नुवाकोट– जिल्लाको तेस्रो त्रैमासिक प्रगति समिक्षा सकिएको छ ।
जिल्ला समन्वय समिति(जिसस) नुवाकोटले शुक्रबार विदुरमा आयोजित कार्यक्रममा नुवाकोट जिल्लाका १२ वटै स्थानीय तहले नौ महिनाको अवधिमा पूँजीगत बजेट र खर्च अवस्था बारे कार्यप्रगतिको विवरण सहित जिल्ला समन्वय अधिकारी शान्तिराज प्रसाईंले प्रस्तुत गरेका थिए । उनले १२ वटै पालिकाबाट माग गरिएको तथ्यांकलाई कार्यक्रममा प्रस्तुत गरेका थिए । कतिपय भनिएका तथ्यांकहरु स्थानीय तहले उपलव्ध गराएका थिएनन् भने कतिपयमा हचुवाका भरमा तथ्यांकको खर्च विवरण पठाएका थिए । स्थानीय तहले नक्सापास, आन्तरिक राजश्व उठाएको, उपभोक्ता र ठेक्का प्रक्रियाबाट भए, गरेका काम,कर्मचारीको अवस्था, भौतिकपूर्वाधारतर्फ भएका कार्य, शिक्षा तथा स्वास्थ्यको अवस्था, टुक्रे योजनाले र दोहोरो योजना, गुणस्तरयुक्त काम, सामाजिक सुरक्षाभत्तामा देखिएको अनियमितता, बेरुजु लगायतका विषयमा कार्यप्रगति सम्बन्धी समिक्षा गरिएको थियो ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य राधिका तामाङले मध्यपहाडी लोकमार्ग निर्माणमा ढिलासुस्ती भएको बताउदै सरोकारवालाले समयमा निर्माण गर्ने जिम्मेवारी बहन गर्न सुझाइन् । उनले आगामी दिनमा प्रशासन र सुरक्षा निकायको पनि प्रगति विवरण प्रस्तुत हुनेमा आसावादी भएको जनाइन् । ‘हामी सबै आआफ्नो ठाउाबाट जिम्मेवार भएमा सुधार हुने छ,’ प्रदेशसभासदस्य तामाङले भनिन् ।
कार्यक्रममा प्रजिअ नुवाकोटका रामकृष्ण अधिकारी, कांग्रेसका उपसभापति राजु थापा, नेकपामाओवादी केन्द्रका पुष्प लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टीका रामेश्वर गजुरेल लगायतले आआफ्नो धारणा राखेका थिए ।
ऐतिहासिक नुवाकोट जन,जङ्गल र जलाधार, कृषि , पर्यटन , पुर्बाधार बिकास समृद्धिको आधार भन्ने नाराका साथ उक्त समिक्षा कार्यक्रम आयोजना गरिएको थियो ।
बागमती प्रदेश सदस्य रमेश महत, जिसस नुवाकोट प्रमुख रजिन्द्रबिक्रमसिंह ठकुरीको सभापतित्वमा भएको कार्यक्रममा जिसस उपप्रमुख दलबहादुर तामाङले कार्यक्रम संचालन गरेका थिए भने स्वागत मन्तव्य संतोषी देवकोटाले गरेकी थिइन् । कार्यक्रममा उपमेयर, गाउँपालिका अध्यक्ष,उपाध्यक्षहरु लगायत कार्यलय प्रमुखहरु र सरोकारवाला निकाय सहभागी थिए ।
त्यसैगरी अर्को छुटै प्रदेश तथा स्थानीयस्तर विषयहरुमा समन्वय र सहजीकरण कार्यक्रममा नदीजन्य पदार्थको मापदण्ड अनुसार कार्य नभएको कार्यक्रममा बताइयो । अधिकांश नगर तथा गाउँपालिकाले नदीजन्य पदार्थबाट उत्खनन र निकासीबाट आउने राजश्वको बारेमा छलफल भएको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !