काठमाडौं – भूकम्प गएको आठवर्षसम्मपनि नुवाकोटमा रहेको साततल्ले दरबारको पुनर्निर्माण नभएको भन्दै विदुरनगरपालिकाले चीनीयाँ दूतावासलाई ध्यानाकषर्णपत्र बुझाएको छ ।
चीन सरकारको सहयोगमा पुननिर्माण गर्ने भनिएपनि कोरोनाका कारण ढिलाई भएको थियो भने पछिल्लो समय पुनर्निर्माणमा निर्माण पक्ष उदासिन देखिएको भन्दै विदुरनगरपालिकाले ध्यानाकर्षण पत्र बुझाएको नगरप्रमुख राजन श्रेष्ठले बताए ।
नगरप्रमुख श्रेष्ठले बुझाएको पत्रमा उल्लेख भए अनुसार भूकम्पबाट क्षतिग्रस्त भएपछि साततले दरबार र दरबार परिसरमा रहेका गारदघर, शितलपाटी, तलेजु भवानी मन्दिरलगायतका ऐतिहासिक तथा धार्मिक संरचनाहरुको मित्रराष्ट्र चीन सरकारको तर्फबाट पुनर्निमाण सम्पन्न गर्ने गरी सात वर्षअघि सम्झौता भएकोमा हालसम्म पुननिर्माण कार्यले गति लिन नसकेको बताइएको छ ।
पत्र बुझ्दै चीनीया दूतावासका कन्सुलर सिय युले विश्वभर फैलिएको महामारी कोभिड–१९ को कारण सबै कार्य ठप्प गरिएको र दरबार पुनर्निर्माणमा प्राविधिक कठिनाई भएकाले ढिलाई हुन गएको जनाए ।
त्यसपछि विदुरनगरका जनप्रतिनिधि र जिल्ला समन्वय समितिका जनप्रतिनिधि बीच साततले दरबारको पुनर्निर्माणमा भएको ढिलाई, त्यसमा देखिएको समस्या र सामाधानको विषयमा चाईनिज काउन्सिलर सहितको टोलीसंग छलफल भएको थियो ।
नगरप्रमुख श्रेष्ठसहित जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, नगर उपप्रमुख प्रभा बोगटी, १३ वटै वडाका जनप्रतिनिधिहरुको टोलीले चिनिया राजदुताबास काठमाडौं पुगी आर्थिक तथा वाणिज्य कन्सुलर सिय युमार्फत् चिनियाँ राजदुत चेन सोङलाई साततले दरबार पुननिर्माणको प्रतिबद्धता पूरा गर्न ध्यानाकर्षण पत्र बुझाएका थिए ।
दरबारको पुर्नानिर्माण हुन नसक्दा नुवाकोटका ऐतिहासिक संरचनाहरु झन्ै अग्नावशेषमा परिणत भई अस्तित्व मासिने डर बढेको छ । नुवाकोटसँग जोडिएका ऐतिहासिक दस्तावेज सहितका ईतिहास सभ्यता र सांस्कृतिक धरोहर मासिने क्रम बढेको छ ।
साततले दरबार पुनर्निर्माण गर्न चाईना एकेडेमी अफ कलचरल हेरिटेज जिम्मा लिएको थियो । दरबार पुनर्निर्माणको लागि चीनीयाँ दूतावासका पदाधिकारीलाई जिसस प्रमुख ठकुरी र नगरप्रमुख श्रेष्ठले स्थानीय तहबाट गर्न सकिने सबै सहयोग गर्न प्रतिवद्धता जनाएका थिए ।
पुरातात्विक सम्पदा साततल्ले दरबार लगायतको अवलोकन गर्न बाह्य तथा आन्तरिक पर्यटक आउने गर्थे । भूकम्पपछि ती सम्पदा नबन्दा सुनसान छ । दरबार लगायतका सम्पदा विदुरनगरपालिका वडा २ मा पर्छ । पुननिर्माण गर्नुपर्ने सम्पदाहरुमा साततल्ले दरबार लगायत लामपाटी, सेतो पाटी, विष्णु मन्दिर, नारायण मन्दिर, गारद घर, रंगमहल, तलेजुभवानी मन्दिर छन् ।
२०७२ साल बैशाख १२ र २९ गते आएको महाभुकम्पले ती सम्पदाहरुमा क्षति पुगेको हो । अहिले ती सम्पदालाई फलामे टेको र छाना जस्तापाताले छोपेर राखिएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले आफ्नो कार्यकालमा काठमाडांैको बसन्तपुर दरबार पुननिर्माण सकिएपछि नुवाकोटका सम्पदा पुननिर्माण थाल्ने भनेको थियो । साततल्लेदरबार १९९० सालको महाभुकम्प अघि ९ तल्ला रहेकोमा भत्केर साततल्ला भएको इतिहासमा उल्लेख छ । यो दरबार गोरखाका राजा पृथ्वीनारायण शाहले १८०१ सालमा नुवाकोट एकिकरण गरेपछि १८१७–१९ सालमा ललितपुरबाट कालीगढ झिकाएर दरबार निर्माण गराएको ईतिहास छ ।
नुवाकोट साततल्लेदरबार लगायतका सम्पदा काठमाडौंदेखि ७३ किमी दुरीमा सदरमुकाम विदुरदेखि ६ किमी माथि छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !