काठमाडौं–विनाशकारी बाढीले पुल बगाएपछि अवरुद्ध बनेको नुवाकोट विदुर नगरपालिका–१ स्थित त्रिशूली बजार र ढुङ्गे बजारबीचको आवतजावत अब सहज भएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघले आफ्नै पहल र आर्थिक सहयोगमा त्रिशूली नदीमाथि २६८ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो ।
गत भदौ १० गते आएको बाढीले त्रिशूली नदीमाथिको पुरानो पुल बगाएपछि स्थानीयवासीले आवतजावतमा ठूलो समस्या झेल्दै आएका थिए । बाढीबाट प्रभावित क्षेत्रका स्थानीयवासीको दैनिक आवतजावत तथा अत्यावश्यक सेवा सहज बनाउने उद्देश्यले महासंघले आफ्नै कोषबाट पुल निर्माणको काम अघि बढाएको हो ।
पुल निर्माण कार्य करिब एक महिनामै सम्पन्न गरिएको नुवाकोट निर्माण व्यवसायी सघले जनाएको छ । नेपाल निर्माण व्यवसायी महासंघको आर्थिक सहयोग तथा नुवाकोट निर्माण व्यवसायी संघको सक्रियतामा पुल निर्माण सम्भव भएको हो ।
नवनिर्मित पुलको शुक्रबार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे र विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरेका थिए । उद्घाटनसँगै पुल सर्वसाधारणका लागि सञ्चालनमा ल्याइएको छ ।
पुल सञ्चालनमा आएपछि त्रिशूली बजार र ढुङ्गे बजारबीचको आवतजावत सहज हुनुका साथै बाढीबाट प्रभावित स्थानीयको दैनिक जीवन सामान्य बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । विशेषगरी विद्यार्थी, किसान, व्यवसायी तथा दैनिक कामका लागि नदी वारपार गर्नुपर्ने स्थानीयलाई पुल सञ्चालनले प्रत्यक्ष राहत पुग्ने जनाइएको छ ।
बाढीले पूर्वाधारमा क्षति पु¥याएपछि लामो समयसम्म वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने बाध्यता स्थानीयमा थियो । नयाँ पुल निर्माण भएपछि त्यस क्षेत्रमा आवतजावतसँगै स्थानीय व्यापारिक गतिविधि र सामाजिक सम्बन्धसमेत पुनः सहज हुने अपेक्षा गरिएको छ ।
पुल निर्माणका क्रममा सस्पेन्सन ब्रिज डिभिजन, पूर्वाधार विकास कार्यालय नुवाकोट र विदुर नगरपालिकाले आवश्यक प्राविधिक तथा अन्य सहयोग उपलब्ध गराएका थिए । विभिन्न निकाय र निर्माण व्यवसायी क्षेत्रको सहकार्यमा छोटो समयमै पुल निर्माण सम्पन्न भएको हो ।
बाढी तथा प्राकृतिक विपत्तिका कारण क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणमा राज्यको मात्रै भर नपरी निजी क्षेत्र र निर्माण व्यवसायीको समेत सामाजिक उत्तरदायित्वअन्तर्गतको योगदान आवश्यक रहेको महासंघले जनाएको छ । त्रिशूली–ढुङ्गे जोड्ने पुलको निर्माणलाई विपद्पछिको पुनःस्थापना तथा स्थानीय पूर्वाधार पुनर्निर्माणमा निजी क्षेत्रको सहकार्यको उदाहरणका रूपमा समेत हेरिएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web












कुनै पनि प्रतिक्रिया पाईएन !