काठमाडौ– मदेशप्रदेशको रौतहटमा सरस्वतीको मुर्ति सेलाउने विषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ ।

ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा शनिबार साँझ दुई पक्षबीच झडप भई स्थिति नियन्त्रण बाहिर गएपछि स्थानीय प्रशासनले कफर््यू आदेश गरेको हो । झडपमा केही स्थानीय घाइते भएका छन् भने घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले दुई पक्षबीच झडपको अवस्था सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गरिएको जनाएका छन् । स्थानीय प्रशासनले पूर्वमा जोकाहा गाउँ, पश्चिममा घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकालसम्मको लागि कर्फ्यू लगाएको छ ।

घिउरा गाउँका स्थानीयले सरस्वतीको पूजा गरेर शुक्रबार नजिकको पोखरीमा मूर्ति सेलाउन लैजान लागेपछि अर्को पक्षले डिजे बाजा बजाएको भन्दै अवरोध सिर्जना गरेको थियो । त्यसपछि मूर्ति सेलाउन जानेहरुले बाटोमै मूर्ति राखेर बसेका थिए ।

शनिबार स्थानीय प्रशासनको रोहबरमा दुबै पक्षलाई राखेर साम्प्रदायिक सद्भाव कायम राख्न अनुरोध गर्दै मूर्ति सेलाउन दिने सहमति भएपनि उच्छृंखल व्यक्तिहरुले ढुंगामुडा गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । स्थिति नियन्त्रणमा लिँदै दुवै पक्षलाई सम्झाउने प्रयास स्थानीय प्रशासन लागिपरेको बताइएको छ ।

विगत ५ वर्षयता उक्त गाउँमा मूर्ति सेलाउने बिषयमा दुई पक्षबीच झडप हुँदै आएको बताइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल