काठमाडौं–पर्सा जिल्लाको वीरगन्जमा सोमबार साँझ ५ देखि अनिश्चितकालीन कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले सार्वजनिक सूचना जारी गरेर वीरगन्ज महानगरपालिका क्षेत्रमा साँझ ५ बजेदेखि आदेश जारी गरेको हो ।
रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा सरस्वतीको मूर्ति सेलाउने विषयलाई लिएर हिन्दु र मुस्लिम समुदायबीच पाँच दिनदेखि जारी विवादलाई लिएर वीरगन्जमा पनि सोमबार दुई फरक समुदायबीच ठाउँ–ठाउँमा झडप भएपछि स्थिति नियन्त्रण बाहिर गएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालव्दारा जारी विज्ञप्तिमा जनाएका छन् ।
स्थानीय प्रशासन पर्साले जारी गरेको कर्फ्यु आदेशमा वीरगन्जको सीमा क्षेत्र पूर्वमा नगवा चोक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिण भन्सारको मितेरी पुलभित्र महानगरको क्षेत्रमा कर्फ्यु लगाइएको छ ।
सोमबार दिउँसोदेखि केही हिन्दुवादीले प्रदर्शन गर्दै बजार बन्द गराउने क्रममा हिन्दुवादी र प्रहरीबीच झडप भए र हिन्दुवादीले बजार बन्द गराउने क्रममा केही पसलमा तोडफोड गरेपछि मुस्लिम समुदायका एक समूहले अवरोध गर्न खोज्दा प्रहरीले हस्तक्षेप भएको थियो । त्यसैगरी हिन्दूवादीले नाराजुलुस निकालेर बजार बन्द गराउँदै हिँडेपछि मुस्लिम समुदायको एक समूहले आदर्शनगर र महावीरस्थानमा हिन्दु धर्मको झण्डा च्यात्न थालेपछि स्थिति नियन्त्रण बाहिर गएको थियो ।
त्यसपछि वीरगन्जको इदगाह चोकमा मुस्लिम समुदायका युवाले सडकमा टायर बालेर प्रदर्शन गरेपछि प्रहरी हस्तक्षेपको क्रममा लाठीचार्ज भएपछि स्थिति उग्र बनेको थियो । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरे भने प्रहरीले भीड नियन्त्रण गर्न १० राउन्डभन्दा बढी अश्रुग्यास प्रहार गरेका थिए ।
यसअघि हिन्दुवादीले रौतहट, महोत्तरी लगायतका जिल्लामा हिन्दुमाथि अत्याचार भएको भन्दै संलग्नलाई कारबाहीको माग स्वरुप स्थानीय प्रशासन पर्सामा ज्ञापनपत्र बुझाएका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !