नुवाकोट–बेलकोटगढी नगरपालिकाका गुठीका किसानले कमाईरहेको जग्गा रैतानी गर्न माग गरेका छन् ।

जुन उद्देश्यको लागि गुठी राखिएको हो, त्यसको व्यवस्थापन स्थानीय तहले बजेट व्यवस्था गर्न थालेको र तत्कालिन समयको पाटी, पौवा आदि नभएको अवस्था हुँदा किसानलाई रैती बनाईराख्नु अन्यायपूर्ण भएको किसानको भनाई छ । दुईपिपलमा वैषाख ११ गते भएको भेलामा ८२ जना (३४ महिला र ४८ पुरुष) किसान सहभागी थिए ।

दुईपिपल गाउँमा ४ किसिमका (त्रिपुरेश्वर, कुमारी माई, कोट मामिलीत र झिल्केश्वर) गुठीबाट सयौं परिवार प्रभावित छन् । पुस्तौंपुस्ता खेतीपाती गर्दै आएको, कतिपयको घरवाससमेत भएको जग्गाको कानुनी स्वामित्व नहुँदा अंशबण्डा, कित्ताकाट, नामसारी, धितोबन्धकी आदि कार्यमा समस्या परेको छ । गुठीको समस्याबारे छलफलमा बाल्दै पीडित किसानहरु नारायणदास श्रेष्ठ, कुसबहादुर श्रेष्ठ, रामबहादुर थापा मगर, शिवलाल श्रेष्ठ, शान्ति श्रेष्ठलगायतले गुठी जग्गा रैकर गरी किसानलाई नै लालपुर्जा दिनुपर्ने माग राखेका थिए । कार्यक्रममा सहभागी बेलकोटगढीनगरापालिका ५ का वडाध्यक्ष मदन भुजेलले वडाबाटै गुठी पीडित किसानको लगत लिने काम सुरु गर्ने र गुठी संख्या एकिन गर्न १५ दिने सूचना जारी गर्ने बताए ।

भूमि अभियान्ता कल्पना न्यौपानेले नुवाकोटका विभिन्न गुठीमा गरी १५ हजार घरपरिवार आस्रित रहेको बताइन् ।

जिल्ला भूमि अधिकार मंच नुवाकोटका अध्यक्ष विन्दा नेपालको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला भूमि अधिकार मञ्च, नुवाकोटका पूर्वअध्यक्ष चूडामणि गजुरेल, जिल्ला भूमि अधिकार मञ्च, रसुवाका अध्यक्ष भवानीप्रसाद न्यौपाने(वासु), राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालका कोषाध्यक्ष पातली थामीले किसानले गुठी जग्गाको लालपुर्जा नहुँदा भोग्न परिररहेको समस्या पीडादायी रहेकाले सङ्गठितरुपमा आन्दोलन गरेर मात्रै राज्यबाट लालपुर्जा लिन सकिने धारणा राखेका थिए । उनीहरुले भने,‘सङ्गठनमा शक्ति हुन्छ, त्यसैले हाम्रो गाउँ मञ्चहरूलाई बलियो बनाएर आन्दोलन गरौँ ।’

आत्मनिर्भर केन्द्रका कार्यकारी निर्देशक जगत देउजाले किसानले जोतभोग गर्दै आएको जग्गाको रैकर लालपुर्जा नपाउनु किसानमाथि ठूलो अन्याय भएको बताए । उनलेभने,‘सरकारले गुठीको नयाँ कानुन ल्याउँदैछ, नयाँ कानुनले किसानको समस्या समाधान गर्र्नुपर्छ । तर, कानुन कस्तो बन्ने कुराको ग्यारेण्टी छैन, त्यसैले आफ्नो समस्या कसरी समाधान हुन्छ भन्ने ज्ञान किसानसँग हुने भएकाले सरकारले सुन्ने गरी आन्दोलन गर्न जरुरी छ ।’

रसुवाको हाकुमा गुठी पीडित किसान भेला

रसुवा आमाछोदिङ्मो गाउँपालिका १ ठूलो हाकु गाउँमा गुठी किसान भेला सम्पन्न भएको छ ।

बुधबार भएको भेलामा गुठी पीडित किसानलगायत स्थानीय सरकारका प्रतिनिधिहरूसहित २५ महिला र ४८ पुरुष गरी ७३ जना सहभागी थिए ।

हाकुमा किसानहरूले पुस्तौंदेखि जोतभोग गरी जीविका चलाउँदै आएको जग्गा जमिनपछि किसानले थाहा नपाउने गरी पुरानो स्यम्भु घ्याङ गुठीको नाममा दर्ता भएपछि किसानहरू समस्यामा छन् । उनीहरूसँग जोतभोग गरेको जग्गाको लालपुर्जा पाएका छैनन् ।

विगत १८ वर्षदेखि किसानहरूले आन्दोलनमार्फत जग्गा रैकर गराउन प्रयास गरेपनि हालसम्म त्यो पूरा हुन सकेको छैन । गुठी जग्गाबाट यहाँको ठूलोहाकु, सानो हाकु, हाकुबेसी, फुलबारी, थाङ्कु, गोर्सुम्बा र लुम्बुडाँडा गाउँका करिव ७०० घरधुरी प्रभावित छन् । हालसम्म करिव २०० घरधुरीले मात्रै मोही पुर्जा बनाइ लिन सकेका छन् भने ठूलो सङ्ख्याको किसानहरूसँग मोही पुर्जा समेत नहुँदा समस्या भोगिरहेका छन् ।

छलफलको क्रममा बोल्ने अगुवा लाक्पा तामाङले भने,‘पुस्तौंपुस्ता खेतीपाती गर्दै आएको, सबैको घरवाससमेत भएको जग्गाको कानुनी स्वामित्व नहुँदा दुःख पाएका छौँ । हामी सुकुम्बासी सरह जीवन विताउनु पर्दा ज्यादै दुःख लागेको छ ।’
किसानहरूले गुठी जग्गा हुँदा भोग्नु परेको पीडा सुनाएका थिए । केही किसानहरूले अहिले पनि गुठी जग्गा जोतभोग गरेवापत कुत तिरीरहेको भएपनि अधिकाशं किसानहरू कुत तिर्न छाडेका छन् । किसानहरूले काठमाडौंस्थित स्यम्भुघ्याङ गुठीलाई प्रति रोपनी वार्षिक २०० रुपैयाँ नगद तिर्नुपर्ने बाध्यता छ । भीर, पाखा, पखेरो, झाडी भएको क्षेत्र बढी छ । ‘उव्जनी हुँदैन, तैपनि मँहगो तिरो तिर्न कठिन भएको छ,’ गुठी पीडित किसान काल्साङ तामाङले भने ।

कार्यक्रममा १ का वडाध्यक्ष साङलामा तामाङले भने,‘हामी सबै वडाबासी भूमिहीन सरह छौँ । कसैको पनि आफ्नो नाममा एक टुक्रा जग्गा छैन । गुठी समस्या भएकाले किसानहरूले दुःख कष्ठ भोगिरहनु परेको छ । अव, हामी सबै एकैसाथ सङ्गठित भएर नै लाग्नुपर्ने अवस्था छ । हामी प्रभावित गाउँ गाउँमा सङ्गठन बनाएरै सङ्गठित आन्दोलन गर्नुपर्ने आवश्यकता भइसकेको छ,’ उनले थपे,‘यो गुठी समस्या समाधानको लागि जिल्ला भूमि अधिकार मञ्चको सहयोग पनि जरुरी हुनेछ । अव जसरी पनि किसानको समस्या समाधानको लागि पहल लिन्छु ।’

आत्मनिर्भर केन्द्रका कार्यकारी निर्देशक जगत देउजाले नापीको समयमा रैकर हुनुपर्ने जग्गा गुठीमा राखिएकाले विना ढिलाई सबै जग्गा रैकर हुनुपर्ने तर्फ स्थानीय सरकारले पहल लिनु पर्ने बताए । ‘किसान जुट्न सके पुर्जा लिन सकिन्छ । अहिलेको तिरो बढी भएकाले रैकर सरह हुनेगरी माग गर्ने र वडामा तिरो बुझाउन पाउने व्यवस्था हुन आवश्यक छ,’ उनलेभने,‘सरकारले गुठीको नयाँ कानुन ल्याउँदैछ, यही सन्दर्भमा हामी पनि यहाँको गुठी किसानको समस्याबारे सुझाव दिन्छौँ, समस्या समाधानको लागि सहजीकरणको भूमिका निर्वाह गर्छौँ । तपाईंहरू पनि सङ्गठित हुनुहोस्, समस्याको समाधान खोजौँ ।’

राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालका कोषाध्यक्ष पातली थामीले भनिन्,‘यहाँको किसानले गुठी जग्गाको लालपुर्जा नहुँदा भोग्न परिररहेको समस्या पीडादायी रहेछ । अव, सङ्गठितरुपमा आन्दोलन गरौँ, राज्यबाट लालपुर्जा लिन दबाब दिउँ, उनले थपिन्,‘अहिले दाङलगायत देशैभरी गुठी समस्या समाधानको लागि किसानहरू आन्दोलनमा छन्, यहाँ (हाकु) बाट पनि किसानहरू एक पनि फेरी हाम्रो गाउँ मञ्चहरूलाई बलियो बनाएर आन्दोलनमा जुटौँ ।’

कार्यक्रममा जिल्ला भूमि अधिकार मञ्च, रसुवाका अध्यक्ष भवानीप्रसाद न्यौपाने(बासु)ले भने,‘हामीले धेरै सङ्घर्ष गरेर यहाँका १५० भन्दा बढी किसानहरूलाई मोही पुर्जा दिलाएर आफ्नो हक सुरक्षित गराउन सफल भएका छौँ । फिल्डबुकमा सिसाकलमले लेखिएको हकमा किसानहरूलाई मालपोत कार्यालयले लालपुर्जा बनाएर दिन मानेको छैन । त्यसको लागि हामी सबै फेरी पनि सङ्गठित दबाब दिनुजानुपर्ने अवस्था छ । १८ वर्षदेखि हामी सँगै आन्दोलनमा छौँ, अव छिट्टै यो समस्या समाधानको लागि सङ्घीय सरकारसँग छलफल गर्न जाउँ र समस्या समाधानको लागि पहल लिउँ ।’

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल