काठमाडौं–दशैको दोस्रो दिन देवी मन्दिरमा भक्तजनको भीड लाग्न थालेको छ । यसै गरी काठमाडौंको शंखरापुर नगरपालिका साँखुमा रहेको प्रसिद्ध एवं प्राचीन बज्रयोगिनी मन्दिरको आकर्षण बढ्दै गएको छ ।

ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस मन्दिरलाई नेपालका प्राचीन बौद्ध विहारमध्ये एक महत्वपूर्ण स्थलका रूपमा लिइन्छ ।
बज्रयोगिनी विशेषगरी बौद्ध तथा हिन्दू धर्मावलम्बीको श्रद्धाको केन्द्र भएकाले पूजा तथा दर्शन गर्ने गर्छन् ।
साँखुको मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थासँग जोडिएको बज्रयोगिनी क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकका लागिसमेत आकर्षणको केन्द्र बन्दै आएको छ ।
काठमाडौँ उपत्यकाको साँखुस्थित प्राचीन बज्रयोगिनी मन्दिर धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण तीर्थस्थल हो । यहाँ बज्रयोगिनी देवीलाई शक्तिशाली देवीका रूपमा श्रद्धा गरिन्छ ।
पञ्चरङ्गी ज्वालाबाट देवीको उत्पत्ति
स्थानीय पौराणिक आख्यानअनुसार, मणिचूड पर्वतमा दुई ढुङ्गाको कापबाट पाँच रङका ज्वाला उत्पन्न भए। त्यही दिव्य ज्वालाबाट बज्रयोगिनी देवी प्रकट भएको विश्वास गरिन्छ। त्यसैले उहाँलाई ज्वालादेवीका रूपमा पनि व्याख्या गरिन्छ। पछि देवीको पूजाआजा सुरु भएको र उहाँको महिमा फैलिएको जनश्रुति छ।

देवीले साँखु उपत्यकाको पानी निकास गराएको कथा
अर्को चर्चित किंवदन्ती मणिशैल महावदान नामक धार्मिक आख्यानसँग सम्बन्धित छ । कथाअनुसार, प्राचीन समयमा काठमाडौँ उपत्यका पानीले भरिएको विशाल ताल थियो । मञ्जुश्रीले उपत्यकाको पानी बाहिर निकाल्नुअघि साँखुस्थित बज्रयोगिनी देवीको दर्शन गरी अनुमति लिएको बताइन्छ । देवीको कृपा र मञ्जुश्रीको प्रयासबाट चोभारको गल्छी काटेर काठमाडौं उपत्यकाभित्रको पानी बाहिर निकालिएको र उपत्यकामा बस्ती बस्न सम्भव भएको जनविश्वास छ ।
यो कथा धार्मिक परम्परा र किंवदन्तीमा आधारित हो । यसलाई ऐतिहासिक रूपमा प्रमाणित घटनाभन्दा सांस्कृतिक विश्वासका रूपमा बुझ्नु उपयुक्त हुन्छ ।
देवीको आज्ञाले साँखु सहर बनेको कथा
जनश्रुतिअनुसार, बज्रयोगिनी देवीले जोगदेव वज्राचार्यलाई दर्शन दिएर राजा शङखदेवलाई शङखको आकारमा सहर निर्माण गर्न प्रेरित गर्नुभएको बताइन्छ । देवीको सल्लाह अनुसार साँखु सहर शङखको आकारमा बनाइएको भन्ने जनविश्वास छ । यस किवदन्तीले बज्रयोगिनी मन्दिर र साँखुको पुरानो बस्तीबीचको धार्मिक सम्बन्ध दर्शाउँछ । मन्दिरसँग जोडिएका धार्मिक किंवदन्ती, देवीको महिमा र पुरातात्त्विक सम्पदाले यस स्थानको आकर्षण बढाएको छ ।
देवीको ८ दिने जात्रा
साँखुको बज्रयोगिनी जात्रा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमादेखि वैशाख कृष्ण अष्टमीसम्म मनाइन्छ । यो जात्रा सामान्यतया आठ दिनसम्म चल्छ । यस अवसरमा बज्रयोगिनी देवीसहित चिभाः द्यः, सिंहमुखी र बाघमुखीका मूर्तिहरूलाई खटमा राखेर बाजागाजासहित साँखु बजार परिक्रमा गराइन्छ । बौद्ध र हिन्दु दुवै समुदायका भक्तजन सहभागी हुने यस जात्राले स्थानीय धार्मिक आस्था र सांस्कृतिक एकतालाई प्रतिबिम्बित गर्छ । बज्रयोगिनी देवीको दर्शन, पूजाआजा र देवीको शक्तिसम्बन्धी परम्परा बुझ्न यहाँ लाग्ने वार्षिक जात्राको विशेष महत्व छ ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web












कुनै पनि प्रतिक्रिया पाईएन !