काठमाडौं– ३ सय २ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस देशका विभिन्न ठाउँमा विविध कार्यक्रम गरी मनाइएको छ ।
शुक्रबार काठमाडौंस्थित सिंहदरबारको पश्चिम ढोकामा रहेको राजा पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति रामचन्द्र पौडेल लगायतले फूलमाला चढाएर राष्ट्र निर्माताको संझना गरेका थिए । नेपाली सेनाले सम्मान अर्पण गरेको थियो ।
त्यसैगरी राजा पृथ्वीनारायण शाहको जन्मस्थान गोरखामा पनि विविध कार्यक्रम गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको थियो ।
त्यसैगरी नुवाकोट सदरमुकाम विदुरमा राप्रपा जिल्ला कार्य समिति नुवाकोटद्वारा आयोजित ३०२ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा जिल्ला अध्यक्ष कुलबहादुर खड्गी र केन्द्रिय सहमहामन्त्री झनक प्याकुरेल लगायत नेता तथा कार्यकर्ताले राजा पृथ्वीनारायण शाहले गरेका योगदानको बारेमा चर्चा गरेका थिए ।
राजा पृथ्वीनारायण शाहको तस्बिर र व्यानर सहित र्याली गर्दै बट्टारबजार, दम्की, विदुरबजार हुंदै पार्टी कार्यालय छेउमा आएर सभामा परिणत भएको थियो । त्यसपछि उनको तस्बिरमा माल्यअर्पण गरिएको थियो ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिं लामा तामाङले राजा पृथ्वी नारायण शाहले गरेका योगदानको चर्चा गरेका थिए भने विदुरनगरपालिकाका मेयर राजन श्रेष्ठ राजा पृथ्वी नारायण शाहको दिव्यउपदेशले अहिले सान्दर्भिकताको बारेमा चर्चा गर्दै उनले बनाएको दरबारलाई चीनीया पक्ष्ँले छिटो निर्माण कार्य गर्नुपर्ने बताए ।
मेयर श्रेष्ठले नगरभित्र भैरहेका कामको बारेमा स्थानीयलाई जानकारी गराए । विश्व हिन्दू महासंघ नुवाकोटका अध्यक्ष यज्ञराज केसी, नुवाकोट नागरिक समाजका कुशबहादुर डंगोलले राजा पृथ्वी नारायण शाहले नुवाकोट एकीकरणको विषयमा चर्चा गरेका थिए ।
नेपाल एकीकरण गरेको पहिलो ठाउ“ पुरानो सदरमुकाम नुवाकोटमा विदुरनगरपालिका वडा २ कार्यालयव्दारा आयोजित कार्यक्रममा टुडिखेलहुँदै भैरवी मन्दिर प्रांगणमा राजा पृथ्वी नारायण शाहको तस्बिरमा माल्यअर्पण गरेको थियो भने साततल्ले दरबारमा राजा पृथ्वीनारायण शाह जिवित हुँदै बनाएको अर्थ कदको शालिकमा पनि माल्यअर्पण गरिएको थियो ।
नेपाली सेना जबरजंग गणले सलामी अर्पण गरेको थियो ।
पृथ्वी नारायण शाह तस्बिर र कलश सहित टुडिखेलबाट जबरजंग गणका सेना सहित खैचडीभजन समूहले र्याली भैरवी मन्दिरमा आएर सभामा परिणत भएको थियो । कार्यक्रममा साततल्ले दरबार लगायत ऐतिहासिक सम्पदाको निर्माणका लागि आएका चीनीयाँ दूतावासका व्दितीय सचिवको टोली, प्रमुख जिल्ला अधिकारी लगायत सरकारी कार्यालयका पदाधिकारी सहभागी थिए ।
त्यसैगरी विदुरनगरपालिका ५ स्थित देविघाटमा पृथ्वी स्मारक समितिले आयोजना गरेको खेलकुद, नृत्य लगायत विविध कार्यक्रममा सहभागीलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
त्यहाँ पनि राजा पृथ्वीनारायण शाहको शालिकमा माल्यअर्पण गरिएको थियो । देवीघाटमा समितिले गरेको कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तामाङ, मेयर श्रेष्ठ लगायत विभिन्न वक्ताहरुले आआफ्नो धारणा राखेका थिए । कार्यक्रम समितिका अध्यक्ष गोविन्दलाल चित्रकारको सभापतित्वमा भएको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !