काठमाडौं– हेलिकप्टर दुर्घटनामा परेर ६३ वर्षीय इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ ।
आइतबार भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रइसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको इरानी संचारमाध्यमहरुले जनाएका छन् । दुर्घटनामा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मालेक रहमातीको पनि मृत्यु भएको बताइएको छ । इरानी सञ्चारमाध्यमहरुले जनाए अनुसार हेलिकप्टरमा सवार ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा राष्ट्रपति सवार बेल–२१२ हेलिकप्टरको पछाडिको केही भागबाहेक सबै जलेको बताइएको छ ।
इरानी सञ्चारमाध्यमहरूका अनुसार आइतबार अजरबैजानसँगको सीमा क्षेत्रमा बाँधको उद्घाटन गरेपछि फर्किँदै गर्दा राष्ट्रपति रइसी सवार हेलिकप्टर दुर्घटनामा परेको हो ।
को हुन् रइसी ?
इरानी राष्ट्रपति रइसी ईस्वी सन् २०२१ मा इरानको राष्ट्रपति चुनिएका थिए । उनी न्यायिक तथा धार्मिक कुलिन वर्गसँग निकटता थियो । उनी इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको सम्भावित उत्तराधिकारीका रुपमा हेरिएको थियो । सन् २०१७ मा उनी राष्ट्रपतिका लागि उम्मेदवार बनेका पनि हसन रुहानीसँग पराजित भएका थिए ।
इरानमा सर्वोच्च नेतापछि राष्ट्रपतीय पद दोस्रो वरियतामा पर्थे ।
इरानमा राज्यसम्बन्धी सम्पूर्ण मामिलाबारे अन्तिम निर्णय सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले लिने गर्छन् भने देशको आन्तरिक र वैदेशिक मामिलामा भने राष्ट्रपतिको प्रभाव हुने गर्छ । सन् २०१७ मा राष्ट्रपति हसन रुहानीसँगको चुनावमा ठूलो अन्तरले हारेको २ वर्षपछि सन् २०१९ मा उनी न्यायपालिका प्रमुख नियुक्त भएका थिए । रइसी सन् १९८० को दशकमा राजनीतिक बन्दीहरुलाई दिइएको सामूहिक मृत्युदण्डमा उनको भूमिका रहेको भन्दै मानवाधिकावादीहरुले आलोचना गर्ने गरेका थिए । तर इरानले कहिल्यै सामूहिक मृत्युदण्ड नदिइएको बताउने गरेको थियो ।
अब के हुन्छ इरानमा ?
इरानी संविधानअनुसार कुनै पनि बहालवाला राष्ट्रपतिको निधन भएमा उपराष्ट्रपतिले कार्यभार सम्हाल्ने गर्छन् । त्यसका लागि सर्वोच्च नेता अयोतल्लाह अली खामेनीको सहमति चाहिन्छ । राष्ट्रपति पद रिक्त रहेकोले ५० दिनभित्र राष्ट्रपतिको निर्वाचन गर्नुपर्नेछ । राष्ट्रपति रइसीको निधनसँगै उपराष्ट्रपति मोहम्मद मुखबरले इरानी सत्ता सम्हाल्ने आकलन गरिएको छ । इरानमा १२ जना उपराष्ट्रपति रहने प्रावधान छ ।
इरानमा राष्ट्रपतीय चुनाव सन् २०२५ मा हुने तय भएको थियो । इरानी सर्वोच्च नेता खामेनी राज्य मामिलामा कुनै पनि अवरोध नहुने बताएका छन् ।
एजेन्सीको सहयोगमा
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !