नुवाकोट– २२० केभी त्रिशूली ३ बी हब सबस्टेसन र ३३ केभी भाल्चे सबस्टेसन आयोजना अन्तर्गत त्रिशूली ३ बी हब र भाल्चे सबस्टेसनको उद्घाटन गरिएको छ ।
नुवाकोटको किस्पाङगाउँपालिका ५ स्थित पहिरेबेंंसीमा निर्माण गरिएको त्रिशूली थ्री बी हब र आयोजनाको कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत छिमेकी विद्युतीकरण कार्यक्रमबाट किस्पाङ गाउँपालिका १ भाल्चेमा निर्माण गरिएको ३३ केभी विद्युत् वितरण सबस्टेसन संयुक्तरुपमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेत र युरोपेली आयोगकी अन्तर्राष्ट्रिय साझेदारी उपमहानिर्देशक मिरियम फेरन, युरोपेली युनियन (इयु)की राजदूत भेरोनिक लोरेञ्जो, जर्मन राजदूत थोमस र युरोपेली लगानी बैंककी निर्देशक थौउराया ट्रिकीले शुक्रबार संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
त्रिशूली थ्री बी हब सबस्टेसनको लागत १ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । त्रिशूली–काठमाडौं २२० केभी प्रसारण लाइनबाट त्रिशूली थ्री बी हब सबस्टेसन मातातीर्थ सबस्टेसनसँग जोडिएको छ । १ सय ४ रोपनी जग्गामा निर्माण गरिएको छ ।
भाल्चे सबस्टेसन तथा त्रिशूली थ्री बी हब–भाल्चे ३३ केभी प्रसारण लाइनसहित छिमेकी विद्युतीकरण कार्यक्रमको लागत ४२ करोड ९३ लाख रुपैयाँ रहेको छ ।
मन्त्री बस्नेतले त्रिशूली नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् प्रवाहका लागि विद्युत् प्रणाली व्यवस्थापनका लागि सबस्टेसन निर्माण महत्पूर्ण रहेको बताए ।
युरोपेली आयोगकी उपमहानिर्देशक फेरनले जलवायु परिवर्तनबाट सिर्जित समस्यासँग जुध्न नवीकरणीय हरित ऊर्जाको उत्पादन वृद्धिका लागि सबस्टेसन महत्त्वपूर्ण रहेको बताइन् । जर्मन राजदूत थोमस प्रिन्ज उत्पादित स्वच्छ हरित ऊर्जा उपभोक्ताको घरसम्म पुर्याउनु पर्ने बताए ।
चिलिमे हब–त्रिशूली थ्री बी हब प्रसारण लाइन एक महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको आयोजनाले जनाएको छ । सबस्टेसनबाट १२ सय मेगावाट विद्युत् प्रवाह हुन सक्ने बताइएको छ ।
६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ए, २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, १११ मेगावाटको रसुवागढी, ४२ दशमलव ५ मेगावाटको सान्जेन, तादी खोलाका विभिन्न आयोजनाहरुको ४२ मेगावाट, ३७ मेगावाटको माथिल्लो त्रिशूली थ्री बी, १४ दशमलव ८ मेगावाटको माथिल्लो सान्जेन, १४दशमलव ३ मेगावाटको माथिल्लो मैलुङलगायतका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् यही प्रसारण लाइन तथा सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा जोडिने छ ।
प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि चिनियाँ कम्पनी पिङगाओ गु्रप अफ कम्पनीसँग २०७४ साल कात्तिकमा ठेक्का सम्झौता भएको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !