाएका थिए ।

एमाले निकट युवासंघले दुर्गा प्रसाईँको आन्दोलनसँगै मंसिर ७ गते नै प्रदर्शन आयोजना गरेको थियो । यद्यपि प्रशासन कार्यालयहरुले यी द्ई आन्दोलनका लागि बेग्लाबेग्लै स्थान तोक्नुका साथै सम्भावित मुठभेड रोक्न विशेष तयारी गरेको थियो । युवासंघ केन्द्रित आन्दोलनका लागि तीनकुने तथा दुर्गा प्रसाईँ नेतृत्वको आन्दोलनका लागि बल्खु क्षेत्र तोकिएपछि सम्भावित मुठभेड टरेको थियो। यद्यपि युवासंघका कार्यकर्ताहरु ¥याली लिएर कालीमाटीबाट बल्खुतर्फ आएपछि दुर्गा प्रसाईँ पक्ष र उनीहरुबीच झडपको अवस्था सिर्जना भएको थियो । सुरक्षाकर्मीले उक्त झडप नियन्त्रणमा लिएको थियो ।

सुरक्षाकर्मीहरुको उपस्थिति बाक्लो बनाएर सकेसम्म झडप तथा अप्रिय स्थिति रोक्न प्रयास गरिए पनि दिउँसो बल्खुमा प्रदर्शनकारी र प्रहरीबीच झडपको अवस्था सिर्जना भएको थियो।

दिउँसो दुर्गा प्रसाईँका हजारौँ समर्थकहरु प्रहरीको घेरा तोडेर माइतीघरतर्फ जान खोज्दा प्रहरीले नियन्त्रणमा लिन बल नै प्रयोग गर्नुप¥यो। भिड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास तथा पानीका फोहोरा प्रयोग गरेको थियो।


भिड नियन्त्रणमा लिन प्रहरीले भिडलाई नियन्त्रणमा लिन प्रहरीले वाटर क्याननबाट पानीको फोहरा, अश्रुग्यास–१५७ सेल र रबरको गोली ५ राउण्ड प्रहार गरेको थियो ।

दुर्गा प्रसाईँको आन्दोलनमा समर्थन जनाउन राप्रपाका नेता ज्ञानेन्द्र शाही पनि बल्खु पुगेका थिए । उनले प्रदर्शनकारीहरुलाई माइतीघरतर्फ जान जोस्याएपछि भिड सहरभित्र पस्न उत्तेजित बनेको थियो । यद्यपि प्रहरीले अश्रुग्यास तथा पानीका फोहोरा हानेर भिड तितरबितर पारेको थियो ।

सुरक्षा अवस्था निकै मजबुत पारिएको थियो बिहीबारको आन्दोलनका क्रममा। बल्खु क्षेत्रमा फोन प्रयोग सीमित गर्न जामरको प्रयोग गरिएको थियो भने सिसिटिभीसमेत राखिएको थियो । २०६३ सालयता पहिलोपटक आन्दोलनका लागि सेनालाई तयारी अवस्थामा राखिएको थियो ।

उता युवासंघ नेपालले तीनकुने केन्द्रित प्रदर्शन गरेको थियो। प्रदर्शनका क्रममा एमाले नेता महेश बस्नेतले दुर्गा प्रसाईँको दिन आजैदेखि सकिएको बताएका थिए। ‘सरकारले दुर्गा प्रसाईँलाई जेल हाल्नुपर्छ,’ बस्नेतले भने ।
साभारः देशसंचार

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल