काठमाडौं–देशभर विविध कार्यक्रम गरी ७४ औं प्रजातन्त्र दिवस मनाइएको छ । संघीय राजधानी काठमाडौंको टुडिखेलमा राष्ट्रपति, प्रधानमन्त्री लगायत उच्चपदस्थ अधिकारी सहित प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मनाइएको थियो । विभिन्न जिल्लामा प्रभातफेरी, दौड प्रतियोगिता गरेर मनाइएको थियो ।
त्यसैगरी नुवाकोटमा पनि प्रभातफेरी र दौड प्रतियोगिताको कार्यक्रम गरेर दिवस मनाइएको हो । व्यानर र राष्ट्रिय झण्डा लिएर विदुरनगरपालिका लोकतान्त्रिक चोक हुँदै दम्की, विदुरबजार, मैथली क्याम्प, बट्टारबजार, नुवाकोट आदर्श बहुमुखी क्याम्पस, हावाघर हुँदै बसपार्कमा जम्मा भई कोणसभामा परिणत भएको थियो । प्रजातन्त्र दिवसका अवसरमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय प्रशासन, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा पदाधिकारीहरु, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, नागरिक समाज, विदुरनगरपालिकाका प्रमुख तथा पदाधिकारी लगायत सहभागी थिए ।
प्रजातन्त्र दिवसको अवसरमा नुवाकोटमा ५ किमीमा सुरक्षा निकाय र डेढ किमी दौडमा निजामती कर्मचारीको दौड आयोजना गरिएको थियो । सुरक्षा निकायतर्फको ५ किमी दौड प्रतियोगितामा पहिलो जबरजंग गणका समर खनखवास, दोस्रो नेपाल प्रहरीका विनोद खड्का र तेस्रो १ नम्बर सैन्य तालिम केन्द्रका वीरेन्द्रकुमार खड्का भए ।
त्यसैगरी निजामती कर्मचारीतर्फको १५ सय मिटर दौडमा जिल्ला प्रशासन कार्यालयका रामचन्द्र पण्डित पहिलो, नेपाल टेलिकमका राजेन्द्र महर्जन दोस्रो र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका राजकुमार केसी तेस्रो भए ।
प्रजातन्त्र दिवसको अवसरमा दलका प्रतिनिधिहरुले जहानीय राणा शासन अन्त्य भई देशमा जनताको मौलिकहक र अधिकारलाई सुनिश्चित भएको स्मरण गरेका थिए । नागरिक समाजका अध्यक्ष बद्री त्रिपाठी, जिसस उपप्रमुख दलबहादुर तामाङ, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, विदुरनगरपालिकाका मेयर राजन श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रम सिंह ठकुरी लगायतले प्रजातन्त्र दिवसको अवसरमा आ–आफ्नो धारणा राखेका थिए ।
राष्ट्रिय धावक बैकुण्ठ मानन्धरलाई नुवाकोट मायाको चिनो दिएर सम्मान गरिएको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !