काठमाडौं– चिसोका कारण २२ जना भूकम्प पीडितको मृत्यु भएको छ ।

जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुको मृत्यु भएको हो । भूकम्पले गर्दा घरबास गुमेपछि त्रिपालमा बस्दै आएका भूकम्पपीडितले चिसोकै कारण ज्यान गुमाइरहेका छन् । त्यसरी मृत्यु हुनेमा जाजरकोटमा १९ र रुकुम पश्चिममा ३ जना छन् ।

ती जिल्लाहरुमा रहेका स्वास्थ्य संस्थाहरुले जनाए अनुसार अत्यधिक चिसोको बसाई र रोगप्रतिरोधात्मक क्षमता कम भएकाले दीर्घरोगी तथा बालबालिकाले समयमै उपचार नपाउँदा ज्यान गुमाएका छन् ।

अधिक चिसोले झाडापखाला, ज्वरो र रुघाका बिरामी बढेका छन् भने मुटु रोगी, दमका बिरामी, उच्च रक्तचाप र मधुमेहका बिरामीहरुको अवस्था झन् बढ्दो रहेको बताइएको छ । स्वास्थ्य संस्थामा दैनिक ढेडसयको हाराहारीमा बिरामी उपचारका लागि आइरहेका छन् ।

अहिलेसम्म एउटा परिवारका लागि १÷१ थान त्रिपाल र कम्बलको भरमा ५÷७ जनाको परिवार बसेका छन् भने राति चुहिने शीत र चिसो सिरेटो थेग्न नसक्दा स्वास्थ्य समस्या देखिएको भूकम्प क्षेत्रका कार्यरत स्वास्थ्य संस्थाले जनाएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका अनुसार ५ वर्षमुनिका साढे १० हजार जना बालबालिका र १३ सय ६० जना गर्भवती र ९ सय सुत्केरी भूकम्पबाट प्रभावित छन् ।

त्यसैगरी रुकुम पश्चिममा ५ वर्षमुनिका साढे ५ हजार बालबालिका १ हजार ६८ गर्भवती र ७३९ सुत्केरी प्रभावित भएका छन् ।
जाजरकोट र रुकुम पश्चिममा गरेर १ सय ५६ जनाको मृत्यु भएको थियो भने दुवै जिल्लामा गरेर ५५ हजार परिवार विस्थापित छन् ।

स्वयंसेवी संघसंस्था र राजनीतिक दलले १ हजार परिवारलाई अस्थायी टहरा निर्माण गरिदिएका छन् भने ५४ हजार घरपरिवार त्रिपालमुनि छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल