काठमाडौं–मधेस प्रदेशको बारास्थित सिम्रौनगढ नगरपालिकामा आन्दोलनरत शिक्षक–कर्मचारी र प्रहरीबीच झडपमा बुधबार एक जनाको मृत्यु भएको छ ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा टाउकोमा गोली लागेका सिम्रौनगढ–१ ननसगराढाँटका २५ वर्षीय लक्ष्मी मुखिया बिनको मृत्यु भएको त्यहाँको स्थानीय प्रशासनले जनाएको छ । बिनको नारायणी अस्पतालमा मृत्यु भएको हो ।
नगरपालिका कार्यालय पुगेका मेयर किशोरी साह कलवार र प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई आन्दोलनरत कर्मचारी र शिक्षकले आक्रमणको प्रयास भएको थियो । उनीहरुले मेयरको गाडीमा तोडफोड गरेका थिए ।
सोही क्रममा प्रहरी, आन्दोलनरत कर्मचारी र शिक्षकहरु बीच धकेलाधकेल भएपछि प्रहरीले लाठीचार्ज गरेर स्थिति नियन्त्रण लिने क्रममा २०–२५ राउन्ड अश्रु ग्यास र हवाई फायर गर्नु परेको थियो भने आन्दोलनकारीको तर्फबाट ढुंगा प्रहार हुँदा १० जना प्रहरी घाइते भएका थिए ।
दुई महिना यता मेयर साह र प्रमुख प्रशासकीय अधिकृत नियमित थिएनन् । मेयर साहले हालै पचरौता नगरपालिकाबाट सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत मिश्रलाई हाजिर गराउन नगरपालिका पुगेका थिए । मेयर साह लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित हुन् । तर नगरसभामा नेपाली कांग्रेसको बहुमत छ ।
यसअघि मेयर साहले नगरसभा सम्पन्न भएको भनेर सार्वजनिक गरे पनि कांग्रेसका जनप्रतिनिधिहरूले भने नगरसभा नभएको भन्दै विरोध जनाउँदा विवाद उत्पन्न भएको हो । जनप्रतिनिधिको विवादले नगरपालिकाको काम कारबाही प्रभावित हुँदा कर्मचारी र शिक्षकहरु आन्दोलित बनेका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !